भारतका चर्चित युट्युबर ध्रुव राठीले प्रहरीले आफूलाई अपहरणको शैलीमा घरबाट लगेको र त्यस क्रममा चोटसमेत लागेको आरोप लगाएका छन्।
उनले आफू भारतीय नागरिक भएको स्पष्ट पार्दै आफ्नो राहदानीसमेत सार्वजनिक गरेका छन्।
राठीले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै आफू विदेशी राहदानीधारी भएको र प्रदर्शनमा सहभागी हुन नपाउने भन्ने दाबी झुटो भएको बताएका छन्।

‘म स्पष्ट पार्न चाहन्छु, यो मेरो राहदानी हो र म भारतीय नागरिक हुँ। भारतीय नै रहनेछु। म विदेशी राहदानीधारी हुँ र प्रदर्शनमा सहभागी हुन सक्दिनँ भन्ने कुरा सरासर झुटो हो। म भारतीय नागरिक हुँ र एक सामान्य नागरिकले पाउनुपर्ने जति नै अधिकार मलाई पनि छन्,’ उनले भनेका छन्।
उनका अनुसार शनिबार बिहान करिब ७ बजे उनी आफ्नो बेडरुममा सुतिरहेका थिए। त्यही बेला उनकी आमा बाहिर मानिसहरू घुमिरहेको देखेपछि ढोका खोल्न पुगेकी थिइन्।
त्यसपछि सादा पोसाकमा आएका मानिसहरूले उनकी आमालाई धकेल्दै घरभित्र प्रवेश गरेको र बेडरुमबाटै आफूलाई लगेको उनको आरोप छ।
‘म यहाँ अपहरण शब्द प्रयोग गरिरहेको छु, किनकि यो न पक्राउ हो, न हिरासतमा लिइएको सामान्य प्रक्रिया। पक्राउ गर्न आएको भए प्रहरीले आफ्नो पोसाक र परिचयपत्र देखाउनुपर्थ्यो,’ उनले भिडियोमा भनेका छन्।
घरबाहिर निस्किएपछि आफूले ५० जनाभन्दा बढी मानिस देखेको र उनीहरूले आफूलाई अपराधीलाई जस्तै घिसार्दै लगेको राठीले बताएका छन्। उनका अनुसार ती मानिसहरू प्रहरी वा कुनै सरकारी निकायका अधिकारी हुन सक्छन्।
‘मलाई निकै चोट लागेको छ। उनीहरूले मलाई जिपमा राखेर एउटा प्रहरी कार्यालय लगे र त्यहाँबाट अर्को कार्यालयमा पुर्याए। उनीहरूले मेरो फोन खोसेका कारण घटनाको भिडियो पनि उपलब्ध छैन। मलाई वकिलसँग सम्पर्क गर्न वा फोन प्रयोग गर्नसमेत दिइएन। करिब २२–२३ घण्टासम्म त्यहाँ राखियो,’ उनले आरोप लगाएका छन्।
राठीले कुनै कानुन उल्लङ्घन नगरेको र निर्वाचन आयोगलाई अझ राम्रो बनाउन माग गर्दै आवाज उठाएकै कारण आफूलाई घरबाट लगिएको दाबी गरेका छन्। उनले आफ्ना आमाबुवामाथि पनि हातपात गरिएको आरोप लगाएका छन्।
उनले भारतको राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशमा तानाशाही बढेको आरोप लगाए।
उनले अहिलेको अवस्थालाई ‘अघोषित आपत्काल’ को संज्ञा दिँदै सीजेपीका नेताहरूसहित सात हजार जनालाई हिरासतमा लिइएको दाबी पनि गरेका छन्।
त्यस्तै, आफूवरिपरि कम्तीमा १५ जना मानिस निगरानीका लागि खटाइएको र आफूलाई अघोषित नजरबन्दमा राखिएको राठीको आरोप छ।
‘नरेन्द्र मोदीलाई म भन्न चाहन्छु–कसैलाई यति धेरै नडराऊ कि उसको मनबाट डर नै हराओस्,’ उनले भनेका छन्।
उनले सरकारलाई अनशनको चेतावनी दिएको भन्दै सोनम वाङचुकलाई धन्यवादसमेत दिएका छन्।
गुरुग्रामबाट हिरासतमा लिइएका राठीलाई प्रहरीले केही घण्टापछि रिहा गरेको थियो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।