ब्रेकिङ न्युज
विज्ञापन
कला तथा मनोरञ्जन

काठमाडौं फिल्म फेस्टिभलका लागि २२ भिडियो छनोट

काठमाडौं महानगरपालिकाले काठमाडौं फिल्म फेस्टिभलका लागि २२ वटा भिडियो छनोट गरेको छ। छनोट भएका भिडियोमध्ये १२ वटा पाँच मिनेटसम्म र १० वटा ३० मिनेटसम्मका छन्।

यूथ भिडियो च्यालेन्जअन्तर्गत ४० वर्षसम्मका युवालाई ‘माई कल्चर, माई हेरिटेज’ शीर्षकमा भिडियो बनाउन आह्वान गरिएको थियो। त्यस्तै, नेपाल पानोरमा शीर्षकमा वृत्तचित्र (डकुमेन्ट्री), कथात्मक (फिक्सन), एनिमेसन र प्रयोगात्मक विधाका ३० मिनेटसम्मका भिडियो बनाउन आह्वान गरिएको थियो। छनोट भएका भिडियो गएको एक वर्षभित्र निर्माण गरिएका हुन्।

‘नेपाल पानोरमा सट्स’ का लागि निर्णायक मण्डलमा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष दिनेश डिसी, चलचित्र निर्देशक तथा लेखक प्रकाश सायमी, निर्माता तथा पटकथा लेखक सम्पदा मल्ल र फिल्म क्रिटिक्स सोसाइटी अफ नेपालका लेखक तथा पत्रकार सामीप्यराज तिमिल्सिना थिए।

विज्ञापन

छनोट भएका फिल्म कात्तिक १५ गते राष्ट्रिय सभा गृहमा प्रदर्शन गरिनेछन्। सोही दिन यूथ भिडियो च्यालेन्जमा पहिलो हुनेलाई एक लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई एक लाख रुपैयाँ र तेस्रो हुनेलाई ५० हजार रुपैयाँसहित अवार्ड प्रदान गरिनेछ।

आयोजकका अनुसार काठमाडौं फिल्म फेस्टिभल काठमाडौंका रचनात्मक उद्योगको पहिचान, विकास र प्रवर्धन गर्ने सशक्त माध्यम हो। स्थानीय कलाकार तथा पेसाकर्मीलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पहुँच विकास गर्न र अन्तर्राष्ट्रिय कलाकारलाई काठमाडौंका टोल, बस्ती तथा समुदायसम्म ल्याउन फेस्टिभल आयोजना गरिएको हो।

फेस्टिभलमा मौलिक तथा काल्पनिक कथामा आधारित फिल्म, विशिष्ट सांस्कृतिक दृष्टिकोण र फरक आवाज समेटिएका चलचित्र प्रदर्शन गरिनेछन्। अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएका फिचर फिल्म, फिक्सन, वृत्तचित्र र लघु चलचित्र नेपाली चलचित्रप्रेमी, चलचित्रकर्मी तथा सर्वसाधारणमाझ पुर्‍याउनु पनि फेस्टिभलको उद्देश्य रहेको आयोजकले जनाएको छ।

इन्टरनेशनल पानोरमाअन्तर्गत जय नेपालमा विभिन्न देशका चलचित्र प्रदर्शन हुनेछन्। प्रदर्शन गरिने चलचित्रमा लान हङचाउ निर्देशित चिनियाँ फिल्म ‘डियर यु’, विकास रञ्जन मिश्र निर्देशित भारतीय फिल्म ‘व्यायाम’, जुलियन न्युहवास निर्देशित अस्ट्रेलियन फिल्म ‘मिस एन प्लेस’ र जेनेभाइभ क्ले स्मिथ निर्देशित अस्ट्रेलियन फिल्म ‘स्टेयर्स’ छन्।

त्यस्तै, टम पाइजेट निर्देशित ‘इन्च्यान्टेड म्याटर’, ‘द आर्ट अफ रोबर्ट पावेल’ र मेरिट एन्लान निर्देशित फ्रान्सेली फिल्म ‘ला ग्राभिडा’ पनि प्रदर्शन गरिनेछ।

जाङहाङ जुन निर्देशित कोरियन फिल्म ‘द किङ्स वार्डेन’, रिमा दास निर्देशित सिंगापुरको फिल्म ‘नट बी हिरो’, सर्वानो सदत निर्देशित ‘नो गुड म्यान’ र फ्रान्सिस फोर्ड कोपोला निर्देशित अमेरिकी फिल्म ‘गडफादर’ पनि प्रदर्शन गरिनेछन्। जापानको यामागाता (युनेस्को क्रिएटिभ सिटी अफ फिल्म) बाट आएका ‘भ्यु पिपुल’ र ‘भ्यु सिटिज’ नामका लघु चलचित्र पनि देखाइनेछन्।

नेपाली पुराना चलचित्रको सम्मानमा विशेष प्रदर्शनसमेत गरिनेछ। सन् १९७० र १९८० को दशकमा निर्माण भएका नेपाली रंगीन कथानक चलचित्र ‘कुमारी’, ‘के घर के डेरा’ र ‘सिन्दूर’ विशेष प्रदर्शनमा समावेश हुनेछन्।

फेस्टिभलको मुख्य कार्यक्रम कात्तिक १३, १४ र १५ गते हुनेछ। कार्यक्रम वसन्तपुरमा सांस्कृतिक प्रस्तुतिसहित सुरु हुनेछ।

काठमाडौं युनेस्को रचनात्मक सहर सञ्जालको सदस्य नगर हो। यसलाई विकास र विस्तार गर्न महानगरपालिकाले चलचित्र विधालाई समुदाय र शिक्षासँग जोडेर रचनात्मक उद्योग प्रवर्धन गर्ने माध्यमका रूपमा विकास गरिरहेको छ।

काठमाडौं महानगरपालिकाकी मेयर सुनिता डंगोलले फिल्म फेस्टिभललाई नेपाली संस्कृतिलाई विश्वभर चिनाउने माध्यमका रूपमा व्याख्या गरेकी छन्।

‘हामीले कला क्षेत्रका लागि जति गर्नुपर्ने हो, त्यति गर्न सकेका छैनौँ। कला क्षेत्रलाई अगाडि बढाउने उद्देश्यले नै हामीले काठमाडौं फिल्म फेस्टिभललाई निरन्तरता दिएका हौँ। चलचित्र यस्तो शक्तिशाली माध्यम हो, जसको माध्यमबाट हामीले चाहेका कुरा देखाउन सक्छौँ। काठमाडौं फिल्म फेस्टिभल नेपाली कला क्षेत्रमा रहेका हरेक व्यक्तिलाई धन्यवाद दिने अवसर पनि हो,’ उनले भनेकी छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।