ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेसलाई एकढिक्का बनाउन गगन थापाले देउवासँग संवाद थाल्नुपर्छ: महामन्त्री संग्रौला

नेपाली कांग्रेसकी नवनिर्वाचित महामन्त्री डा. डिला संग्रौलाले पार्टीभित्रको आन्तरिक तिक्तता अन्त्य गरी एकता कायम गर्न सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवासँग संवाद थाल्नुपर्ने बताएकी छन्।

नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै महामन्त्री संग्रौलाले अग्रज नेताहरूलाई छाडेर वा अपमान गरेर कांग्रेस अघि बढ्न नसक्ने प्रस्ट पारिन्।

‘महाधिवेशनबाट नेतृत्व परिवर्तन भइसकेको छ, तर पार्टीलाई भावनात्मक रूपमा जोड्न अझै बाँकी छ,’ महामन्त्री संग्रौलाले भनिन्, ‘अब सभापति गगन थापाले अग्रसरता लिएर निवर्तमान सभापति शेरबहादुर देउवासँग तत्काल राजनीतिक संवादको थालनी गर्नुपर्छ। उहाँ हाम्रो आदरणीय नेता र अभिभावक हुनुहुन्छ।’

विज्ञापन

पार्टीको १५ औं महाधिवेशनका क्रममा देउवा पक्षले देखाएको असन्तुष्टिलाई सम्बोधन गर्न नयाँ नेतृत्व लचिलो बन्नुपर्ने उनको भनाइ छ। महाधिवेशन उद्घाटनसत्रमै देउवाको सम्मानका लागि मञ्चमा कुर्सी खाली राखिएको स्मरण गर्दै उनले संस्थापन पक्षलाई बाहिर राख्ने कुनै नीति नरहेको दाबी गरिन्।

‘पाँचपटक प्रधानमन्त्री भइसक्नुभएका देउवाको इतिहास र योगदानलाई कसैले मेटाउन सक्दैन,’ उनले भनिन्, ‘हामीले महाधिवेशनमै पनि उहाँका लागि विशिष्ट कुर्सी खाली राखेका थियौं। समयको चक्रसँगै नेतृत्व पुस्तान्तरण भए पनि उहाँको अभिभावकत्व कांग्रेसलाई सधैं चाहिन्छ।’

देउवा पक्षबाट छुट्टै भेला वा समानान्तर महाधिवेशनको तयारी भइरहेको प्रति संकेत गर्दै महामन्त्री संग्रौलाले त्यस्तो बाटो कसैको हितमा नहुने चेतावनी दिइन्। पार्टीको आधिकारिक मुख्यालय सानेपा नै रहेको र निर्वाचन आयोगले नयाँ कार्यसमितिलाई मान्यता दिइसकेको अवस्थामा कानुनी बखेडा झिक्नुको कुनै अर्थ नरहेको उनको जिकिर छ।

‘समानान्तर बाटो रोजेर देउवा दाइ जानुहुन्छ जस्तो मलाई लाग्दैन, त्यो बाटोमा उहाँ जानु पनि हुँदैन,’ संग्रौलाले भनिन्, ‘पार्टीभित्रै बसेर विचार र असन्तुष्टिको व्यवस्थापन गर्नुपर्छ। बाहिर रहेका सबै साथीहरूलाई पार्टीको मूल प्रवाहमा फर्काउने वातावरण सभापतिले बनाउनुपर्छ।’

आफू विगतमा देउवासँगै लामो समय राजनीति गरेको र अहिले गगन थापाको प्यानलबाट महामन्त्री निर्वाचित भएको सन्दर्भ जोड्दै उनले आफू पुस्ताहरूबीचको पुल बन्न तयार रहेको बताइन्।

‘पार्टीमा २१ जना युवा केन्द्रीय सदस्य आएका छन्, ऊर्जा थपिएको छ,’ उनले भनिन्, ‘तर युवाको जोशसँगै पुराना नेताहरूको अनुभव र योगदान पनि चाहिन्छ। सभापति गगन थापाले हिजोको प्रतिस्पर्धा बिर्सेर देउवालगायतका वरिष्ठ नेताहरूसँग संवाद थाल्नुभयो भने मात्र कांग्रेस बलियो हुन्छ र आगामी चुनाव जित्न सकिन्छ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।