ब्रेकिङ न्युज
विज्ञापन
कला तथा मनोरञ्जन

नाना पाटेकरको निधनले शोकमा भारत, मोदीदेखि विराट कोहलीसम्मले यसरी सम्झिए

दिग्गज भारतीय अभिनेता तथा फिल्म निर्माता नाना पाटेकरको बिहीबार गोवास्थित आफ्नै घरमा ७५ वर्षको उमेरमा निधन भएको छ। उनको मृत्यु कार्डियाक एरेस्टका कारण भएको हो।

द इन्डियन एक्सप्रेसका अनुसार मृत्यु हुनुअघि बिहान करिब २:३० बजे पाटेकरले एक साथीलाई आफूलाई सन्चो नभएको सन्देश पठाएका थिए। साथीले उक्त सन्देश तत्काल देखेनन्। उनी बिहान करिब ४ बजे पाटेकरको घर पुगेका थिए। त्यतिबेला पाटेकर पसिनाले भिजेका र सास फेर्न गाह्रो भइरहेको अवस्थामा थिए।

त्यसपछि एम्बुलेन्स बोलाइएको थियो। आपत्कालीन टोली घरमै पुगेपछि सीपीआर सुरु गरिएको थियो। उनलाई सीपीआर दिँदै बिहान करिब ४:२० बजे अस्पताल पुर्‍याइएको थियो। अस्पतालका चिकित्सकका अनुसार उनलाई अस्पताल ल्याउँदा नै अवस्था गम्भीर थियो। करिब ४५ मिनेटसम्म सीपीआर दिइए पनि उनलाई बचाउन सकिएन र बिहान ५:२० बजे उनको मृत्यु भएको पुष्टि गरिएको थियो। उनको शव पोस्टमार्टमका लागि गोवा मेडिकल कलेज लगिएको थियो।

विज्ञापन

पाटेकरका छोरा मल्हारले निधनको पुष्टि गर्दै अन्त्येष्टि पुणेमा गरिने बताएका छन्। महाराष्ट्र सरकारले उनलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने घोषणा गरेको छ।

सन् १९५१ मा महाराष्ट्रमा जन्मिएका पाटेकरले हिन्दी र मराठी सिनेमासँगै थिएटरमा पनि काम गरेका थिए। उनले सन् १९७८ को हिन्दी फिल्म ‘गमन’ बाट फिल्मी करियर सुरु गरेका थिए। त्यसपछि ‘परिंदा’, ‘क्रान्तिवीर’, ‘प्रहार’, ‘अब तक छप्पन’, ‘नटसम्राट’, ‘वेलकम’ र ‘हाउसफुल ५’ लगायतका फिल्ममा उनको अभिनय चर्चित भयो। ‘वेलकम’ र ‘वेलकम ब्याक’ मा उदय शेट्टीको भूमिकाले उनलाई मुख्यधाराका दर्शकमाझ थप लोकप्रिय बनाएको थियो।

पाटेकरले तीन राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए। सन् २०१३ मा उनलाई पद्मश्री प्रदान गरिएको थियो। गहन अभिनय र फरक तथा जटिल पात्रलाई स्वाभाविक रूपमा प्रस्तुत गर्ने शैलीका कारण उनले भारतीय सिनेमामा छुट्टै पहिचान बनाएका थिए। उनले समानान्तर सिनेमाका फिल्ममा पनि काम गरेका थिए। मीरा नायरको ओस्कारमा मनोनित फिल्म ‘सलाम बम्बे!’ मा पनि उनले अभिनय गरेका थिए।

सन् २०१८ मा भारतको मीटु अभियानका क्रममा अभिनेत्री तनुश्री दत्ताले पाटेकरमाथि फिल्मको सेटमा यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्। पाटेकरले उक्त आरोप अस्वीकार गरेका थिए।

पाटेकरको निधनपछि भारतका राजनीतिक नेता, कलाकार तथा खेलाडीले श्रद्धाञ्जली दिएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले पाटेकरको निधनमा दुःख व्यक्त गर्दै उनको तीव्र अभिनय, छुट्टै पहिचान र प्रभावशाली उपस्थितिको प्रशंसा गरेका छन्। उनले पाटेकरले हरेक भूमिकामा विविधता र सिर्जनशीलता ल्याएको र उनका पात्र पुस्तासम्म सम्झिइने बताएका छन्।

लोकसभा विपक्षी दलका नेता राहुल गान्धीले पनि श्रद्धाञ्जली दिँदै पाटेकरले भारतीय सिनेमा र दर्शकको मनमा अमिट छाप छोडेको बताएका छन्। भारतीय क्रिकेटर विराट कोहलीले पाटेकरलाई भारतीय सिनेमाका सच्चा दिग्गज भन्दै उनको काम र विरासत आउने पुस्तासम्म जीवित रहने बताएका छन्। माष्टर ब्लाष्टर उपमा पाएका क्रिकेटर सचिन तेन्दुलकरले उनलाई सरल र जमिनसँग जोडिएको मानिसका रूपमा सम्झिएका छन्। उनका अनुसार पाटेकरको स्वाभाविकता र इमानदारी हिन्दी र मराठी दुवै सिनेमाका पात्रमा देखिन्थ्यो।

अभिनेता मिथुन चक्रवर्तीले पाटेकर आफ्नो नजिकका साथीमध्ये एक रहेको बताएका छन्। मानिसहरूले पाटेकरको रिस र स्वभावबारे चर्चा गरे पनि उनी मनका निकै राम्रा व्यक्ति रहेको र धेरै मानिसलाई चुपचाप सहयोग गरेको मिथुनको भनाइ छ। अभिनेत्री रविना टन्डनले पाटेकरको निधन आफ्नो लागि ठुलो धक्का भएको बताएकी छन्। उनले पाटेकरलाई निडर, बलियो र दयालु व्यक्ति भन्दै ‘गुलाम-ए-मुस्तफा’ को एक दृश्यमा उनले दिएको सुझावले आफ्नो अभिनयमा धेरै सहयोग गरेको सम्झिएकी छन्।

गायक उदित नारायणले पनि पाटेकरको निधनको खबर सुरुमा विश्वास गर्न गाह्रो भएको बताएका छन्। उनले पाटेकरसँग फिल्मको रेकर्डिङका क्रममा काम गरेको र ‘तिरंगा’ मा पनि सँगै काम गरेको सम्झिएका छन्।

केन्द्रीय मन्त्री नितिन गडकरीले पाटेकरसँग आफ्नो नजिकको सम्बन्ध रहेको बताएका छन्। उनले पाटेकरको पाँच दशकभन्दा लामो फिल्मी यात्रा, संवाद बोल्ने छुट्टै शैली र किसानका लागि गरेको कामको सम्झना गरेका छन्।

अक्षय कुमारले पाटेकरसँग ‘वेलकम’ र ‘हाउसफुल ५’ मा काम गरेका थिए। उनले पाटेकरलाई दुर्लभ अभिनेतामध्ये एक भन्दै उनको आवाज, अभिनयको गहिराइ र हरेक भूमिकामा देखिने इमानदारीको प्रशंसा गरेका छन्। रजनीकान्तले पाटेकरलाई आफ्नो प्रिय साथीका रूपमा सम्झिएका छन्। मनोज बाजपेयीले उनको कला र छुट्टै पहिचानले धेरै कलाकारलाई प्रेरणा दिएको बताएका छन्। प्रकाश राजले उनीसँग बिताएका समय र आफूले पाटेकरबाट सिकेका कुरा सम्झिएका छन्। रितेश देशमुखले पाटेकर पर्दामा मात्र नभई वास्तविक जीवनमा पनि नायक रहेको बताएका छन्।

पाटेकर फिल्ममा मात्र सीमित थिएनन्। उनी सामाजिक काममा पनि सक्रिय थिए। सन् २०१५ मा उनले अभिनेता मकरन्द अनासपुरेसँग मिलेर किसान र उनीहरूका परिवारलाई सहयोग गर्न नाम फाउन्डेसन स्थापना गरेका थिए। संस्थाले विशेषगरी महाराष्ट्रका खडेरी प्रभावित क्षेत्रमा काम गर्दै आएको छ।

पाटेकरले किसान आत्महत्याबाट प्रभावित परिवारलाई आर्थिक सहयोग गर्नुका साथै उनीहरूका छोराछोरीको पढाइमा पनि सहयोग गरेका थिए। नाम फाउन्डेसनले पानीको समस्या समाधान गर्न पोखरी, इनार र चेक बाँध निर्माण तथा नदी र नहर पुनर्स्थापनालगायतका काम गर्दै आएको छ। जानकारीअनुसार नाम फाउन्डेसनले स्थापनापछि ७७ लाख १७ हजार किसानलाई सहयोग गरेको छ। संस्थाले ५० हजार ९०८ परिवारलाई विपद् राहत, १०२ सैन्य शहीदका परिवारलाई आर्थिक सहयोग र चार हजार ९५७ विधवालाई सहयोग गरेको छ।

पाटेकरले ‘प्रहार: द फाइनल अट्याक’ फिल्ममा आर्मी मेजरको भूमिका निभाउन भारतीय सेनासँग करिब तीन वर्ष तालिम लिएका थिए। त्यसपछि उनी प्रादेशिक सेनामा प्रवेश गरेका थिए। सन् १९९९ को कारगिल युद्धका क्रममा उनले सेनासँग करिब दुई महिना अगाडिका क्षेत्रमा बिताएको रिपोर्ट पनि सार्वजनिक भएको थियो।

करिब पाँच दशक लामो फिल्मी यात्रामा पाटेकरले अभिनयसँगै सामाजिक काममार्फत पनि छुट्टै पहिचान बनाएका थिए। उनको निधनपछि भारतीय फिल्म उद्योगसँगै राजनीति, खेलकुद र सामाजिक क्षेत्रका व्यक्तिहरूले उनलाई सम्झिरहेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।