नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ। आज पनि औसतमा २५ समूह बनाएर मतगणना गर्ने तयारी गरिएको छ।
जनसम्पर्क समितितर्फका दुई महिला र पाँच खुला गरी सात केन्द्रीय सदस्यको मतगणना सकिएको छ। पिछडिएको क्षेत्रतर्फका सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको मतगणना पनि सम्पन्न भएको छ।
हाल खुला सहमहामन्त्री, महिला सहमहामन्त्री र महिला केन्द्रीय सदस्यहरूको मतगणना भइरहेको छ। त्यस्तै, आदिवासी जनजातितर्फका सहमहामन्त्री तथा केन्द्रीय सदस्य र सुदूरपश्चिम भूगोलअन्तर्गतका खुला, महिला तथा ३५ वर्षमुनिका केन्द्रीय सदस्यहरूको मतगणना जारी छ।

यसैगरी, ३५ वर्षमुनिका खुला केन्द्रीय सदस्यहरूको मतगणना पनि भइरहेको छ।
कांग्रेसका अनुसार केहीबेरमा खुलातर्फका ४५ केन्द्रीय सदस्यको मतगणना सुरु हुनेछ। त्यसपछि दलिततर्फका सहमहामन्त्री तथा खुला, महिला र मधेसी दलित केन्द्रीय सदस्यहरूको मतगणना गर्ने तयारी छ।
त्यस्तै, अल्पसंख्यक तथा अपाङ्गतातर्फका सहमहामन्त्री र केन्द्रीय सदस्य, मधेसीतर्फका सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्यको मतगणना हुनेछ।
खस–आर्यतर्फका सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य एवं पेसागततर्फका खुला र महिला केन्द्रीय सदस्यको मतगणना पनि सुरु गरिने कांग्रेस मिडिया सेन्टरले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।