ब्रेकिङ न्युज
विज्ञापन
समाज

बाढीमा श्रीमान् बेपत्ता भएपछि श्रीमती र दुई सन्तानको बिचल्ली

प्रकृतिको एउटा निठुरी झोक्काले हाँस्दाहाँस्दैको कसैको संसार कसरी उजाड बनाइदिन्छ भन्ने कारुणिक दृश्य यतिबेला रसुवामा देखिएको छ।

गोसाइँकुण्ड गाउँपालिका–६, ठाडेकी ३० वर्षीया मिनजिन तामाङको जीवनमा यस्तै एउटा कहिल्यै निको नहुने गहिरो घाउ लागेको छ।

रसुवाकै कालिका गाउँपालिका–१ पालेप माइतीघर भई ठाडेका ३० वर्षीय लामा कुमार घलेसँग छ वर्षअघि वैवाहिक बन्धनमा बाँधिएकी तामाङको संसार अहिले एकाएक अन्धकार बनेको छ।

विज्ञापन

भोटेकोशीमा भेल बनेर आएको बाढीले घरको एउटै मात्र कमाउने खम्बा श्रीमान्लाई बगाएर बेपत्ता बनाएपछि अहिले उनी र दुई नाबालक सन्तानको बिचल्ली भएको छ।

विगतका दिन पनि अभावै अभावमा बिते पनि यो दम्पतीको काखमा एक छोरा र एक छोरीको आगमनले खुसीयाली भरेको थियो।

लामा परिवारको गुजारा चलाउन केरुङतर्फ श्रम गर्थे भने मिनजिन घरव्यवहार र सन्तानको हेरचाहमा रमाउथे। तर, नियतिलाई उनीहरूको यो सादा खुसी मञ्जुर भएन।

मिनजिन मुटुरोगबाट पीडित छिन्। झन् एक वर्षअघि घाँस काट्न जाँदा अचानक रिङ्गटा लागेर भिरबाट लड्दा उनको एउटा हात र एउटा खुट्टा चल्न छोड्यो। शरीर आधा अचेत र अशक्त भइन्।

त्यो सङ्कटको घडीमा श्रीमान् लामा कुमारले उनलाई कहिल्यै कमजोर हुन दिएनन्। ‘तिमी चिन्ता नगर, म कमाउँछु, तिम्रो उपचार गराउँछु’, भन्दै अहोरात्र खटिए।

मिनजिन आँसु पुछ्दै विगत सम्झिन्छिन्, ‘उहाँ सधैँ भन्नुहुन्थ्यो– श्रीमती भनेको सुखमा मात्र होइन, दुःख पर्दा झन् बढी साथ दिनुपर्छ।’ तर, तिनै रैथाने माया र आडभरोसा दिने श्रीमान्लाई कालो बनेर आएको बाढीले सदाका लागि खोसेर लग्यो।

भदौको महिना थियो। अविरल वर्षा भइरहेको थियो। भदौ ६ गते लामा कुमारकी ७० वर्षीया ठूलीआमा कामछो घलेनीले भतिजलाई सम्झाउँदै भनेकी थिइन्, ‘बाबु, अहिले मौसम खराब छ, केरुङ नजाऊ, बरु गाउँतिरै बस।’

तर, अशक्त अवस्थामा रहेकी श्रीमतीको उपचार र सन्तानको गाँस टार्ने हुटहुटी बोकेका लामा कुमारले त्यो चेतावनीलाई टार्न सकेनन्।

भदौ १० गते बिहानै झिसमिसे ५ः०० बजे काममा निस्कएका लामा बाटो हिँड्दाहिँड्दै बाढीको चपेटामा परे।

बाटोबाटै बाढीले बगाएर उनी बेपत्ता भएको खबर जब घर पुग्यो, मिनजिनको आकाश नै खस्यो। आज धेरै दिन बितिसक्दा पनि उनको आँखा बाटो हेर्नेतिरै केन्द्रित हुन्छन्।

त्यसले कतै श्रीमान् जीवितै फर्किआउँछन् कि भन्ने उनीमा एउटा मधुरो आशा अझै जीवितै देख्छिन्।

घरमा सासूआमा पहिले नै बितिसकेका, बुढेसकालको जीवन बिताइरहेका ससुरा, आफू स्वयं हलचल गर्न नसक्ने अपाङ्ग र साना–साना एक छोरा र एक छोरीसहितको यस्तो विकराल अवस्था छ। यो परिवारको हेरचाह अहिले ७० वर्ष नाघेकी ठूलीआमा कामछो घलेनीले गरिरहेकी छिन्।

तर, आफैँलाई हेर्नुपरेको र वृद्धले कतिन्जेल यो भार थाम्न सक्छिन् र ? ‘बूढी भइसकेँ, म आफैँ त आज छु कि भोलि, यिनीहरूलाई कहिलेसम्म पाल्न सकूँला र?’ भन्दै ठूलीआमा भावुक बनिन्।

आफ्नो आधा शरीर गुमाएर ओछ्यान परेकी मिनजिन एउटै पुकार छ, ‘सरकारले हामीजस्ता असहाय, अपाङ्ग र टुहुरा बालबालिकालाई हेरिदिए हुन्थ्यो।’

स्थानीय ठाडेस्थित सरस्वती आधारभूत विघालयका प्रधानाध्यापक लानाम घले भने, ‘यो परिवार अत्यन्तै विपन्न र निम्न वर्गको हो। हामी गाउँले र विद्यालयको तर्फबाट सक्दो सहयोग गरिरहेका छौँ, तर यो दीर्घकालीन समाधान होइन। राज्य र मनकारी निकायले यो अपाङ्ग आमा र टुहुरा बालबालिकाको संरक्षणका लागि ठोस कदम चालिदिनु आवश्यक छ।’

बाढीले केवल एउटा मान्छेमात्र बगाएन, एउटा सिङ्गो परिवारको भविष्य र सहारा पनि बगाएको छ। प्रकृतिले दिएको उक्त चोटमा मानवीय मल्हमको पर्खाइमा छ ठाडेको यो विपन्न परिवार। रासस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।