ब्रेकिङ न्युज
विज्ञापन
समाज

बूढीगण्डकी बाढी: ४५ घर पूर्ण क्षति, ५२ जनाको उद्धार, पाँचजना सम्पर्कविहीन

गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले ठूलो क्षति पुर्‍याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीबाट ४५ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने २७ घरमा आंशिक क्षति पुगेको छ। बाढीपछि पाँचजना अझै सम्पर्कविहीन छन्।

प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरणअनुसार गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्चेत नजिकै उङ्गिलुङ खोलाबाट आएको गेग्रानसहितको बाढीले बूढीगण्डकी नदीमा ठूलो क्षति पुर्‍याएको हो। बिहान अचानक आएको बाढीले भौतिक संरचनामा क्षति पुर्‍याउनुका साथै स्थानीय बासिन्दा र भेडीगोठमा रहेका मानिस प्रभावित भएका छन्।

प्राधिकरणका अनुसार बाढीबाट हालसम्म नौ विदेशी नागरिकसहित ५२ जनालाई नेपाली सेनाका चारवटा हेलिकोप्टर परिचालन गरी उद्धार गरिएको छ। बाढीले दुईवटा पक्की पुल र दुईवटा झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ।

विज्ञापन

त्यस्तै, तीनवटा जलविद्युत् संरचना, चारवटा भवन र ३४ वटा गोठमा क्षति पुगेको विवरणमा उल्लेख छ। बाढीका कारण तीनवटा सवारीसाधनमा समेत क्षति पुगेको छ।

पाँचजना अझै सम्पर्कविहीन

बाढीपछि चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उङ्गिलुङ निवासी भेडीगोठमा रहेका पाँचजना सम्पर्कविहीन भएका छन्। उनीहरूमा दुई महिला र तीन पुरुष छन्।

सम्पर्कविहीन हुनेमा ६५ वर्षीय सोनाम लामा, उनकी ५९ वर्षीया श्रीमती मोम्मो अजि लामा, ६६ वर्षीया भुटी लामा, ७३ वर्षीय कर्मा लामा र ४१ वर्षीय पेमा दोर्जे लामा छन्।

प्राधिकरणले उनीहरूको खोजी तथा घटनाको कारण पत्ता लगाउन ड्रोन र भौगर्भिकविद्सहितको तीन सदस्यीय टोली परिचालन गरिएको जनाएको छ।

उद्धार तथा राहत सामग्री परिचालन

बाढीको सूचना प्राप्त हुनासाथ प्राधिकरणले गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका सम्बन्धित निकायलाई तत्काल प्रतिकार्यमा खटिन सूचना पठाएको थियो। बिहानै बाढीको पूर्वसूचना प्राप्त हुनासाथ सम्भावित प्रभावित क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत जानकारीसमेत गराइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी प्रमुख डा। धनञ्जय उप्रेतीको अध्यक्षतामा विपद् प्रतिकार्य कमान्ड पोस्टको बैठक बसेर घटनाको निरन्तर अनुगमन, अवस्था विश्लेषण तथा सम्बन्धित निकायलाई आवश्यक समन्वय र निर्देशन दिने काम भइरहेको छ।

प्रभावित क्षेत्रमा राहतका लागि ५० वटा टेन्ट, ५० वटा त्रिपाल, २०० वटा म्याट्रेस, २०० वटा ब्ल्याङ्केट, २०० वटा स्लिपिङ ब्याग, १०० वटा सोलार लाइट, ५० वटा किचेन सेट, १० वटा जेनेरेटर, १३० वटा ज्याकेट, २० वटा हाइजिन किट, १० वटा फुड बास्केट, १० वटा बेबी बास्केट र २० वटा रेनकोट परिचालन गरिएको विवरणमा उल्लेख छ।

त्यस्तै, गोरखा, लमजुङ र तनहुँका जिल्लास्तरीय द्रुत प्रतिकार्य टोली तथा प्रदेश अस्पतालका आकस्मिक चिकित्सकीय टोलीलाई स्वास्थ्य तथा राहत व्यवस्थापनका लागि तयारी अवस्थामा राखिएको छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ७०० भन्दा बढी सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालित भएको प्राधिकरणले जनाएको छ। बाढीबाट भएको क्षतिको थप विवरण संकलन, सम्पर्कविहीनको खोजी तथा प्रभावितलाई राहत उपलब्ध गराउने कार्य जारी छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।