ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

साउदी र मलेसियाका प्रस्तावित राजदूत अस्वीकृत, १० राजदूतको नाम अनुमोदन, जापानका थापा होल्डमा

विभिन्न १३ देशका लागि प्रस्तावित नेपाली राजदूतमध्ये संसदीय सुनुवाइ समितिले १० जनाको नाम अनुमोदन गरेको छ।

समितिले साउदी अरब र मलेसियाका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत गरेको छ भने जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नामबारे निर्णय दशैंपछि गर्ने भएको रास्वपा सांसद दीपक बोहोराले नागरिकलाई बताए ।

बुधबार बसेको संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकले भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन र श्रीलंकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको बोहोराले बताए।

विज्ञापन

समितिबाट अनुमोदित हुनेमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जबरा, जर्मनीका लागि सरु जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलंकाका लागि डा. मञ्चला झा छन्।

साउदीका सुनारको नाम अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम अनुमोदन गर्न अस्वीकार गरेको छ। सुनुवाइका क्रममा उनको विगत र जर्मनीबाट निष्कासन गरिएको विषयलगायतका प्रश्न उठेका थिए।

सुनारसँग सम्बन्धित विभिन्न विषयमा समितिमा छलफल भएपछि नाम अस्वीकृत गर्ने निर्णय गरिएको सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।

मलेसियाका खरेल पनि अस्वीकृत

मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलको नाम पनि समितिले अस्वीकृत गरेको छ। सुनुवाइका क्रममा उनीमाथि आर्थिक लेनदेन, स्वार्थको द्वन्द्व तथा स्थानीय तहमा अनुदान मिलाइदिने भन्दै रकम लिएको लगायतका आरोपबारे प्रश्न उठेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले खरेलमाथि विभिन्न उजुरी परेको उल्लेख गर्दै आर्थिक कारोबार, म्यानपावर कम्पनीसँगको सम्बन्ध र बेरुजुसम्बन्धी विषयमा जवाफ मागेका थिए। खरेलले भने आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै अनुदान मिलाइदिने आश्वासन नदिएको र कसैबाट त्यसरी रकम नलिएको दाबी गरेका थिए।

सुनुवाइका क्रममा उठेका विषयमा छलफल गरेपछि समितिले खरेलको नाम अनुमोदन नगर्ने निर्णय गरेको हो।

जापानका थापाको निर्णय दशैंपछि

जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नाम भने समितिले तत्काल अनुमोदन वा अस्वीकृत नगरी होल्डमा राखेको छ। उनको सुनुवाइका क्रममा जापानको स्थायी आवासीय अनुमति (पीआर) र स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठेका थिए।

थापाले आफूले पीआर त्यागिसकेको बताए पनि त्यससम्बन्धी आवश्यक कागजात समितिमा प्राप्त नभएको सभापति श्रेष्ठले जानकारी दिए। सम्बन्धित कागजात माग गरिएको र त्यसबारे पत्र आउने प्रक्रियामा रहेकाले कागजात प्राप्त भएपछि मात्रै निर्णय लिन उपयुक्त हुने धारणा बैठकमा राखिएको थियो।

बैठकमा रास्वपाका सांसद कविन्द्र बुर्लाकोटीले आवश्यक कागजात प्राप्त नभएसम्म थापाको नाम होल्डमा राख्नुपर्ने बताएका थिए। नेकपाका सांसद वर्षमान पुनले भने उनको नाम अस्वीकृत गर्नुपर्ने धारणा राखेका थिए।

दुवै पक्षका धारणा सुनेपछि समितिले थापाको नामबारे दशैंपछि निर्णय गर्ने जनाएको छ। सभापति श्रेष्ठले आवश्यक कागजात प्राप्त भएपछि थप निर्णय लिइने जानकारी दिँदै बैठक स्थगित गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।