खेलकुद

मैदानमै विपक्षी खेलाडीको अनुहारमा बल हानेपछि विवादमा मेस्सी, रेड कार्ड नदिएको भन्दै आलोचना

विपक्षी खेलाडीको अनुहारमा बल प्रहार गरेपछि अर्जेन्टिनी स्टार फुटबलर लियोनेल मेस्सी विवादमा परेका छन्।

उक्त घटनामा रेफ्रीले रातो कार्डको सट्टा पहेंलो कार्ड मात्र देखाएपछि कोलम्बस क्रुका प्रशिक्षकले मेस्सीलाई मैदानबाट बाहिर पठाउनुपर्ने बताएका हुन्।

आइतबार एमएलएस कप प्लेअफको बेस्ट अफ थ्री शृंखलाको पहिलो खेलमा इन्टर मियामीले कोलम्बस क्रुसँग ३-० को हार बेहोरेको थियो। सोही खेलको पहिलो हाफको अन्त्यतिर मेस्सीले विपक्षी खेलाडी गोन्जालो तापियाको अनुहारमा बल प्रहार गरेका थिए। त्यतिबेला मियामी १-० ले पछि परेको थियो भने टोलीका एक खेलाडी रातो कार्ड पाएर मैदानबाट बाहिरिइसकेका थिए।

विज्ञापन

थ्रो-इन गर्ने क्रममा तापियाले बल फाल्दा मेस्सीले ह्यान्डबलको अपिल गरेका थिए। त्यसपछि एक मिटरभन्दा कम दूरीमा रहेका तापियाको अनुहारमा मेस्सीले बल प्रहार गरेका थिए। बल लागेपछि तापिया मैदानमा लडेका थिए।

घटनापछि रेफ्री एलेन च्यापम्यानले मेस्सी र तापिया दुवैलाई पहेंलो कार्ड देखाएका थिए। तर कोलम्बस क्रुका प्रशिक्षक लरेन्ट कोर्टोइसले मेस्सीलाई रातो कार्ड दिनुपर्ने बताएका हुन्।

खेलपछिको पत्रकार सम्मेलनमा उनले भने, ‘सबैलाई थाहा छ, उनी पहेंलो कार्डभन्दा बढीको हकदार थिए। यो निकै दुखद कुरा हो।’

अन्तर्राष्ट्रिय फुटबल संघ (आईएफएबी) को खेल नियमअनुसार थ्रो-इनका क्रममा खेलाडीले विपक्षीमाथि बल प्रहार गरेमा घटनाको प्रकृतिअनुसार कारबाही हुन सक्छ। सामान्य बल प्रयोग भएको अवस्थामा पहेंलो कार्ड दिन सकिन्छ भने अत्यधिक बल प्रयोग भएको अवस्थामा हिंसात्मक व्यवहार मानेर रातो कार्ड दिन सकिन्छ।

तर रेफ्री च्यापम्यानले मेस्सीलाई पहेंलो कार्ड देखाउने निर्णयको बचाउ गरेका छन्। उनले बल प्रहार गर्दा प्रयोग भएको बल नगण्य रहेको र घटना हिंसात्मक व्यवहारको स्तरमा नपुगेको बताए।

खेलमा दुई गोल गरेका कोलम्बसका तापियाले भने रेफ्रीको निर्णयबारे टिप्पणी गर्न चाहेनन्। उनले भने, ‘मलाई थाहा छैन, यो रातो कार्ड हो कि होइन। तर म रेफ्री होइन। यो विषय यहीँ सकिन्छ।’

मियामीका मुख्य प्रशिक्षक किली गोन्जालेजले पनि रेफ्रीको निर्णयलाई स्वीकार गर्नुपर्ने बताए। उनले भने, ‘कार्डले खासै परिवर्तन गर्दैन। रेफ्रीले पहेंलो कार्ड देखाए, कुरा त्यहीँ सकियो। हामी रेफ्रीलाई दोष दिन सक्दैनौं। कहिलेकाहीं उनीहरूबाट गल्ती हुन्छ र हामीले त्यसलाई स्वीकार गर्नुपर्छ।’

३-० को जितसँगै कोलम्बस क्रु प्लेअफको दोस्रो खेलमा पनि जित निकाल्दै शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा छ। सन् २०२३ को च्याम्पियन कोलम्बसले शुक्रबार ओहायोमा हुने दोस्रो खेल जितेमा मेस्सीको इन्टर मियामी प्लेअफबाट बाहिरिनेछ।

मियामीका प्रशिक्षक गोन्जालेजले पहिलो खेलमा टोलीको प्रदर्शन अपेक्षाअनुसार हुन नसकेको स्वीकार गरेका छन्।

उनले भने, ‘यो हाम्रो लागि केही पनि राम्रो नभएको खेल थियो। हामीले विपक्षीलाई सहजै गोल गर्ने अवसर दियौं। हामीले अपेक्षा गरेअनुसार खेल्न सकेनौं। अब यसबाट सिक्नुपर्छ। अर्को खेल जित्न नसके हामी प्रतियोगिताबाट बाहिरिनेछौं।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।