बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै रु १० करोडको क्षति पुगेको छ। असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाले गाउँपालिकामा ठूलो धनजनको क्षति भएको हो।
अविरल वर्षासँगै आएको बाढीपहिरोले बागलुङको निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ भने करिब रु १० करोड बराबरको भौतिक क्षति पुर्याएको निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरले बताए।
निसीखोला गाउँपालिका-३ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। पहिरोमा परी श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश तथा निसान विकको ज्यान गएको हो। यस्तै निसीखोला-६ मा गोठ पुरिँदा गोठभित्र सुतिरहेका सुर्ज घर्तीमगरको मृत्यु भएको थियो।

गाउँपालिका-४ स्थित कानाबगर र झिवाखोला बजारको केही भाग बगरमा परिणत भएको छ। मध्यपहाडी लोकमार्गको निसीखोला खण्डमा ठूलो क्षति भएको छ। झिवाखोला बजारको पुरानो बजार, हार्डवेयर, फर्निचर, किराना पसल तथा लिटिल रोज बोर्डिङसहित प्रहरी चौकीमा क्षति पुगेको छ।
गाउँपालिकामा सडक पूर्वाधार, निजी आवास, विद्यालय तथा स्वास्थ्य चौकी भवन, खानेपानी, सिँचाइ, लघु विद्युत्, पुल र कृषि क्षेत्रमा ठूलो क्षति भएको छ। गाउँपालिकाभर निसीखोलामा आएको बाढी र विभिन्न क्षेत्रमा खसेको पहिरोले रु नौ करोड ९२ लाख २९ हजार ९५० को भौतिक क्षति गराएको छ।
सडक पूर्वाधारमा रु तीन करोड ४० लाख, भवन तथा आवासमा रु पाँच करोड ३० लाख, खानेपानीमा रु पाँच लाख १२ हजार, सिँचाइमा रु ३५ लाख ३८ हजार, विद्युत्मा रु ३७ लाख ४० हजार, झोलुङ्गे पुलमा रु २० लाख र कृषि क्षेत्रमा रु ३३ लाख २८ हजार नोक्सानी भएको छ।
बाढीपहिरोले सडक पूर्वाधारमा क्षति पुर्याउँदा ग्रामीण क्षेत्रको जनजीवन नै प्रभावित बनेको छ। कालोपत्र सडक, ढलान सडक, ग्याबिन पर्खाल र नालीमा क्षति पुगेको छ। रासस


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।