निजी क्षेत्रको मनोबल नबढाएसम्म मुलुकको अर्थतन्त्र बलियो हुन नसक्ने उद्योगी व्यवसायीहरूले बताएका छन्।
बुटवल उद्योग वाणिज्य संघको शुक्रबार सम्पन्न ७६ औँ साधारण सभा तथा २६ औँ अधिवेशनमा बोल्ने उद्योगी व्यवसायीहरूले सरकार संवादमा नहुँदा मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन सरकार र निजी क्षेत्रबिच सहकार्यको वातावरण बन्न नसकेको बताएका हुन्।
पछिल्लो समय उद्योगधन्दा र व्यापारमा गिरावट आउनुका साथै हरेक क्षेत्रको बजार सुस्ताएकाले त्यसलाई उठाउन सरकारले निजी क्षेत्रको मनोबल बढाउनुपर्नेमा उनीहरूले जोड दिएका हुन्।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले निजी क्षेत्रलाई आशा जगाउन नसकेको बताएका छन्। मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रले सरकारसँग सहकार्य गरेर अगाडि बढ्न चाहे पनि सरकार संवादमा नहुँदा समस्या भएको उनले बताए।
‘निजी क्षेत्र सरकारलाई सहयोग गर्न चाहन्छ, मुलुकको अर्थतन्त्रमा देखिएको चुनौतीलाई चिर्न चाहन्छ, तर सरकार संवादमा रहनुपर्यो’ अध्यक्ष श्रेष्ठले भने। दुई महिना अघि प्रधानमन्त्रीसँग भएको भेटमा व्यवसायसँग सम्बन्धित समस्या समाधानका लागि छुट्टै संयन्त्र बनाउने प्रतिबद्धता गरिए पनि त्यसलाई पूरा नगरिएको उनले बताए।
युवा पलायनको डरलाग्दो स्थिति रहेको र त्यसको असरले समाजमा वितृष्णा पैदा भएको भन्दै उनले त्यसलाई रोक्न सबै पक्ष लाग्नुपर्ने बताए। अध्यक्ष श्रेष्ठले भोटेकोशीको बाढीका कारण विपत्तिमा परेका व्यवसायीको सामाजिक सुरक्षाको जिम्मा सरकारले लिनुपर्ने बताए। ‘बाढीले सबै चिज सोतर बनायो तर ऋण सोतर बनाएन, शरीरमा लगाउने एकसरो लुगा बाँकी नभएका व्यवसायीले कसरी ऋणको भारी बोक्ने’ उनले भने। जिन्दगीभर कर तिर्ने व्यवसायीको सामाजिक सुरक्षाको ग्यारेन्टी सरकारले गर्नुपर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिए।
युवा पलायनको डरलाग्दो स्थितिले समाजमा वितृष्णा पैदा भएको भन्दै उनले त्यसलाई रोक्न सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताए।
अध्यक्ष श्रेष्ठले बुटवलको मोतीपुर औद्योगिक क्षेत्रको कामलाई अगाडि बढाउन, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलको अन्तर्राष्ट्रिय सभा हललगायतका संरचना सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराए।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य मञ्जु भुसालले यस क्षेत्रका निर्माण पूरा हुन नसकेका र सञ्चालनमा आउन नसकेका विकास योजनाहरू मोतीपुर औद्योगिक क्षेत्र, झुम्सा खानेपानी आयोजना, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, औद्योगिक प्रदर्शनी स्थलको व्यवस्थापन र सञ्चालनमा सरकारको ध्यानाकर्षण गराएको बताइन्।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई व्यापारिक हबका रूपमा विकास गर्न स्थानीय सरकारको तर्फबाट समन्वय र सहकार्य भइरहेको बताइन्। महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले भारतीय खुला सीमा, कर तथा राजस्व र लगानी सुरक्षाको विषयमा सरकारलाई ४२ बुँदे सुझाव दिएको बताए।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले उद्योगी, व्यवसायी, विज्ञहरूसँग छलफल गरी राजस्व, पूर्वाधार विकास र नीतिगत सुधारका कामहरू संघले गरेको बताए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष कृष्णप्रसाद शर्मा, वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठ, लुम्बिनी प्रदेश अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य कृष्ण कटुवाल, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदी, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुली, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, संघका वरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे, महासचिव मुक्ति प्रसाद अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए।
साधारणसभाका अवसरमा संघको कार्यालय परिसरमा निर्माण गरिएको संस्थापक अध्यक्ष पद्यमचन्द्र श्रेष्ठको अर्धकदको सालिक अनावरण गरिएको छ। संघले २०४१ सालमा पहिलो पटक प्रकाशन गरेको स्मारिका पुनः मुद्रण तथा हाम्रो बुटवल स्मारिका २०८३ को विमोचन गरेको छ।
यसैबिच बुटवल उद्योग वाणिज्य संघले स्थापना गरेको आर्थिक पत्रकार पुरस्कार स्व. डायलसन अधिकारीलाई मरणोपरान्त प्रदान गरिएको छ। पुरस्कार छनोट समितिका संयोजक तथा संघका पूर्वअध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले पत्रकार स्व. अधिकारीकी जीवनसंगिनी चन्दा भुसाललाई नगद २५ हजार, सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरे।
संघले विधागत पत्रकारिता पुरस्कारअन्तर्गत महिला उद्यमी प्रवर्द्धन लेखनवृत्ति प्रोत्साहन पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकका पत्रकार रेखा भुसाललाई नगद पुरस्कारसहित सम्मान गरेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।