बुद्धले २५०० वर्षअघि नै ‘संसारमा दुःख छ, दुःखको कारण छ, दुःखलाई समाधान गर्न सकिन्छ र यसको उपाय छ’ भनेका थिए। उक्ति सुन्दा जति सरल छ, त्यत्ति नै मार्मिक पनि छ। संसारको दुःखको त्यही ब्यहोरा यही भदौ १० गते आएको भोटेकोसीको बाढीबाट र हालैको अति वर्षाबाट सबै नेपालीलाई र खास गरी रसुवा, नुवाकोट र धादिङवासीलाई अझ गहिरोसँग महसुस भएको छ। आशा गरौं, बुद्ध वाणीअनुसार यो दुःखको निरोधका उपायहरू छिटो जुटून्।
गौतम बुद्ध विश्वकै निधि हुन्। उनी सगरमाथाको मुलुक नेपालको लुम्बिनीको राजपरिवारमा जन्म लिएर युवा अवस्थामै राजपाठ सबै त्याग गरी सगरमाथाजस्तै उच्च विश्वकै हितमा चिन्तनरत अलौकिक मानव हुन्। बुद्ध सम्भवतः मानवताकै लागि जन्मिएका महानतम व्यक्तित्व हुन्। त्यसैले होला, उनलाई देवताको श्रेणीमा राखिएको।लुम्बिनी धर्मस्थल मात्र होइन, मानवतालाई मार्ग दर्शनको थलोका रूपमा मानव समाजले स्विकार्नुपर्छ। उनले पृथ्वीमा जन्म लिएर लगाएको गुनको दुर्भाग्यवश पर्याप्त मात्रामा मनुष्य र अन्य चराचरले पूर्णतः उपभोग पनि गर्न पाएका छैनन्। तसर्थ नेपालले उपरोक्त उद्देश्य हासिल गर्न आफ्नो हैसियतको उपयोग गरोस् भन्नेमा यो लेखको विषयवस्तु केन्द्रित छ।
‘सार्वभौम लुम्बिनी’ थलो

स्पष्ट भन्नुपर्दा, लुम्बिनीलाई एक पवित्र बुद्ध स्थलमा मात्र सीमित नराखी उक्त क्षेत्रलाई मानवताको हितका लागि नै चिन्तन, मनन र कार्यान्वयन गर्ने अन्तर्राष्ट्रिय स्थलका रूपमा विकास गर्ने हो कि भन्ने सोच हो। यसै पनि बढी नै तथ्यपरक देखिने ‘निकट’ इतिहासका गौतम बुद्धको नाम र लुम्बिनी नै मानवताका साथै चराचर/स्थाबरजंगमको हितका लागि विश्व प्रयासको उपयुक्त र योग्यतम छनोट हो।
संयुक्त राष्ट्र संघका ‘लोकप्रिय’ महासचिव उथान्तले २०२४ वैशाख १ गते लुम्बिनीको भ्रमण गरी लुम्बिनीको अन्तर्राष्ट्रिय महत्त्व उजागर गरी दिएका मात्र होइनन्, लुम्बिनीले विश्वलाई दिन सक्ने र दिनुपर्ने योगदानबारे स्पष्ट औंल्याएका हुन्।उथान्तले हालिदिएको जगमा अब नेपालले अग्रसरता लिनुपर्छ।
लुम्बिनी, तिलौराकोट, निगलिहवा, रामग्राम र आवश्यक देखिएका वरपरका केही क्षेत्रलाई समेटी एक ‘सार्वभौम लुम्बिनी’ थलो (विमर्शका लागि मात्र प्रस्तुत नमुना– भ्याटिकन सिटी) तोक्नु त्यसका लागि आवश्यक हुन्छ। उपर्युक्त केन्द्रको काम मुख्यतः विश्व शान्ति स्थापना, मौसमी परिवर्तनको कारक तत्त्वहरूको न्यूनीकरण, गरिबी निवारण, हातहतियार प्रसारको रोकथाम तथा आणविक हतियारको उन्मूलन र विश्व तनाव तथा संघर्षका मुद्दामाथि निरन्तर विमर्श गर्नु र ‘सर्वमान्य’ निचोड निकाल्नु हुनुपर्छ।
वर्तमान विश्व
मानव जाति अहिले यस्तो नियतिमा पुगेको छ कि अब उसले आफ्नो विचार, शक्ति र साधनलाई सर्वजनहिताय प्रयोग गर्ने कि, समाप्तितिर लम्किने ? हालैका दिनमा भएका प्रविधिको विकासले स्पष्ट पारेको छ कि अब यो विनाशको बाटोमा पनि सजिलै जान सक्छ र यसमा अब बढी दुःख पाउने तेस्रो विश्व नै हुनेछ। अर्थात्, बुद्धको सन्देशलाई अझ स्फूर्त र प्रभावकारी बनाउन नेपालले केही अग्रसरता र जमर्काे देखाउने बेला भई सक्यो भन्ने हो।‘विश्व निशस्त्रीकरण’का नाममा आफूले चाहेका मुलुक/समूहलाई आणविक ज्ञानमा पहुँच दिइँदै छ– लहडका भरमा।अमेरिकाले सन् १९७०/८० देखि हालसम्म पनि गर्दै गरेका गल्तीहरू हेरौं– ठट्टैठट्टामा सत्तासिनको लहड र व्यापारिक हितका लागि मुलुककै नीतिनियम र साख तिलाञ्जली दिइँदै छ। विश्वमै बौद्धिक नेतृत्वको दाबी गर्ने मुलुकका प्राज्ञ र सर्वसाधारण अहिले आफैं टुलुटुल हेर्दै निरीहतासाथ सबै ब्यहोरिरहेका छन्। यो स्थिति धेरै नटिक्ला तर अकल्पनीय हानि पुर्याइसकेपछि त्यसलाई फर्काउन त सकिँदैन ! मानवता आज ठिक त्यही सँघारमा छ।
बुद्ध सन्देश
बुद्धका ‘चार आर्य सत्य’को पालना यति बिघ्न प्रगति गरिसकेको मानवतालाई विनाश हुनबाट जोगाउने एउटा अचुक उपाय हो। ‘सम्यक संकल्प सही विचार हो र यसले हरेक व्यक्तिले हिंसा, लोभ, द्वेषबाट मुक्त भई मैत्री र करुणाको भावना राख्नुपर्छ’ भन्छन् डा. तेजबहादुर कार्की। विभिन्न अध्ययनले जनाएका छन्, अहिले पनि विश्वको साधनस्रोत विद्यमान जनसंख्यालाई पाल्न पर्याप्त छ।समस्या केवल इच्छाशक्तिको कमी तथा साधन र स्रोतको उचित वितरणको मात्र समस्या हो।
इतिहासका एक सपुत गौतम बुद्धको जन्मस्थल रहेको लुम्बिनी क्षेत्रलाई ‘सार्वभौम लुम्बिनी’ थलो दस्ताबेज तयार गर्दै नेपालले लुम्बिनी क्षेत्रको सीमांकन गरी मानवताको शान्ति, प्रगति र निरन्तरताका लागि अन्तर्राष्ट्रिय विश्वभूमि घोषणा गर्न एउटा खाका दस्ताबेज तयार गर्ने जमर्काे गर्नुपर्छ। सो खाका तयार गर्न प्रथमतः हालसम्म लुम्बिनीमा चासो राखी त्यसको विकासमा संलग्न राष्ट्र तथा बुद्धका सन्देशलाई अँगाली आएका बहुल संख्याका मुलुकहरूलाई नै नेपालले आह्वान गर्नुपर्छ। त्यसो गर्दा प्रक्रिया अलमलिने वा अनावश्यक बहसमा पर्ने चिन्ता हुँदैन।
दशकौंदेखि विश्व धर्म अँगालेका मात्र होइन, अन्य मुलुकका प्रबुद्ध व्यक्ति तथा पदाधिकारीले पनि लुम्बिनीबाट केही आशा गरेका सन्देश प्रवाहित भइरहेका छन्। बुद्ध ज्ञानमा गहिरो रुचि राख्ने लेखक लाच्लान ब्राउन, भिक्षु सुगन्ध (डा. अनिलमान शाक्य), भिक्षु मैत्री महास्थविर, भिक्षु सिरी बजीर, प्राध्यापक त्रिरत्न मानन्धर, लुम्बिनीको विकासमा योगदान पुर्याउनु हुने जापानी विद्वान्, वास्तुकार तथा अन्य महानुभावहरू, तिलौराकोटको उत्खननमा ठुलो योगदान पुर्याउनुहुने बेलायतको डर्हाम विश्वविद्यालयका प्राध्यापक रवीन कनिंगहामहरूको उपर्युक्त रायमा के सोच होला?
भन्नु नपर्ला, नेपालका दुवै निकटतम छिमेकी भारत र चीन नेपालको यस कदममा खुसी नै होलान् किनभने दुवै मुलुकमा बुद्धका सन्देशहरूलाई मार्गदर्शनका रूपमा पालना गर्ने जनसंख्या अत्यधिक नै छ। त्यस्तै विश्व शक्तिका रूपमा स्थापित भइसकेको उत्तरी मित्र राष्ट्र चीन तथा क्षेत्रीय शक्ति छिमेकी भारतलाई पनि लुम्बिनीमा हुने कार्यकलापले प्रत्यक्ष, अप्रत्यक्ष फाइदै पुग्छ।
नेपालको त यसबाट चौतर्फी श्रीवृद्धि हुनेछ नै। लुम्बिनीलाई ‘असाधारण जीवन्तता क्षेत्र’ मान्ने विश्वकै सवभन्दा ठुलो बौद्ध जनसंख्या भएको, विश्वको झन्डै एक्काइस प्रतिशत जनसंख्या ओगटेको हवाई छिमेकी थाइल्यान्डले त यसमा ठुलो हर्ष मनाउने नै छ।
नेपाललाई निर्विवाद आधुनिकतम मानव संस्कृति (धर्म होइन) को प्रारम्भ भूमि रहेको श्रेय त छँदै छ, यसले त्यसको विश्वव्यापी अनुपुरणमा भूमिका निभाउने दायित्व र हक पनि छ। नेपालीहरू त्यस मानेमा भाग्यमानी पनि हुन्।
नेपालले वर्षाैंदेखि संघर्ष स्थलहरूमा सेना पठाई शान्ति कायममा योगदान गर्दै आएको छ। त्यस अर्थमा पनि अब नेपालले विश्वबाट गरिबी, अशिक्षा, भोक र शोक मुक्त विश्व समाजको सिर्जनामा योगदान निर्विवाद स्वाभाविक छ। गौतम बुद्धले हामीलाई त्यस हकमा दाबेदार हुन युगौंअघि नै ‘सक्षम’ बनाएका हुन्।
थप चिन्तन
उपर्युक्त चिन्तनलाई सार्थकता दिन लुम्बिनीबारे गर्नुपर्ने कार्य धेरै छन्।हाल चालु कैयन् कार्यलाई पुनः अवलोकन गर्नु नै पर्ने छ। विश्व बैंकको हालैको सहयोगको घोषणालाई पनि पुनः उपर्युक्त दृष्टिकोणमा ढाल्नुपर्नेछ। अर्थात् लुम्बिनीबारे पुनः समष्टि रूपमा नयाँ शिराबाट चिन्तन हुनुपर्ने नै हुन्छ – कानुनी, भौतिक विकास आदि सन्दर्भमा। नबिर्साैं, सम्राट अशोकले लुम्बिनीमा स्तम्भ स्थापना गरी उक्त क्षेत्रलाई ‘कर मुक्त क्षेत्र’समेत त्यतिबेलै घोषणा गरिसकेका थिए।
लुम्बिनी विकासकै आयोजनामा केही महिनाअघि भएको इकोमोस सम्मेलनमा तिलौराकोटको सत्यको प्रचार, सोही सम्मेलनले आह्वान गरेको विश्व शान्ति सन्देश, स्थानीय गैरसरकारी पर्यटन प्रवर्धन निकायहरूबाटै भएको विभिन्न बौद्ध स्थलहरूको सामूहिक प्रवर्धन, आरवाइआर्ईका नियमित गतिविधि सबै उत्साहवर्धक कार्य हुन्।
‘लुम्बिनी विकास’सम्बन्धी यो धारणाबारे मुलुकमै छलफल चलाउनाका साथै बुद्ध धर्म अँगालेका बहुसंख्यक मुलुकमा पनि यस्तो छलफल अगाडि बढाउँदा कसो होला ? त्यस्तो राष्ट्रिय/अन्तर्राष्ट्रिय बहसले विश्व शान्तिका लागि नेपालले गर्दै आएको योगदानको सकारात्मक चर्चा हुनाका साथै सानातिना सम्भाव्य अड्चन त्यसैबाट समाधान हुने नै छ।
अन्तर्राष्ट्रिय आधिकारिकता प्राप्त गरेको लुम्बिनीबाट भएका निर्णयको स्थानगत प्रभावले समष्टिमा मानवताको हितप्रवर्धन गर्ने मात्र होइन, मानवलाई नै परिष्कृततातर्फ डोर्याउने छ भन्छन् लेखक लाच्लान ब्राउन, उनको पुस्तक ‘बुद्धिज्म’मा। ‘उच्चतम प्रभाव तथा न्यूनतम अहंका साथ जीवन यापन कसरी ?’ भन्ने दर्साउँदै उनी भन्छन्– व्यक्तिगत लाभ र उपलब्धीको अंशप्रति ध्यान कम गरी अरू तथा विश्वलाई योगदान गर्नुमा नै सच्चा आनन्द आउँछ।
मानवले जसै थप चिन्तन गर्छ, बुद्धको आदर्श अझ गहिरो, लाभदायी र सर्वहिताय प्रमाणित हुँदै जानेछ।बुद्धले मानव हितका लागि पृथ्वीमा पदार्पण गरेको भूमिस्वरूप लुम्बिनीको अन्य कुनै स्थलसँग तुलना हुन सक्दैन।
हालसालै लुम्बिनीमा भएका भेलाहरूमा विद्वान्हरूबाट व्यक्त भएका विचारहरूबाट पनि अब नेपाल त्यसतर्फ अघि बढ्न ढिलो गर्नु हुँदैन। लुम्बिनी मानव जातिकै उच्चतम आदर्श शान्ति, समृद्धि र सहअस्तित्वको प्रवर्धनका लागि अतुलनीय स्थल हो ।
अन्य ग्रहहरूसम्म पुग्न उन्मुख वर्तमान मानव समुदाय अब पृथ्वीकै विग्रहमा अल्झिनु हुँदैन। यो हास्यास्पद छ। साधन स्रोतको उचित उपयोग र न्यायोचित वितरण मनुष्य समाजले अब सम्हाल्न नसक्ने विषय होइन। अन्यथा मानव समुदायकै समाप्तिको सम्भावनासमेत टड्कारो रूपमा औंल्याइँदै छ।भएकाहरू (ह्याभ्स/सम्पन्नहरूले) अब यो कुरा छिटो बुझ्नुपर्छ र त्यसतर्फ अग्रसर हुनुपर्दछ। विश्वले २५०० वर्षअघि जन्माएका शान्ति दूतका सन्देशको मनन आजको मानवको सबैभन्दा ठुलो आवश्यकता हो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।