जापानमा सन् १९८९ देखि सन् २०२६ को मे महिनासम्म अमेरिकी सेनाका सदस्य, नागरिक कर्मचारी तथा उनीहरूका परिवारका सदस्य संलग्न चार हजार ९९८ आपराधिक घटना दर्ता भएका छन्। तीमध्ये झण्डै आधा घटना ओकिनावा प्रिफेक्चरमा भएका छन्।
जापानी अखबार अकाहाताले राष्ट्रिय प्रहरी एजेन्सीको तथ्याङ्क उद्धृत गर्दै जनाएअनुसार उक्त अवधिमा ओकिनावामा मात्रै दुई हजार ४४७ आपराधिक घटना भएका छन्, जुन कुल घटनाको ४९ प्रतिशत हो। त्यसैगरी, कानागावामा १८.३ प्रतिशत र टोकियोमा ८.९ प्रतिशत घटना दर्ता भएका छन्।
यस अवधिमा हत्या, डकैती, आगजनी र बलात्कारजस्ता गम्भीर अपराधका २६६ घटना देशभर दर्ता भएका थिए। तीमध्ये १२९ घटना ओकिनावा, ६७ घटना कानागावा र ३४ घटना टोकियोमा भएका थिए।

प्रतिवेदनले अमेरिकी सैन्य अड्डाहरूको उपस्थितिका कारण स्थानीय समुदायले ठूलो भार वहन गर्नुपरेको र त्यससँग सम्बन्धित आपराधिक घटनाको समस्या समाधान गर्न जापान तथा अमेरिकाका सरकारले प्रभावकारी कदम चाल्न नसकेको उल्लेख गरेको छ।
जापानको कुल भूभागको करिब ०.६ प्रतिशत मात्रै क्षेत्रफल ओगटेको ओकिनावामा देशभरका अमेरिकी सेनाका विशेष प्रयोगका सैन्य सुविधा तथा संरचनामध्ये करिब ७० प्रतिशत रहेका छन्। यसले अमेरिकी सैन्य उपस्थितिको भार ओकिनावामा असमान रूपमा केन्द्रित रहेको देखाउँछ।
प्रतिवेदनअनुसार ओकिनावामा अमेरिकी सैन्य सम्बद्ध व्यक्तिहरू संलग्न आपराधिक घटनाको संख्या सन् २०२५ मा १०१ पुगेको थियो। सन् २००३ पछि पहिलोपटक वार्षिक घटना संख्या १०० नाघेको हो। त्यस्तै, देशभर दर्ता भएका यस्ता घटनामध्ये ओकिनावाको हिस्सा ६७.८ प्रतिशत पुगेको थियो, जुन सन् १९८९ यताकै उच्च हो।
यसैबीच, अक्टोबर ४ मा ओकिनावा प्रहरीले फुतेन्मास्थित अमेरिकी मरिन कोप्र्सको हवाई सैन्य अड्डामा तैनाथ एक अमेरिकी मरिनलाई स्थानीय महिलाको लुटपाट तथा हत्या गरेको आशंकामा पक्राउ गरेको थियो। उक्त घटनापछि ओकिनावामा अमेरिकी सैन्य उपस्थितिलाई लिएर स्थानीय जनतामा रहेको असन्तुष्टि पुनः चर्किएको छ। सिन्ह्वा


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।