ब्रेकिङ न्युज
विज्ञापन
समाज

पहिरोका कारण महभिर गाउँमा ३० परिवारको बिचल्ली

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ स्थित महभिर गाउँ पहिरोको जोखिमका कारण विस्थापित भएको छ। गाउँमा बसोबास गर्दै आएका ३० परिवारका सबै बासिन्दा घर छाड्न बाध्य भएका छन्।

पहिरोले गाउँका विभिन्न स्थानमा जमिन चिराचिरा पारेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो। विस्थापित परिवारलाई सिरुवारीमा अस्थायी शिविर बनाएर राखिएको अन्नपूर्ण गाउँपालिका–८ का वडाध्यक्ष खमबहादुर गर्बुजाले बताए।

‘बस्तीदेखि तल ठूलो पहिरो छ। गाउँको बीचबीचमा पनि पहिरोले चिराचिरा पारेको छ। घरगोठका पर्खाल र आँगन चर्किएर बस्न सक्ने अवस्था छैन,’ गर्बुजाले भने, ‘गाउँ नै पहिरोले बगाउने जोखिम भएकाले सिरुवारीमा अस्थायी शिविर बनाएर राखेका छौँ।’

विज्ञापन

पहिरोका कारण महभिरमा रहेको कक्षा ५ सम्म पढाइ हुने चन्द्र आधारभूत विद्यालयसमेत सिरुवारीमा सारिएको छ। असोज ८ देखि ११ गतेसम्म परेको निरन्तरको वर्षापछि महभिरमा पहिरो गएको हो।

वडाको विपद् व्यवस्थापन समितिले तयार पारेको प्रतिवेदनअनुसार महभिरसहित अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने साविक राम्चे गाविसका ५२ परिवारका १२६ जना विस्थापित भएका छन्। पहिरोले घर बगाउँदा धारापानीमा सविन चोचाङ्गीको मृत्यु भएको छ भने मनोज चोचाङ्गी बेपत्ता छन्।

काँफलडाँडाका अगुवा रवी गर्बुजाका अनुसार ओखलखर्क झुम्रेखोरमा तीन, धारापानीमा चार, गाउँफाँटमा ११, थलथलेमा तीन र चिनारमा दुई घरका परिवार विस्थापित भएका छन्।

विस्थापितलाई गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारले उपलब्ध गराएका टेन्टमा राखिएको छ। पहिरोका कारण नागी र राम्चेको बीचमा सडक अवरुद्ध भएपछि विस्थापित बसिरहेको सिरुवारीसम्म पुग्न कठिनाइ भएको छ।

विस्थापितका लागि खाद्यान्न तथा राहत सामग्री हेलिकप्टरमार्फत ढुवानी गरिएको छ। बेनीबाट सवारीसाधनमा मल्लाज, फलामेडाँडा हुँदै नागीसम्म पुर्‍याइएको राहत सामग्री स्थानीयवासीले पिठ्युँमा बोकेर प्रभावित क्षेत्रमा पुर्‍याउने गरेका छन्।

महभिर गाउँलाई नै स्थानान्तरण गर्नुपर्ने अवस्था आएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए। उनका अनुसार अस्थायी शिविरमा रहेका विस्थापितलाई दीर्घकालीन रूपमा सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा पुनर्निर्माण र पुनःस्थापनाका लागि प्रदेश र सङ्घीय सरकारसँग प्रस्ताव गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।