ब्रेकिङ न्युज
विज्ञापन
कला तथा मनोरञ्जन

‘लमजुङ दरबार’सँगै बाँचेको माया

‘गाउँसहरमा लमजुङ दरबार…’ गीतका यी शब्दसँगै लमजुङको साङ्गीतिक पहिचानका रूपमा सम्झिने नाम हो- वरिष्ठ लोकगायिका माया गुरुङ।

लामो समयदेखि लोकगीत, सङ्गीतको यात्रामा रहेकी गुरुङका लागि गीत मनोरञ्जनको माध्यममात्रै बनेन, जीवन जिउने आधार र पहिचानको हिस्सा पनि बन्यो।

बेँसीसहर नगरपालिका–५ नाल्मामा जन्मिएकी गुरुङले करिब १२ वर्षको उमेरदेखि गाउँघरका रोदी, मेलापात, विवाह तथा पूजापर्वमा गीत गाउन थालेकी थिइन्। त्यतिबेला गीत गाएबापत पारिश्रमिक पाइँदैनथ्यो। कतिपय ठाउँमा आवातजावत खर्चसमेत नपुग्ने अवस्था थियो। परिवार र आफन्तको साथमा उहाँको गायनयात्रा भने रोकिएन।

विज्ञापन

विसं २०४४ मा पोखरा पुगेपछि रेडियो नेपालका लोकगीत सुन्ने अवसर पाएसँगै उनमा पनि गीत गाउने रहर बढ्यो। अवसर खोज्दै जाँदा त्यसको एक वर्षपछि २०४५ सालमा रेडियो नेपालको ‘प्रतिभा’ कार्यक्रममा उनले गीत गाउने अवसर पाइन्। त्यसपछि उनकै शब्द र स्वरका लोकगीत रेडियो नेपालमा गुञ्जिन थाले।

२०४५ फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा रेडियो नेपालले आयोजना गरेको अञ्चलस्तरीय खुला लोकगीत प्रतियोगितामा उमा गुरुङसँग मिलेर ‘गाउँसहरमा लमजुङ दरबार’ गीत गाइन्। प्रतियोगितामा प्रथम हुँदै स्वर्ण पदक प्राप्त गरेको उक्त गीतले उनलाई साङ्गीतिक क्षेत्रमा स्थापित गराउनुका साथै लमजुङको साङ्गीतिक पहिचानसमेत फराकिलो बनायो।

‘सैलुङे डाँडा नाल्माको’, ‘माया सरर’ र ‘खुर्पेटो डोकोले’ उनका चर्चित सिर्जना हुन्। गीतसङ्गीतको यात्रासँगै उनको व्यक्तिगत जीवन भने सहज रहेन। २०४३ मा लेखमान गुरुङसँग पोखराको विन्ध्यवासिनी मन्दिरमा प्रेमविवाह गरेकी गुरुङले त्यसपछि पारिवारिक कठिनाइ झेलेकी थिइन्।

घरपरिवारको जिम्मेवारी र आर्थिक अभावबीच पनि उनले गायनलाई छाडिनन्। कलाकारिताबाट मात्रै जीविकोपार्जन गर्न कठिन भएपछि पशुपालन लगायतका काम गरिन्। “यत्तिका वर्ष कलाकार भएँ, मैले पैसा कमाइनँ, इज्जत र दर्शक कमाएँ, यसमा खुसी छु”, उनले भनिन्। लामो समयदेखि आफ्नै एकल साङ्गीतिक कार्यक्रम गर्ने उनको चाहना अब पूरा हुँदैछ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, लमजुङ जिल्ला समितिको आयोजनामा आगामी मङ्सिर १९ गते बेँसीसहर नगरपालिका–८ स्थित फूलबारी मञ्चमा ‘माया गुरुङ एकल साङ्गीतिक साँझ–२०८३’ आयोजना हुँदैछ। कार्यक्रमबाट बचत भएको रकम कलाकार कल्याण कोष स्थापनामा उपयोग गर्ने तयारी गरिएको छ।

उनी पुराना लोकभाका र मौलिक संस्कृतिको संरक्षणसँगै नयाँ पुस्ताले आफ्ना मौलिक गीत, सङ्गीत र संस्कृतिलाई नबिर्सियोस् भन्ने चाहिन्छिन्। समयसँगै गीत सुन्ने माध्यम र शैली फेरिए, कतिपय पुराना भाका ओझेल परे तर उनको गीतसङ्गीतप्रतिको प्रेम भने उस्तै छ। “मर्ने बेलासम्म यही ‘लमजुङ दरबार’ गाउँदै मर्न पाऊँ। मरिसकेपछि पनि यही गीत गाएर मलाई बिदाइ गरियोस्। म नरहे पनि ‘लमजुङ दरबार’ गीत सधैँभरि गुञ्जिरहोस् भन्ने मेरो चाहना हो”, उनले भनिन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।