अभिनेता पल शाह हाल नेपालका स्टार कलाकारमध्ये एक हुन्। सामाजिक सञ्जालदेखि निर्माताको रोजाइमा पर्ने पलको जीवन भने पहिलेदेखि यस्तो थिएन। कामबाट फुर्सद नपाउने कलाकारका रूपमा चिनिने उनले सिने जगत्मा थुप्रै संघर्ष तथा विवाद भोग्दै यो नाम कमाएका हुन्।
उनले आफ्नो जीवनमा यो उचाइ कडा मेहनतका कारण हासिल गरेका हुन्। पलको सुरुवाती जीवन टेलिभिजन यात्राका संघर्षपूर्ण दिनहरूसँग जोडिएको छ। चलचित्रमा नायक बन्नुअघि उनले टेलिभिजन च्यानलहरूमा भिडियो एडिटरका रूपमा काम गरेका थिए। मध्यमवर्गीय परिवारबाट आएका उनले टेलिभिजन तथा मिडिया हाउसमा भिजुअल एडिटिङको काम गर्दागर्दै म्युजिक भिडियोमा मोडलिङ सुरु गरेका हुन्। म्युजिक भिडियोमार्फत उनको लोकप्रियता बढ्दै गएपछि चलचित्रमा उनको यात्रा सुरु भयो।
सोमबार प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आ बाट आमा २’ को ट्रेलर रिलिज कार्यक्रममा पलले पुराना दिनहरू सम्झिए।

टेलिभिजन तथा मिडिया हाउसमा काम गर्दाका दिन सम्झँदै उनले आफू बसको छतमा बसेरसमेत दाङ फर्किएको बताए। उनी सुनाउँछन्, “दसैँ आउनेबित्तिकै म एक पटक काठमाडौंबाट दाङ बसको छतमा बसेर गएको सम्झन्छु। त्यो दसैँको समय थियो, जब म काठमाडौंबाट दाङ बसको छतमा बसेर गएको थिएँ। त्यो बेला जाडोको समय थियो। कतिपटक त दसैँमा घर जानका लागि बसको टिकट काटिन्थ्यो, तर त्यहाँ पुग्दा उक्त टिकट रद्द भएर अरू नै बसिरहेका हुन्थे।”
मिडिया हाउसमा काम गर्दाको अनुभव साझा गर्दै उनी सुनाउँछन्, “टेलिभिजनमा काम गर्दै गर्दा कतिपय मिडिया हाउसले पैसा नदिँदा त्यो बेला घरभाडासमेत तिर्न गाह्रो हुने गर्थ्यो।” ठट्टा गर्दै उनी थप्छन्, “मैले त जहाँ काम गरेँ, त्यहाँ पैसा नदिने ठाउँ नै भेटाएँ।”
उनले आफ्नो जीवनका कैयौँ वर्ष मिडिया हाउसमा बिताएका छन्, जहाँ उनी भिडियो एडिटिङको काम गर्थे।
हाल दसैँको अवसर पारेर पल शाह अभिनीत गत वर्षको व्यावसायिक रूपमा सुपरहिट चलचित्र ‘आ बाट आमा’ को सिक्वेल लिएर आएका छन्। यो चलचित्रले घरेलु बक्स अफिसमा १३ करोड रुपैयाँको कलेक्सन गरेको थियो। अहिले पल ‘आ बाट आमा २’ लाई लिएर उत्साहित छन्। ‘आ बाट आमा २’ ले सय दिन मनाउने उनको अपेक्षा छ।
‘आ बाट आमा २’ असोज ३० गतेदेखि प्रदर्शनमा आउने भएको छ। यस चलचित्रमा पल, मलिका र बिपनाका अलावा रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडालगायतको मुख्य भूमिका छ।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बनेको यस चलचित्रका लेखक रोशन भट्ट र चन्द्र पन्त हुन् भने संवाद लेखन रोशन भट्टले गरेका छन्। चलचित्रका कार्यकारी निर्माता करण सिंह हुन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।