मकवानपुर, प्यूठान र झापामा भएका तीन छुट्टाछुट्टै सडक दुर्घटनामा १० वर्षीय बालकसहित तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा एक महिला घाइते भएकी छन्।
प्यूठान नगरपालिका-३, ओखरबोटमा बसबाट खसेर १० वर्षीय पुस्कर सुनारको मृत्यु भएको हो। शनिबार दिउँसो ३:४० बजे जुम्रीबाट ओखरबोटतर्फ जाँदै गरेको ना.४ ख ५९४६ नम्बरको बसको ढोकाबाट खसेका दाङको घोराही उपमहानगरपालिका-१२ निवासी प्रकाश सुनारका छोरा पुस्करलाई बसको टायरले किचेको थियो। उनको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले बस र चालक प्रेम गिरीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।
उता, मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२, दुविचौरस्थित कान्तिलोकपथ सडक खण्डमा बसको डिक्कीको ढोकाले ठक्कर दिँदा ४१ वर्षीय वीरबहादुर स्याङ्तानको मृत्यु भएको छ। बुटवलबाट काठमाडौं जाँदै गरेको लु.प्र. ०१-००१ ख ०६६४ नम्बरको बसको साइडको डिक्की खुला रहेको अवस्थामा ढोकाले ठक्कर दिँदा उनी घाइते भएका थिए। उपचारका लागि हेटौंडा अस्पताल लगिएका उनलाई थप उपचारका लागि मकवानपुर सहकारी अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा साँझ ७:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले बस चालक विशाल केसीलाई नियन्त्रणमा लिएको छ।

त्यस्तै, झापाको कनकाई नगरपालिका-१, दुर्गापुरस्थित सहिद गेट अगाडि पूर्व-पश्चिम राजमार्गमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा ३४ वर्षीया अम्बिका लावतीको मृत्यु भएको छ। लक्ष्मीपुरबाट सुरुङ्गातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४८०० नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको कोशी प्रदेश ०१-०२० प ९८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। स्कुटरको पछाडि सवार दमक नगरपालिका-७ निवासी लावतीलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। स्कुटर चालक कमल गाउँपालिका-५ निवासी ४५ वर्षीया अमृता थापा मगर घाइते भएकी छन्। उनको बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि प्रहरीले ट्रक, स्कुटर र ट्रक चालक इलाम नगरपालिका-१० निवासी ३६ वर्षीय छविकुमार मगरलाई नियन्त्रणमा लिएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।