नेपाली कांग्रेसका नेता गेहेन्द्र गिरीले सर्वोच्च अदालतले शेरबहादुर देउवालाई नै आधिकारिक सभापतिको मान्यता दिने ठोकुवा गरेका छन्।
कांग्रेस संस्थापन इतर (शेरबहादुर देउवा पक्ष) को बाँके क्षेत्र नम्बर २ र नगर अधिवेशनलाई शनिबार नेपालगन्जमा सम्बोधन गर्दै उनले अदालतले निस्सा दिइसकेकाले अन्तिम फैसला पनि सोही अनुसार आउने दाबी गरेका हुन्।
नेता गिरीले कुनैपनि पार्टी र संगठन चलाउनलाई इमान्दारिता र अनुशासन हुनुपर्ने पनि बताए। पार्टीको निवर्तमान केन्द्रीय सदस्य गिरीले इमान्दारिता र अनुशासन नभए पार्टी चल्न नसक्ने स्पष्ट पारे। पुर्वसांसद गिरीले भने, ‘अंग्रेजीमा कंग्रेस भन्ने बित्तिकै सभा भन्ने बुझिन्छ, तर त्यो भिडले पार्टी चल्न सक्दैन, जुन दलमा इमान्दार साथीहरू हुनुहुन्छ, त्यो पार्टी सफल भएको इतिहास साक्षी छ।’

देश असाध्यै अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेको भन्दै उनले संविधान रक्षा र देशलाई जोगाउने पार्टी भनेकै नेपाली कांग्रेस रहेको बताए। अर्को प्रसंगमा पार्टीका निवर्तमान केन्द्रीय सदस्य समेत रहेका नेता गिरीले भने, ‘स्थानीय चुनाव आउँदैछ, कांग्रेसको आधिकारिकता मुद्दालाई सर्वोच्च अदालतले समयमा फैसला गरेन भने निर्वाचन आयोगले दल दर्ताको लागि आव्हान गर्छ, दल दर्ता गर्न गगन थापाहरू जानुहुन्छ, अनि हामीहरू पनि दल दर्ता गर्न जान्छौँ, त्यहाँ दुई वटा निवेदन पर्यो भने निर्वाचन आयोगले रुखलाई बाकसमा बन्द गरेर राख्छ, त्यो बेलामा दुवै पक्षलाई छुट्टै चुनाव चिन्ह दिन सक्छ।’
रुख चिन्ह पुर्खाहरूको आस्थासँग जोडिएको हुनाले यो सबैको रोजाइमा पर्ने गरेको बताउँदै भने, ‘यदि रुखले नै सबै हुने भए गत फागुन २१ मा चुनावमा लडेका साथीहरू रुख चिन्ह लिएर जानु भएको थियो, रुखले नै जिताउने भए गगन थापा सहित धेरै साथीहरूले किन चुनाव हार्नुभयो ?’
कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री एवम् नेपाली कांग्रेस बाँकेका पुर्वसभापति गजेन्द्र हमालले पनि सर्वोच्च अदालतले शेरबहादुर देउवालाई नै आधिकारिक सभापति मान्ने ठोकुवा गरे। ‘सर्वोच्च अदालतले निस्सा दिइसकेपछि अब शेरबहादुर देउवा दाइलाई नै आधिकारिकता दिन्छ, तपाईहरु ढुक्क हुनुस्, भोलिका दिनमा उनीहरू पनि यतै आउनेछन्,’
१५ औं नियमित महाधिवेशन तयारी समिति बाँकेका संयोजक कृष्णबहादुर कार्कीले शेरबहादुर देउवा राजनीति रूपमा सफल मात्र नभएर पटक–पटक मृत्युलाई समेत जित्ने नेता रहेको बताए। पञ्चायत र माओवादीले मार्न नसकेको शेरबहादुर देउवा २०८२ भदौ २४ गतेको घटनामा पनि बाँच्न सफल भएको बताए। कार्यक्रममा बोल्ने अधिकांश इतर पक्षीय नेताहरूले सर्वोच्च अदालतको निर्णयले कांग्रेसको भविष्य बदल्ने बताए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।