ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

रूससँग डिजेल किन्ने सम्झौता गरेका ट्रम्प भन्छन् : युक्रेनले नयाँ राष्ट्रपति पाउनुपर्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले नयाँ राष्ट्रपति पाउने समय आएको बताएका छन्।

उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको युद्ध अन्त्य गर्न पर्याप्त प्रयास नगरेको आरोप लगाउँदै अमेरिकामा डिजेलको मूल्य बढ्नुमा पनि उनलाई दोष दिएका हुन्।

‘मेरो सुझाव छ, युक्रेनले सम्झौता गर्न सक्ने नयाँ नेता पाउनुपर्छ। जेलेन्स्कीले धेरै पटक सम्झौता गर्न सक्थे, तर कुनै कारणले उनले त्यसो गरेनन्,’ ट्रम्पले शनिबार पत्रकारहरूसँग भने।

विज्ञापन

अमेरिकामा इन्धनको मूल्य बढिरहेका बेला ट्रम्पले शुक्रबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग रूसबाट डिजेल खरिद गर्ने सम्झौता भएको घोषणा गरेका थिए।

अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा बढ्दो इन्धन मूल्य कम गर्ने प्रयासस्वरूप उनले यस्तो सम्झौता गरेका हुन्। ट्रम्पले पछिल्ला केही सातादेखि जेलेन्स्कीलाई रूसी ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न आग्रह गर्दै आएका थिए।

ट्रम्पले युक्रेनले रूसी ऊर्जा पूर्वाधारमा गर्ने आक्रमणले विश्व बजारमा डिजेलको आपूर्तिमा समस्या पारेको र त्यसले अमेरिकी किसान तथा पशुपालकलाई असर गरेको बताए।

उनले अमेरिकामा डिजेलको मूल्य बढ्नुको कारण इरानसँग सम्बन्धित युद्धका कारण विश्व ऊर्जा बजारमा परेको प्रभाव नभई युक्रेनको गतिविधि भएको देखाउने प्रयास गरेका छन्।

ट्रम्पले सन् २०२२ मा आफू अमेरिकी राष्ट्रपति भएको भए रूस र युक्रेनबिच युद्ध सुरु नै नहुने दाबी गर्दै आएका छन्। युद्धको कारण नेतृत्वको अक्षमता भएको टिप्पणी गर्दै युक्रेनले आफ्नो भूभागको ठुलो हिस्सा गुमाएको र दुवै पक्षले ठुलो मानवीय क्षति बेहोरेको उनको भनाइ छ।

ट्रम्पको डिजेल खरिदसम्बन्धी घोषणाप्रति युक्रेन र युरोपेली अधिकारीहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार रूसबाट इन्धन खरिद गर्दा त्यसबाट प्राप्त हुने आम्दानीले रूसलाई युद्ध सञ्चालन गर्न आर्थिक सहयोग पुग्न सक्छ। युक्रेनले रूसी ऊर्जा पूर्वाधारमा आक्रमण गर्नुको उद्देश्य रूसको युद्ध सञ्चालन गर्ने क्षमतामा असर पार्नु रहेको बताउँदै आएको छ।

ट्रम्पले शुक्रबार रूसले तत्काल तीन लाख टनभन्दा बढी डिजेल उपलब्ध गराउने बताएका थिए। उनका अनुसार नोभेम्बरमा थप पाँच लाख टन र त्यसपछि १० लाख टन डिजेल आपूर्ति गरिनेछ। त्यसको छोटो अवधिपछि थप ३० लाख टन डिजेल उपलब्ध गराउने योजना रहेको पनि उनले बताएका छन्।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रूसले इन्धन निर्यातबाट कमाउने थप रकम हतियारका सामग्री, ड्रोनमा सुधार, क्षेप्यास्त्र उत्पादन र युद्धमा सहभागी हुने सैनिकको भर्तीमा खर्च गर्न सक्ने बताएका छन्। उनले रूसको आम्दानी बढ्न नदिन युक्रेनले आफ्ना सहयोगीहरूसँग मिलेर आवश्यक कदम चालिरहेको पनि बताए।

जेलेन्स्कीले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग हवाई सुरक्षा बलियो बनाउने विषयमा छलफल गरेका छन्। रूसबाट थप आक्रमण हुन सक्ने जोखिम रहेको भन्दै उनले युक्रेनको सुरक्षा क्षमता बढाउन सहयोग आवश्यक रहेको बताए।

युरोपेली देशहरूले पनि रूसमाथिको प्रतिबन्ध कायम राख्ने बताएका छन्। स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले ऊर्जा आम्दानी रूसको युद्ध सञ्चालनका लागि महत्त्वपूर्ण रहेको भन्दै डिजेलसम्बन्धी सम्झौताप्रति असन्तुष्टि जनाएका हुन्। जर्मनीले पनि रूसमाथिका प्रतिबन्धप्रति आफ्नो प्रतिबद्धता कायम रहेको र थप प्रतिबन्धका विषयमा युरोपेली साझेदारहरूसँग काम गरिरहेको जनाएको छ।

पोल्यान्डका विदेशमन्त्री राडोस्लाव सिकोर्स्कीले रूसले निर्यातका लागि पर्याप्त डिजेल कसरी उपलब्ध गराउन सक्छ भन्ने प्रश्न उठाएका छन्। उनले रूसभित्रै इन्धन अभाव रहेको र युक्रेनी आक्रमणका कारण रूसको प्रशोधन क्षमतामा असर परेको विवरणलाई आधार बनाउँदै ट्रम्पको घोषणामाथि प्रश्न गरेका हुन्।

ट्रम्पको पछिल्लो निर्णय उनले रूसमाथि प्रतिबन्ध लगाउने उद्देश्यसहित अघि बढाएको नीतिसँग पनि बाझिएको छ। युक्रेनविरुद्धको युद्धका लागि रूसले तेल तथा ग्यासबाट प्राप्त गर्ने आम्दानीमा रोक लगाउने प्रयास भइरहेका बेला रूसबाट डिजेल खरिद गर्ने सम्झौता सार्वजनिक भएको हो।

यसैबिच, युद्ध अन्त्य गर्ने प्रस्तावबारे छलफल गर्न ट्रम्पका प्रतिनिधि स्टिभ विटकफ र उनका ज्वाइँ जारेड कुशनरले शुक्रबार फ्लोरिडामा युक्रेनी अधिकारीहरूसँग भेट गरेका थिए।

एक वरिष्ठ युक्रेनी अधिकारीका अनुसार डिजेल खरिदसम्बन्धी सम्झौताको घोषणाअघि युक्रेनी पक्षलाई यसबारे जानकारी थिएन। ती अधिकारीले सम्झौताको घोषणा फ्लोरिडामा भएको छलफलसँग सम्बन्धित नरहेको पनि बताएका छन्।

युक्रेनी प्रतिनिधिमण्डल छलफलपछि युक्रेन फर्कने क्रममा रहेको अधिकारीले बताएका छन्। एजेन्सीको सहयोगमा

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।