वासु शशी स्मृति परिषद्, काठमाडौंले अग्रज तीन साहित्यकार हिरण्यकुमारी पाठक, मधुवन पौडेल र डा. बद्री पोखरेललाई ‘वासु शशी साहित्य सम्मान-२०८३’ बाट सम्मान गरेको छ।
परिषद्ले ३४औँ सम्मान समारोहका अवसरमा काठमाडौंको अनामनगरस्थित डालो रेस्टुरेन्टमा आयोजित कार्यक्रममा तीनै जना स्रष्टालाई जनही १० हजार रुपैयाँसहित सम्मान गरेको हो।
परिषद्का कार्यवाहक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभाध्यक्षता तथा गीतकार एवं चलचित्र निर्देशक यादव खरेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

कार्यक्रममा आयोजक संस्थाका सदस्य सचिव प्रद्युम्न जोशीले अतिथिजनलाई शब्दमार्फत स्वागत गरेका थिए। उनले परिषद्ले साहित्यकारहरू सम्मान गर्ने परम्पराकाे निरन्तरता दिँदै आएको र हालसम्म ६० भन्दा बढी स्रष्टा सम्मानित भइसकेको बताए।
कार्यक्रममा परिषद्का सल्लाहकार राधेश्याम लेकालीले शुभकामना मन्तव्य व्यक्त गर्दै साहित्यकारहरूको योगदानको कदर गर्ने यस्ता कार्यक्रमको महत्त्वमाथि प्रकाश पारेका थिए।
सम्मान ग्रहणपछि पुरस्कृत स्रष्टाहरूका तर्फबाट मन्तव्य व्यक्त गर्दै डा. बद्री पोखरेलले साहित्यकारहरूलाई सम्मान गर्ने परम्पराको प्रशंसा गरे। उनले वासु शशीको साहित्यिक कृतित्वको चर्चा गर्दैआफूलाई सम्मान गरेकोमा परिषद्प्रति आभार व्यक्त गरेका थिए।
त्यस्तै सम्मानित स्रष्टा मधुवन पौडेलले सम्मान प्राप्त गरेकोमा खुसी व्यक्त गरेका थिए।हिरण्यकुमारी पाठकले साहित्यकार वासु शशीप्रति उच्च सम्मान गर्दै पटकपटक सहकार्य गर्ने अवसर पाएकाे बताइन्। कार्यक्रममा कलाकार मिथिला शर्माले वासु शशीको कथा ‘माया’ मा आफूले अभिनय गरेको स्मरण गर्दै सम्मानित स्रष्टाहरूलाई बधाई दिइन्।
त्यसैगरी कलाकार मदनदास श्रेष्ठले वासु शशीसँग निकट सम्बन्ध भएको उल्लेख गर्दै उनका कथामा आधारित टेलिचलचित्र निर्माण गर्ने कार्यमा समेत आफू संलग्न भएको अनुभव सुनाए। दसैँको अवसरमा रेडियो नेपालबाट प्रसारण हुने उनले निर्देशन गरेका नाटकको महिषासुर पात्रको अभिनय प्रस्तुत गरेका थिए।
साहित्यकार ठाकुर बेलबासेले सञ्चालन गरेकाे कार्यक्रममा प्रमुख अतिथि यादव खरेलले वासु शशीसँग आफ्नो घनिष्ठ सम्बन्ध रहेको सम्झिंदै उनको ५७ वर्षको अल्पायुमै निधन हुनुलाई दुःखद् घटना भएकाे उल्लेख गरे। उनले वासु शशीको व्यक्तित्व र साहित्यिक योगदानको स्मरण गर्दै उनको नाममा स्थापित सम्मानको महत्त्व रहेको बताए।
कार्यक्रमका सभापति श्रीओम श्रेष्ठ रोदनले उपस्थित सबैलाई दसैँको शुभकामना व्यक्त गर्दै नेपाली साहित्यमा पुरस्कार र सम्मानको अभाव नभए पनि सम्मानको गरिमा जोगाउनुपर्ने आवश्यकता औँल्याए। उनले कतिपय अवस्थामा सम्मानकै अपमान हुने र प्राप्त सम्मानसमेत घरमा झुन्ड्याएर राख्न नसक्ने अवस्था देखिन थालेको टिप्पणी गरे।
वासु शशीजस्ता सम्मानित स्रष्टाको नाममा प्रदान गरिने पुरस्कारको आफ्नै विशिष्ट महत्त्व र गरिमा रहेको उनको भनाइ थियो।
वासु शशीको साहित्यिक योगदानको स्मरण तथा नेपाली साहित्यमा योगदान पुर्याउने स्रष्टाहरूको सम्मानका लागि आयोजित समारोहमा साहित्यकार, कलाकार तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।