ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेस मतगणना बुधबार सकिने

नेपाली कांग्रेसका उपसभापति र महामन्त्री पदमा मतगणनाको परिणाम सार्वजनिक भएको छ। निर्वाचन समितिले आगामी बुधबारसम्म अन्तिम परिणाम सार्वजनिक हुने बताएको छ।

मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य विजयी भएका हुन्। त्यस्तै उपसभापति समावेशीतर्फ विनोदकुमार चौधरी निर्वाचित भएका छन्। महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन्। महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन्। उपसभापति खुलातर्फको मतगणनामा डा. चन्द्रकान्त भण्डारीले ३ हजार ४ सय ४४ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन्।

विजयी भएका मधु आचार्यले २ हजार ३ सय ४२ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार ७ सय ५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६ सय ७३, धनराज गुरुङले १ हजार ५ सय ९६, दीपक गिरीले ९ सय २३ र प्रा.डा. चन्द्रमोहन यादवले ७ सय ६० मत प्राप्त गरेका छन्। उपसभापति समावेशीतर्फको एक पदमा विनोदकुमार चौधरी १ हजार ७ सय ४५ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६ सय ५८ मत मात्र प्राप्त गरेका छन्। यसैगरी, फरमुल्लाह मन्सुरले १ हजार १ सय ४४, सीता गुरुङले १ हजार १ सय १२ र रञ्जित कर्णले ५ सय ६२ मत प्राप्त गरेका छन्।

विज्ञापन

कांग्रेसमा सभापतिपछिको आकर्षक पद महामन्त्री खुलातर्फको मतगणनामा प्रदीप पौडेलले ४ हजार १ सय ९४ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन्। उदयशमशेर राणाले २ हजार ३ सय ३० मत प्राप्त गर्दै महामन्त्री पदमा विजय हासिल गरेका छन्। अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले २ हजार २ सय ५७, गुरुराज घिमिरेले १ हजार ५ सय १३, नैनसिंह महरले १ हजार १ सय ३४, अमरसिंह पुन मगरले १ हजार १ सय २५, शंकर तिवारीले १ सय २३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन्। महिला महामन्त्रीतर्फको एक पदमा डा. डिला संग्रौला (पन्त) ३ हजार १ सय १८ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। उनका प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८ सय ६४ मत प्राप्त गरेकी छन्। त्यस्तै, रीता खनालले ८ सय ४ मत प्राप्त गरेकी छन्।

अन्य पदहरूमा मतगणना भइरहेको छ। केन्द्रीय कार्यसमितिका विभिन्न पदहरूको मतगणना कार्यलाई छिटो र व्यवस्थित रूपमा सम्पन्न गर्न केन्द्रीय कार्यालय सानेपामा एकसाथ २३ स्थानमा मत गन्ने कार्य भइरहेको छ। धेरै पद र उम्मेदवारहरूको मतपत्र एकैसाथ व्यवस्थापन गर्नुपर्ने भएकाले निर्वाचन समितिले पद र क्लस्टरअनुसार छुट्टाछुट्टै समूह बनाएर गणना अगाडि बढाएको निर्वाचन समितिका सदस्य-सचिव राजु कटुवालले जानकारी दिएका छन्। सहमहामन्त्री महिला, सहमहामन्त्री खुला तथा केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ।

प्रवासस्थित नेपाली जनसम्पर्क समितिको मतगणनालाई तीव्रता दिन सबैभन्दा धेरै ९ स्थानमा टोली परिचालन गरिएको छ। त्यसैगरी आदिवासी जनजाति सहमहामन्त्री, आदिवासी जनजाति खुला केन्द्रीय सदस्य र आदिवासी जनजाति महिला सदस्यतर्फको गणना ३ स्थानमा भइरहेको छ। सुदूरपश्चिम प्रदेशतर्फको खुला केन्द्रीय सदस्य, महिला र ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्य पदको मतगणना ४ स्थानमा जारी छ। पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री, खुला केन्द्रीय सदस्य र खुला महिला केन्द्रीय सदस्यको गणना २ स्थानमा भइरहेको छ।

यसरी कुल २३ स्थानमा एकसाथ गणना कार्य अघि बढाइएपछि नतिजा सार्वजनिक हुने क्रममा तीव्रता आएको छ। उम्मेदवार तथा तिनका आधिकारिक प्रतिनिधिहरूको उपस्थितिमा सुरक्षा व्यवस्था कडा बनाएर मतगणना शान्तिपूर्णरूपमा जारी राखिएको र बाँकी सबै पदहरूको अन्तिम परिणाम छिट्टै सार्वजनिक गर्ने तयारी रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।