राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय कार्यालय सञ्चालनका लागि घर वा जग्गा खरिद गर्ने भएको छ। पार्टीले घर वा जग्गा खरिदका लागि इच्छुक घरधनी तथा जग्गाधनीसँग प्रस्ताव माग गरेको छ।
पार्टीको बढ्दो सांगठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वलाई ध्यानमा राख्दै हालको अस्थायी व्यवस्थापनलाई प्रतिस्थापन गरी केन्द्रीय कार्यालय आफ्नै स्वामित्वको स्थायी संरचनामा स्थानान्तरण गर्ने निर्णय गरिएको रास्वपाले जनाएको छ।
पार्टीको केन्द्रीय समितिले २०८३ असोज १७ गते गरेको निर्णयअनुसार घर वा जग्गा खरिद गर्न लागिएको हो। कार्यालय सञ्चालनका लागि उपयुक्त वातावरण भएको, आवागमनका दृष्टिले सहज र पर्याप्त भौतिक पूर्वाधार भएको घर वा आवश्यक संरचना निर्माण गर्न मिल्ने जग्गा खरिद गरिने पार्टीले जनाएको छ।

रास्वपाले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र इच्छुक घरधनी तथा जग्गाधनीलाई प्रस्ताव पेस गर्न आग्रह गरेको छ। खरिदसम्बन्धी विस्तृत जानकारी तथा सर्त र मापदण्डका लागि पार्टीले उपलब्ध गराएको आधिकारिक दस्तावेज डाउनलोड गर्नसमेत अनुरोध गरेको छ।
पार्टीका प्रवक्ता जगदीश खरेलले जारी गरेको सूचनामा केन्द्रीय कार्यालयलाई आफ्नै स्वामित्वको स्थायी संरचनामा स्थानान्तरण गर्ने उद्देश्यले घर वा जग्गा खरिद प्रक्रिया अघि बढाइएको उल्लेख छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।