नेकपा एमाले कोशी प्रदेश कमिटीका सचिवालय सदस्य तथा सङ्खुवासभा जिल्ला कमिटीका पूर्वअध्यक्ष जीतबहादुर (जेबी) घिमिरेको निधन भएको छ। उनको असोज २८ गते निधन भएको हो।
एमालेले असोज २९ गते शोक वक्तव्य जारी गर्दै घिमिरेको निधनले पार्टी र सङ्खुवासभाको समाजलाई अपूरणीय क्षति पुगेको जनाएको छ।
सङ्खुवासभाको माझगाउँ मरुवामा २०१७ साल कात्तिक १० गते जन्मिएका घिमिरेले २०४७ सालमा नेकपा एमालेको सदस्यता प्राप्त गरेका थिए। बहुदलीय प्रजातन्त्रको पुनःस्थापनापछि प्राथमिक तहको शिक्षण पेसा त्यागेर पार्टी सङ्गठन निर्माणमा सक्रिय भएका उनले सङ्खुवासभामा पार्टीको आधार बलियो बनाउन योगदान पुर्याएका थिए।

खाँदबारी नगरपालिकाका संस्थापक उपप्रमुखसमेत रहेका घिमिरे पार्टी सङ्गठनका साथै स्थानीय सामाजिक तथा शैक्षिक विकासमा सक्रिय थिए। सादगी जीवन, सिद्धान्तप्रतिको निष्ठा र सङ्गठनप्रतिको समर्पण उनका विशेषता रहेको एमालेले जनाएको छ।
घिमिरेको निधनबाट पार्टीले निष्ठावान् र समर्पित कार्यकर्ता तथा सङ्खुवासभाली समाजले आदरणीय अभिभावक र समाजसेवी गुमाएको एमालेको शोक वक्तव्यमा उल्लेख छ।
एमालेले दिवङ्गत घिमिरेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनकी जीवनसङ्गिनी रुक्मिणी डाँगी घिमिरे, छोरा सुरेश, छोरीहरू सृजना र रचनालगायत शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति समवेदना व्यक्त गरेको छ।
पार्टी र समाजका लागि घिमिरेले पुर्याएको योगदान सदैव स्मरणीय रहने एमालेले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।