ब्रेकिङ न्युज
विज्ञापन
प्रविधि

टेस्लाको उड्ने कार, के छन् विशेषता ?

अमेरिकाको टेक्ससमा टेस्लाको विद्युतीय स्पोर्ट्स कार ‘रोडस्टर’को नयाँ संस्करण प्रस्तुत गरिएको छ। यसलाई वास्तविक जीवनमा उड्न सक्ने कारका रूपमा चर्चा गरिएको छ।

यो कारमा विशेष प्रकारका थ्रस्टर जडान गरिएका छन्, जसको सहायताले कार जमिनबाट माथि उठेर हावामा उड्न र हावामै दिशा परिवर्तन गर्न सक्छ।

टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले कारको प्रदर्शन गर्दै भने, ‘आज राति तपाईंहरूले केही आश्चर्यजनक दृश्यहरू देख्न लाग्नुभएको छ।’

विज्ञापन

उनले आफ्नै कम्पनी स्पेसएक्सको एक परिसरमा यो कार प्रस्तुत गरेका हुन्। यस मोडेलको विकासमा स्पेसएक्सले पनि सहयोग गरेको छ। टेस्लाले आफ्नो रोडस्टर मोडेललाई पुनः डिजाइन गरेर उड्न सक्ने विशेषतासहितको कारका रूपमा प्रस्तुत गरेको हो।

मस्कले यो कार कृत्रिम बुद्धिमत्ता (एआई) बाट तयार गरिएको दृश्य नभई वास्तविक भएको प्रमाणित गर्न प्रत्यक्ष दर्शकको उपस्थिति आवश्यक रहेको बताएका थिए।

मस्कले रोडस्टरको प्रदर्शनका क्रममा कारलाई ठूलो घुमाउरो र्‍याम्पमा माथितिर लगेर त्यहाँबाट हावामा उफ्रिएको देखाएका थिए। त्यसपछि कार हावामै घुमेको र एयर जेटको सहायताले जमिनमा अवतरण गरेको थियो।

कार सुरक्षित रूपमा अवतरण भएपछि मस्कले भने, ‘ल, यो काम गर्‍यो।’

बीबीसीकी प्रविधि सम्पादक जो क्लाइनम्यानले भने निकट भविष्यमा सडकमा उड्ने कारहरू देखिने सम्भावना विभिन्न कारणले कम रहेको बताएकी छन्।

मस्कले आफ्नो एक्स (पहिले ट्विटर) खातामा कारको प्रदर्शनको भिडियो सार्वजनिक गर्दै भविष्यमा साँच्चिकै उड्ने कारहरू देखिने अवस्था आएको जस्तो लागेको बताएका छन्।

टेस्लाले दुई सिट क्षमताको यस कारमा स्पेसएक्सले विकास गरेको कोल्ड ग्यास थ्रस्टर प्रविधि प्रयोग गरेको छ। यद्यपि, उड्न सक्ने विशेषता भएको यो कार सार्वजनिक सडकमा प्रयोग गर्न तयार छ वा छैन भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन।

कारका विशेषता

कारको प्रदर्शनपछि मस्कलाई यो सडकमा चलाउन सकिन्छ कि सकिँदैन भनेर सोधिएको थियो। उनले हाँस्दै भने, “त्यो तपाईंको सडक कस्तो छ भन्नेमा निर्भर गर्छ।”

यद्यपि, उनले यो कार व्यावहारिक रूपमा प्रयोग गर्न सकिने खालको हुने दाबी गरेका छन्।

मस्कका अनुसार कारलाई जमिनबाट माथि उठाउन उच्च चापमा हावा भण्डारण गर्ने उन्नत ट्याङ्की प्रयोग गरिएको छ। हावामा कारको उचाइ र नियन्त्रण कायम राख्न एल्टिच्युड थ्रस्टर तथा पछाडिको भागमा मुख्य थ्रस्टर जडान गरिएका छन्। यी उपकरणको सहायताले कार रकेटजस्तै उड्न र हावामा विभिन्न कलाबाजी गर्न सक्ने बताइएको छ।

कारमा रकेटमा प्रयोग हुने थ्रस्टर प्रविधि जडान गरिएको छ। दाबीअनुसार यसले केवल ०.८१ सेकेन्डमा प्रतिघण्टा ९७ किलोमिटरको गति लिन सक्छ। यो गति हासिल गर्न सकेमा कार तीव्र गतिमा गति बढाउने कारमध्ये एक हुन सक्नेछ।

के हो कोल्ड ग्यास थ्रस्टर प्रविधि?

कोल्ड ग्यास थ्रस्टर प्रविधि अन्तरिक्षमा रकेट तथा उपग्रहको दिशा परिवर्तन गर्न प्रयोग गरिन्छ। यस प्रविधिमा उच्च चापमा राखिएको हावा वा ग्यासलाई तीव्र गतिमा बाहिर निकालेर आवश्यक बल उत्पन्न गरिन्छ। टेस्लाको रोडस्टरमा पनि यही प्रविधि प्रयोग गरिएको बताइएको छ।

सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी

कारको प्रदर्शनपछि सामाजिक सञ्जालमा मानिसहरूले यसको सम्भावित प्रयोगबारे विभिन्न कल्पना गर्न थालेका छन्।

केहीले टोल बुथमा पुग्दा कार उडाएर टोल पार गर्न सकिने बताएका छन्। अरूले सडक बिग्रिएको वा खाल्डाखुल्डी भएको ठाउँमा कार उडाएर यात्रा गर्न सकिने कल्पना गरेका छन्। ट्राफिक जाममा फसेको अवस्थामा पनि कार उडाएर जाम पार गर्न सकिने चर्चा भइरहेको छ।

यद्यपि, अहिले यो रोडस्टरको प्रदर्शन मात्रै हो। बजारमा आउँदा कारमा कस्ता प्रविधि हुनेछन्, सार्वजनिक सडकमा प्रयोग गर्न मिल्ने वा नमिल्ने र सञ्चालनका लागि कस्ता सडक तथा अन्य सर्त आवश्यक पर्नेछन् भन्ने विषय अझै स्पष्ट हुन बाँकी छ। बीबीसी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

प्रविधि बाट थप

थप — प्रविधि

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।