रोहित पौडेलको शतकको मद्दतमा नेपालले आईसीसी पुरुष क्रिकेटविश्वकप लिग २ अन्तर्गत आफ्नो अन्तिम शृंखलामा विजयी सुरुवात गरेको छ। आफ्नो एकदिवसीय मान्यता जोगाउन चारमध्ये तीन खेलमा जित निकाल्नै पर्ने दबाबमा रहेको नेपालले आफ्नो पहिलो खेलमा आइतबार क्यानाडालाई २४ रनले पराजित गरेको हो।
जितसँगै नेपाल २६ अंकमा छैठौं स्थानमा उक्लिएको छ। हारपछि क्यानाडा भने २५ अंकमा सातौं स्थानमा झरेको छ।
नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानाडा ४८.४ ओभरमा २११ रनमा आलआउट हुन पुग्यो।

क्यानाडाका लागि आरोन जोन्सनले सर्वाधिक ४४ रन बनाए। क्याप्टेन हाम्जा तारिक र श्रेयस मोभ्भाले समान २६ रन बनाए। अखिल कुमार रनमा ३० नटआउट रहे ।
क्यानाडालाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी र नन्दन यादवले समान २ विकेट लिए। नेपालले २ जनालाई रनआउट गराएको थियो।
यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले १२७ बलमा १०१ रन बनाए। गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै ३४ बलमा ४८ रन बनाए। बासिर अहमदले ३० रन, अर्जुन कुमालले २३ रनको योगदान गरे।
क्यानडाका लागि सुखजिन्दर सिंहले सर्वाधिक तीन विकेट लिए। जाहिद सिरजाद र अखिल कुमारले समान दुई विकेट लिए।
नेपालले जारी सिरिजको आफ्नो दोस्रो खेलमा मंगलबार ओमानसँग खेल्नेछ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।