भोटेकोशीमा बाढी आएको ४७ दिनपछि आइतबार बिहान गोरखाको बुढीगण्डकी नदीमा उस्तै प्रकृतिको आकस्मिक बाढी आएको छ। बाढीले गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाका विभिन्न बस्तीमा ठूलो क्षति पुर्याएको छ।
बाढीमा परी पाँच जना बेपत्ता भएका छन् भने प्रभावित क्षेत्रबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत ४७ जनाको उद्धार गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीले घर, पुल, जलविद्युत् आयोजनाका संरचना तथा अन्य पूर्वाधारमा क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार चुमनुब्रीका जगत बगर, सल्लेरी र घट्टेखोलालगायत क्षेत्रमा ३५ देखि ४० वटासम्म घर बगेका छन्। माछीखोलाको तल्लो बस्तीका २० भन्दा बढी घर जोखिममा परेका छन्।

बाढीमा परी चुमनुब्री गाउँपालिका–६ चुम्चेतस्थित उङ्गिलुङका दुई महिला र तीन पुरुष बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा ६५ वर्षीय सोनाम लामा, उनकी ५९ वर्षीया श्रीमती मोम्मो अजि लामा, ६६ वर्षीया सोम भुटी लामा, ७३ वर्षीय कर्मा लामा र ४१ वर्षीय पेमा दोर्जे लामा रहेका छन्।
बाढीको सम्भावित कारणबारे गरिएको प्रारम्भिक अध्ययनमा चुमनुब्री–६ को तुम्जे क्षेत्रमा गएको पहिरोले बुढीगण्डकीको सहायक खोला उङ्गेलिङ थुनिएको र थुनिएको पानी एक्कासि खुलेपछि बाढी आएको अनुमान गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार भू–उपग्रहबाट प्राप्त तस्बिरमा उक्त क्षेत्रमा ठूलो पहिरो गएको देखिएको छ। पछिल्लो २४ घण्टामा त्यस क्षेत्रमा ठूलो वर्षा नभएकाले वर्षाका कारण मात्रै बाढी आएको सम्भावना नरहेको महाशाखाले जनाएको छ। हिमपहिरोका कारण पनि बाढी आएको हुन सक्ने आशंका गरिए पनि त्यसको पुष्टि भइसकेको छैन।
स्थानीयले राति ठूलो आवाज सुनेको र नदीको बहाव घट्ने तथा बढ्ने क्रम पटक–पटक दोहोरिएको बताएका छन्। बाढीको वास्तविक कारण पत्ता लगाउन ड्रोनसहित भूगर्भविद्को टोली प्रभावित क्षेत्रमा पठाइएको छ। घटनाको प्राविधिक अध्ययनपछि मात्रै बाढीको कारण यकिन हुने अधिकारीहरूले बताएका छन्।
बाढीले चुमनुब्री गाउँपालिका–३ न्याक्चेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। धार्चे गाउँपालिका–५ माछीखोलाबाट करौँजा जोड्ने झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ।
त्यसैगरी, आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको भाग बगाएको प्राधिकरणले जनाएको छ। आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बाढीले बगाएको छ।
पुलहरूमा भएको क्षतिले गोरखा र धादिङबीचको आवागमन प्रभावित हुनुका साथै दुर्गम प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन कठिनाइ हुने देखिएको छ।
बाढीले धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प र निर्माण उपकरण बगाएको छ। आयोजनाका संरचनासहित आसपासका सातदेखि आठवटा घर बगेको प्रारम्भिक विवरण छ। बाढीले दुईवटा टेलिफोन टावर र करिब ५० वटा बिजुलीका पोलमा पनि क्षति पुर्याएको छ।
प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार आरुघाटमा बाढीको सतह ८ दशमलव ३ मिटर पुगेको थियो। त्यहाँको खतराको तह करिब पाँच मिटर हो। बाढीले पानीको सतह मापन गर्ने यन्त्रसमेत बगाएकाले पछिल्लो अवस्थाको यकिन विवरण प्राप्त गर्न कठिन भएको उनले बताए।
समयमै जारी गरिएको पूर्वसूचनाका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको प्राधिकरणको प्रारम्भिक आकलन छ। उप्रेतीका अनुसार आइतबार बिहान बाढीबारे आधिकारिक जानकारी प्राप्त भएको थियो। त्यसपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत सतर्क गराइएको थियो।
बाढीको स्रोत माथिल्लो क्षेत्रमा रहेकाले पानीको ठूलो बहाव तल्लो क्षेत्रमा आइपुग्न तीनदेखि चार घण्टा लाग्ने अनुमानका आधारमा उद्धार तथा सुरक्षा निकाय परिचालन गर्न समय मिलेको थियो।
प्राधिकरणका अनुसार बाढीको सूचना प्राप्त भएपछि गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका २२१ जना प्रतिकार्यकर्ता तत्काल परिचालन गरिएको थियो। प्रभावित क्षेत्रमा नेपाली सेनाका चार हेलिकोप्टरमार्फत खोज तथा उद्धार भइरहेको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ४३७ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। नेपाली सेनाका १२७, नेपाल प्रहरीका १३३ र सशस्त्र प्रहरी बलका १७७ जना परिचालित छन्। नेपाल प्रहरीका थप ५० जनालाई विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा तयारी अवस्थामा राखिएको छ।
गोरखा, लमजुङ र तनहुँका जिल्ला तथा प्रदेशस्तरीय द्रुत प्रतिकार्य टोली र अस्पतालका आपत्कालीन चिकित्सकीय टोलीलाई पनि तयारी अवस्थामा राखिएको छ। प्रभावित क्षेत्रमा खाद्यान्न तथा राहत सामग्री पुर्याउने तयारी भइरहेको प्राधिकरणले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।