समस्याग्रस्त सहकारीका बचतकर्तालाई आफ्नो मागदाबी विवरण सच्याउन तथा मोबाइल नम्बर अद्यावधिक गर्न सरकारले कार्तिक मसान्तसम्मको समय दिएको छ।
भूमि व्यवस्था, सहकारी, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सूचना जारी गर्दै मागदाबी विवरणमा त्रुटि भएका बचतकर्तालाई आवश्यक प्रमाणसहित निवेदन पेस गर्न आग्रह गरेको हो।
समितिका अनुसार बचतकर्ताले अनलाइन प्रणालीमार्फत पेस गरेको मागदाबीको रकम नेसनल पेमेन्ट गेटवे मार्फत सम्बन्धित बचतकर्ताको बैंक खातामा सिधै भुक्तानी गर्ने व्यवस्था गरिएको छ।

मागदाबी विवरणमा नाम गलत भएको, मोबाइल नम्बर पुष्टि नभएको, परिचय तथा बचत पुष्टि हुने प्रमाण संलग्न नभएको वा एउटै बचतका सम्बन्धमा एकभन्दा बढी मागदाबी पेस भएको अवस्थामा विवरण सच्याउनुपर्ने समितिले जनाएको छ।
त्यस्तै, एउटै मोबाइल नम्बर प्रयोग गरेर एकभन्दा बढी मागदाबी पेस गरेका बचतकर्ताले प्रत्येक मागदाबीका लागि छुट्टाछुट्टै मोबाइल नम्बर अद्यावधिक गर्नुपर्ने भएमा आवश्यक विवरणसहित निवेदन दिनुपर्नेछ।
समितिका अनुसार मागदाबी विवरणमा रहेको मोबाइल नम्बरमा प्राप्त हुने ओटीपीका आधारमा बचतकर्ताले आफ्नो विवरण आफैँ संशोधन गर्न सक्ने व्यवस्था पनि गरिएको छ।
मोबाइल नम्बर संशोधन वा मागदाबी विवरण अद्यावधिक गर्न चाहने बचतकर्ताले आवश्यक प्रमाणसहित इमेलमार्फत निवेदन पठाउन सक्नेछन्।
समितिले विवरण अद्यावधिक तथा मोबाइल नम्बर संशोधनसम्बन्धी व्यवस्था पहिलो पटकका लागि २०८३ साल कार्तिक मसान्तसम्म मात्र लागू हुने जनाएको छ।
त्यसैले सम्बन्धित सबै बचतकर्तालाई तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गर्न समितिले आग्रह गरेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।