प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आसन्न चाडपर्वहरूमा कुनै पनि आपराधिक क्रियाकलाप हुन नदिन विशेष सुरक्षा योजना बनाई प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयबाट शनिबार भर्चुअल माध्यममार्फत सुरक्षा संवेदनशीलता र समसामयिक विषयमा सम्बोधन गर्दै महानिरीक्षक कार्कीले मातहतका निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन्।
चाडपर्वको समयमा हुन सक्ने चोरी, डकैती र लुटपाटका घटना नियन्त्रण गर्न प्रहरीले उच्च व्यावसायिकता देखाउनुपर्नेमा उनले जोड दिए।

स्थानीय तह तथा सरोकारवाला पक्षसँग समन्वय गरी नागरिकका समस्या तत्काल सम्बोधन गर्न र जवाफदेही सेवा प्रवाह गर्न उनले आग्रह गरे।
सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिँदै आईजीपी कार्कीले सामाजिक सद्भाव भड्काउने गतिविधिप्रति सचेत रहन भनेका छन्।
सीमा नाकामा हुने तस्करी तथा आपराधिक गतिविधि नियन्त्रण गर्न, फरार प्रतिवादी पक्राउ गर्न र सूचना संकलनलाई थप चुस्त बनाउन उनले निर्देशन दिए।
प्रहरी कर्मचारीहरूलाई व्यावसायिक मर्यादा र अनुशासनको पूर्ण पालना गर्न निर्देशन दिँदै उनले सामाजिक सञ्जालको प्रयोगमा संवेदनशील हुन सचेत गराए।
गैरव्यावसायिक क्रियाकलापमा संलग्न हुने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पार्दै उनले प्रदेश र जिल्ला प्रहरी प्रमुखहरूलाई नियमित अनुगमन र निरीक्षणमार्फत कमीकमजोरी तत्काल सुधार्न निर्देशन दिए।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेलगायत उच्च अधिकारीहरूको उपस्थिति थियो।
साथै काठमाडौं उपत्यका, सातै प्रदेश, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन, तालिम केन्द्र, गण, जिल्ला प्रहरी परिसर र मुद्दा चल्ने मातहतका इकाइ प्रमुखहरूको भर्चुअल सहभागिता रहेको थियो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।