नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्धको खेलमा १० रनको जित निकालेको छ।
ओमानमा सोमबार भएको खेलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन बनायो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको थियो। अल अमेरात क्रिकेट मैदानको मिनिस्ट्री टर्फ-१ मा भएको खेलमा नेपालका लागि रोहित पौडेलले सर्वाधिक ८० रन बनाए। उनले ८१ बलको सामना गरेका थिए।

नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा ओमानका ब्याटरले राम्रो प्रदर्शन गरे पनि टोलीलाई जित दिलाउन सकेनन्। ओमानका जतिन्दर सिंहले ११४ बलमा ८९ रन बनाए भने हम्माद मिर्जाले ९७ बलमा ८७ रन जोडे। उनीहरूको प्रदर्शनका बाबजुद ओमान लक्ष्यभन्दा १० रनले पछि रह्यो।
यो ऐतिहासिक जित सँगै नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को शीर्ष छ (छैटौँ) स्थान सुरक्षित गरेको छ। यसरी नेपालले अर्को संस्करणका लागि आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता सोझै जोगाउने सम्भावना बलियो बनाएको हो।
नेपालले ३६ खेलबाट ३० अंक जोड्दै छैटौँ स्थान पक्का गरेको छ भने क्यानडा २९ अंकसहित सातौँ स्थानमा खस्किएको छ।
अघिल्लो संस्करणमा शीर्ष छ भित्र परेको टोलीले एकदिवसीय मान्यता सोझै जोगाउन सफल भएका कारण यस पटक नेपालको यस जितलाई पनि अर्थपूर्ण मानिएको छ।
क्यान पदाधिकारी पनि शीर्ष ६ मा रहने टोलीको एकदिवसीय मान्यता कायम रहने दाबी गर्छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।