ब्रेकिङ न्युज
विज्ञापन
खेलकुद

माडुकेको निर्णायक गोलमा आर्सनलले नटिङ्घमलाई हरायो

नोनी माडुकेको निर्णायक गोलमा आर्सनलले प्रिमियर लिगमा नटिङ्घम फरेस्टलाई १–० ले पराजित गरेको छ।

आइतबार सिटी ग्राउन्डमा भएको प्रतिस्पर्धात्मक खेलमा आर्सनलले अन्तिम १० मिनेटमा गोल गर्दै महत्त्वपूर्ण तीन अंक जोडेको हो।

खेलको अधिकांश समय बलमाथि नियन्त्रण राखे पनि आर्सनलले फरेस्टको रक्षापंक्ति तोड्न निकै संघर्ष गर्नुपरेको थियो। मिकेल आर्टेटाको टोलीले अपेक्षाअनुसार प्रदर्शन गर्न नसके पनि अन्तिम समयमा गोल निकाल्दै जित सुनिश्चित गर्‍यो।

विज्ञापन

यो जितसँगै आर्सनलले लिगमा आफ्नो राम्रो लयलाई निरन्तरता दिएको छ। ब्राइटनसँग ३–० ले पराजित भएपछि आर्सनलले लगातार तीन खेल जित्दै पुनरागमन गरेको हो। यसअघि टोलीले प्रिमियर लिगमा लिड्स र च्याम्पियन्स लिगमा लिललाई हराएको थियो।

खेलको सुरुवातदेखि नै आर्सनलले आक्रमणको प्रयास गरे पनि गोल गर्न सकेको थिएन। बुकायो साकाको क्रसमा फरेस्टका गोलकिपर माट्ज सेल्सले राम्रो बचाउ गरे। अर्कोतर्फ, घरेलु टोलीले पनि केही अवसर सिर्जना गर्दै आर्सनललाई दबाबमा राखेको थियो।

मार्टिन ओडेगार्डको पासमा काई हाभर्ट्जले गोलको अवसर पाए पनि उनको प्रहारले जाली छुन सकेन। पहिलो हाफमा अपेक्षित प्रभाव पार्न नसकेपछि आर्टेटाले एबेरेची एजेको स्थानमा माडुकेलाई मैदान प्रवेश गराए।

दोस्रो हाफमा पनि आर्सनलले गोलका लागि लामो समय कुर्नुपर्‍यो। गेब्रियल म्यागाल्हेसले डेक्लान राइसको कर्नरमा हेडरमार्फत गोल गर्ने प्रयास गरे पनि बल पोस्टको माथिबाट बाहिरियो।

खेलको ८०औँ मिनेटमा भने आर्सनलले सफलता हात पार्‍यो। माडुकेले बायाँतर्फबाट बल अघि बढाउँदै भित्रतिर कट गर्दैशक्तिशाली प्रहार गरे। उनको प्रहार फरेस्टका डिफेन्डरलाई लागेर दिशा परिवर्तन हुँदै गोलमा परिणत भयो। यससँगै आर्सनलले खेलमा १–० को अग्रता बनायो।

गोल खाएपछि फरेस्टले बराबरीका लागि अन्तिम प्रयास गरेको थियो। खेलको अन्त्यतिर मुरिलोले गोल गर्ने अवसर पाए पनि उनको प्रयास सफल हुन सकेन।

आर्सनललाई उपाधि दौडमा राहत

यो जित आर्सनलका लागि अंक तालिकामा आफ्नो चुनौती कायम राख्न महत्त्वपूर्ण बनेको छ। टोलीले पछिल्ला सात लिग खेलमध्ये छ खेलमा जित हात पारेको छ।

यद्यपि, आर्सनलले अझै आफ्नो उत्कृष्ट खेल देखाउन सकेको छैन। आक्रमणमा सिर्जनशीलताको कमी र गोलका अवसर सदुपयोग गर्न नसक्नु टोलीका लागि सुधार गर्नुपर्ने पक्ष बनेका छन्। तर कठिन परिस्थितिमा पनि जित निकाल्न सक्नु आर्टेटाको टोलीका लागि सकारात्मक पक्ष हो।

आर्सनलले अब च्याम्पियन्स लिगमा बायर्न म्युनिखको सामना गर्नेछ। त्यसपछि अर्को सप्ताहन्तमा प्रिमियर लिगमा एभर्टनविरुद्ध मैदान उत्रनेछ।

यता, नटिङ्घम फरेस्टका लागि भने घरेलु मैदानमा अर्को निराशाजनक नतिजा आएको छ। टोलीले पछिल्ला १७ घरेलु लिग खेलमध्ये केवल दुई खेलमा जित हासिल गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।