दसैंको रौनक यतिबेला घरआँगनमा देखिन थालिसकेको छ। उत्साहसँगै दसैंले ल्याउने जोस, उल्लास र प्रेम यतिबेला भरिँदै छ। घर जाने, वर्षदिनको थकान बिर्सने र आफन्तसँग गाँसिने सम्बन्धका रङहरूले मनमा ताजापन भरेका छन्। यतिबेला विद्युतीय सञ्चारमाध्यममा दसैंका गीत घन्किन सुरु भएसँगै दसैं आएको आभास जताततै भएको छ।
दसैं आउनुभन्दा केही दिनअघिदेखि सञ्चारमाध्यममा मंगल धुन बज्न थाल्छ। सो मंगल धुनले दसैंको उसाहलाई झन् रमाइलो र रौनकपूर्ण बनाइदिएको छ। या भनौं, रौनक भरिदिएको छ। यतिमात्र कहाँ हो र दसैंमा गाइने गीतसंगीतले दसैंलाई झन् रौनक थपिदिएको छ।
‘आउँथ्यो दसैं आउन त पहिले नै’, दसैंमा यो गीत विशेष बजेको पाइन्छ। हेमन्त शर्मा र मेलिना राईले गाएको यो गीत खुसी र उल्लाससाथ दसैंभरि नै बज्ने गर्छ। यो गीतले सबैको मन जितेको छ। दसैं आएलगत्तै यो गाउँदेखि सहर र विदेशमा बस्ने नेपालीहरूले पनि यो गीतमा टिकटक बनाउने र नाच्ने गरेको धेरै पाइन्छ। ‘दसैं आयो’, वर्ष र दिनको रमाइलो चाड घरघरमा आइपुग्यो, नेपाली जनको महान् पर्व आँगनमा आइपुग्यो, हो, दसैं आयो, दसैं आयो। परदेशीहरू गाउँ फर्केको, पिङ खेलेको र ठुलाबडाहरूले आशीर्वाद दिएको चलचित्र ‘मुग्लान’को यो दृश्यले सबैको मन छोएको छ। दसैंको बेला गाउँघरमा धेरै बज्ने गीत पनि हो।

‘दसैं नै हो कि यो मेरो दशा’, दसैंमा बज्ने यो गीत मिलन र प्रेमको मात्र छैन, दसैंमा बिछोडको गीत पनि धेरै सुनिन्छ। योगेश्वर अमात्यले गाएको यो गीत अलि फरक सुनिन्छ। अभाव, बिछोड र टुक्रिएको मनसँग दसैंको बेला भोगेका पीडाहरूलाई समेटेको छ।
दसैं आउनेबित्तिकै रेडियोमा घन्कने गीतमध्ये अर्को विशेष गीत हो– ‘नमुछे आमा दहीमा टीका’। यो गीतले दसैंको भावुक सम्झना गराउँछ। निकै भाव बोकेको यो गीतले बिदेसिएका आफ्नाहरूले आफ्नालाई निकै सम्झने गरेको भाव प्रस्तुत गर्छ। रोजगारका लागि विदेश पलायन भएका या भनौं, समुद्रपारि पुगेकाहरूको पीडा देखाइएको चलचित्र ‘तिमीबिना मरिहाल्छु’को यो गीतले आफ्नो घर र परिवारलाई सम्झेको देखाएको छ।
गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘तिम्रै बाटो हेरी रा’छन्’ ले पनि दसैंको बेला पर्खाइ र आफ्नाहरूको सम्झनालाई समेटेको छ। यो गीत आफ्नो प्रियलाई समर्पित गरेको पाइन्छ।
गीतका शब्दहरूले आफ्नै भाव बोकेका हुन्छन्। कतै अभाव, कतै एक्लोपन अनि कतै जोडिदिएको हुन्छ। यस्तै बिछोडको गीत दसैंमा पनि गाइएको छ। ‘बिछोडको पीडा नसकी खप्न दसैंको बेलामा’ दसैं आउनेबित्तिकै हामीले सम्झने गीत हो।
पर्वको बेलामा आफ्नासँग भएको बिछोड र पीडालाई सम्बोधन गरेर नारायण गोपाल र दिलमाया खातीको स्वरमा गाइएको यो गीत बज्न थालेपछि दसैं आएको महसुस हुन्छ। नारायण गोपाल र दिलमाया खातीको स्वरमा रहेको यो गीत पुरानो र इतिहास बोकेको गाना पनि हो। एक समय रेडियो नेपालमा दसैंको बेला यो गाना निकै फर्माइसमा बजाइन्थ्यो। अहिले पनि दसैंको बेला उत्तिकै बज्छ।
गायिका विष्णु माझीले गाएका दसैंका गीतमध्ये ‘आउन हो परदेशी’, ‘फेरि आयो दसैं तिहार’ र ‘दसैंमा आऊ प्यारा’ सबैका प्रिय गीत बनेका छन्। यी गीत धेरै बज्ने गीत पनि हुन्, जसमा लाखौंले टिकटक बनाएका छन् र युट्युबमा पनि धेरै हेरिएका छन्। दसैंको अर्को चर्चित गीतमध्ये अर्को गीत हो, ‘यसपालि दसैंमा ठुलो दाजु आउने’। कुल पोखरेलको स्वरमा रहेको यो गीतले दाजुभाइ र दाजुबहिनीको सम्बन्धमा मिठास पोखिदिएको छ। यो गीतमा टिकटक बनाउने पनि गरेका छन्। के उमेर पुगेकाले मात्र हो र साना भाइबहिनीहरूलाई पनि दसैंको गीत निकै मन परेको देखिन्छ। टिकटक, रिल र सामाजिक सञ्जालहरूमा यो गीत धेरै भेटिन्छ। यसले पनि लाग्छ, पर्वले जोडेका सम्बन्धका शब्दहरूले एकअर्कालाई नजिक ल्याएका छन्।
गायक सुगम पोखरेलले दसैंका लागि गाएको गीत ‘वर्षमा दिनैमा लै लै’ दसैंतिहारमा निकै बज्ने गर्छ। यो गीत पनि जति पुरानो हुँदै गए पनि दसैंमा बज्दा नयाँजस्तै लाग्छ। यति मिठासपूर्ण भाव बोकेको यो दसैं गीत युवामाझ लोकप्रिय छ। यो पारिवारिक प्रेमको आभास दिने गीत बनेको छ। यो गीतमा पनि लाखौं टिकटक र रिल बनेका छन्।
‘यो दसैंमा म घर आइनँ’, गायक–गायिका रेशम थापा, उद्धव कार्की, सीता थापा र गीता कोइरालाले स्वर दिएको यो लोकभाका दसैं आउँदा निकै बज्ने गर्छ। परदेशबाट घर फर्किन नसकेको नेपालीको पीडा यसमा पोखिएको छ। ‘रातो टीका दसैंको जमरा’ गीतले पनि दसैंको झल्को ल्याउँछ। दसैंमा यो गीत पनि धेरै बज्ने गर्छ।
सुनिल गिरीको स्वरमा रहेको ‘थालैभरि रातो रातो अक्षता र पाती’ गीत पनि दसैं आउँदा निकै बज्ने गर्छ। दसैंमा लाहुरे फर्किएको र गाउँको रमझम तथा रमाइला क्षणहरू देखाइएको छ। चाडपर्वमा खाली दुःख र वेदना मात्र पोखिएका भने छैनन्। पर्वमा रमाइला र मिठा आभासका गीतहरू पनि निकै बन्ने गरेका छन्। यीमध्ये यो गाना पनि एक हो।
अर्को दसैं गीत छ, शिव थापा मगरको स्वरमा रहेको ‘प्रदेशबाट फरिया ल्याइदिउँला’। यो गीतले पनि एक्लै बसेका आफ्नाहरूलाई प्रेम र सम्झना दिएर मन भुलाएको छ। साँच्चै, पर्वले प्रेम, मिलन, बिछोड अनि मायाको सागर भरिदिएको छ, जसमा दसैंमा गाइने गीतले त झन् प्रेम पोखिदिएको छ।
‘नौ रथाको दियो बाती, डोलीमा फूलपाती, लैबरी लै लै’ गीत पनि दसैंविशेष गीत बनेको छ। थुप्तेन भुटिया र दीपा झाको स्वरमा रहेको गीत पनि दसैं आउँदा सामाजिक सञ्जालमा बाक्लिन्छ। टिकटक बनाउने, रिल बनाउने र नाच्नेहरू यो गीतमा देखिन्छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।