नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक मन्डेकाजी श्रेष्ठले नेपाल प्रिमियर लिग (एनपिएल) को काठमान्डु गोर्खाजको सद्भावना दूतका रूपमा पुनः निरन्तरता पाएका छन्।
एनपिएलको तेस्रो संस्करणका लागि फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले करातेका प्रशिक्षक मण्डेकाजीसँगै फुटबलर विकेश कुथु सद्भावना दूतमा चयन गरेको हो।
राष्ट्रिय कराते टोलीका प्रशिक्षक श्रेष्ठ जापानमा सम्पन्न २०औं एसियाली खेलकुदमा नेपाली कराते टोलीका प्रशिक्षकको भूमिकामा थिए। उनी १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता पनि हुन्।

गोर्खाजले खेलाडीलाई आफ्नो परिवारमा जोड्न पाउँदा खुसी लागेको जनाएको छ। पूर्वखेलाडी तथा प्रशिक्षक मण्डेकाजी श्रेष्ठले खेलकुदमा फरक भूमिकाबाट योगदान गर्न पाउँदा उत्साहित रहेको बताए।
‘लामो समयदेखि नेपाली खेलकुदमा नै जोडिँदै आएका छौं। पहिले खेलाडी थियौं र अहिले प्रशिक्षक भएर नेपाली खेलकुदलाई योगदान दिइरहेका छौं। तथापि, फरक विधा क्रिकेट खेलमा सद्भावना दूत भएर पछिल्लो समयमा फरक भूमिकामा काम गर्न पाउँदा उत्साहित छौं। युवाहरूमाझ लोकप्रिय रहेको एनपिएल र फ्रेन्चाइज टोलीको उचाई बढाउन सक्दो काम गर्नेछौं, ’प्रशिक्षक मण्डेकाजी भने।
एनपिएल सिजन-३ यसै अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदै छ। काठमान्डु गोर्खाज पहिलो संस्करणमा प्लेअफ पुग्न सकेको थिएन।
पहिलो संस्करणमा नेट रनरेटका आधारमा पछि पर्दै काठमान्डु पाँचौं भएको थियो। तर, दोस्रो संस्करणमा भने गार्खाजले प्लेअफ खेल्यो। तथापि इलिमिनेटरमा लुम्बिनी लायन्ससँग पराजित हुन पुग्यो। नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको तयारी तीव्र रूपमा अगाडि बढाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।