बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलालाई दशैं खर्च जुटाउन अरूको भर पर्नुपर्दैन। घरमै पालेका खसीबोका बिक्री गरेर उनीहरूले चाडपर्वको खर्च जुटाउनुका साथै आम्दानीको स्रोतसमेत बलियो बनाउँदै आएका छन्।
नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत यस वर्ष यहाँका किसान महिलाले ६०० खसीबोका बिक्री गरिसकेका छन्। दशैं–तिहारलाई लक्षित गर्दै सहकारीले यस वर्ष १ हजार ५०० खसीबोका बिक्री गर्ने लक्ष्य राखेको छ।
सहकारीकी अध्यक्ष गङ्गा शाहका अनुसार किसान महिलाले घरमा हुर्काएका खसीबोका सहकारीमा ल्याएर तौल गराउँछन्। सहकारीले तिनको बजार व्यवस्थापन र बिक्री वितरण गर्दै आएको छ। यसले किसानलाई बजार खोज्दै हिँड्नुपर्ने र बिक्रीका क्रममा ठगिने जोखिमबाट जोगाएको छ।

“महिला दिदीबहिनीले हुर्काएका खसीबोका बिक्रीका लागि सहकारीमा तौल गराउनुहुन्छ, हामीले बिक्री वितरण गर्ने गरेका छौँ,” शाहले भनिन्।
वर्षमा १० देखि १२ वटासम्म खसी बिक्री
फत्तेपुरका महिलाले बाख्रापालनलाई घरायसी आवश्यकतामा सीमित नराखी आम्दानीको माध्यम बनाउँदै लगेका छन्। व्यावसायिक रूपमा बाख्रापालन गर्ने महिलाको सङ्ख्या बढेसँगै बाँकेमा खसीबोका उत्पादनसमेत बढेको अध्यक्ष शाहको भनाइ छ। किसान महिलाले अहिले वर्षमा १० देखि १२ वटासम्म खसी बिक्री गर्न थालेका छन्।
दशैं–तिहारमा खसीबोकाको माग बढी हुने भएकाले यही समयमा किसान महिलाले उल्लेख्य आम्दानी गर्ने गरेका छन्। वर्षभरि गरेको मेहनतको प्रतिफल चाडपर्वको मुखमा हात पर्दा उनीहरूलाई घरखर्च व्यवस्थापन गर्न सहज भएको छ।
सहकारीकी व्यवस्थापक दिव्या गुरुङका अनुसार विगतमा बाँकेको कचनापुर, महादेवपुरी र फत्तेपुरलगायतका गाउँमा महिलाले उत्पादन गरेका खसीबोका सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेमार्फत काठमाडौंसहित बाहिरी जिल्लामा बिक्री गरिन्थ्यो। अहिले फत्तेपुरस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारीले नै बजार व्यवस्थापनको काम गर्दै आएको छ।
किसानलाई प्रतिकिलो ६०० रुपैयाँ
सहकारीले किसानसँग प्रतिकिलो ६०० रुपैयाँका दरले खसीबोका खरिद गर्ने गरेको छ। त्यसपछि प्रतिकिलो ५० रुपैयाँ थपेर व्यापारीलाई बिक्री गरिन्छ। सहकारीले किसानबाट खसीबोका खरिददेखि बजारसम्म पुर्याउने काम सम्हाल्दा किसानलाई बजार खोज्ने झन्झट कम भएको छ।
सहकारीमार्फत गठन गरिएका ५९ समूहमा एक हजार ५० किसान महिला आबद्ध छन्। तीमध्ये करिब ६०० महिलाले बाख्रापालन गर्दै आएका छन्। सहकारीले खसीबोका बिक्रीका साथै बाख्रापालन व्यवसाय विस्तार गर्न ऋणसमेत उपलब्ध गराउँदै आएको व्यवस्थापक गुरुङले बताइन्।
महिलालाई समूहमा आबद्ध गरेर उत्पादन, बिक्री र वित्तीय सहयोगसँग जोड्ने सहकारीको अभ्यासले ग्रामीण क्षेत्रमा सामूहिक उद्यमको सम्भावना देखाएको छ। किसानले उत्पादन गर्ने र सहकारीले बजारको जिम्मा लिने व्यवस्थाले बिचौलियामा निर्भरता घटाउन तथा बिक्रीलाई व्यवस्थित बनाउन सहयोग पुगेको छ।
फत्तेपुरका किसान महिलाका लागि बाख्रापालन अब दशैं खर्च जुटाउने माध्यम मात्र होइन, नियमित आम्दानीको आधारसमेत बन्दै गएको छ। घरमै गरिने पशुपालनलाई व्यावसायिक उत्पादन र सहकारीको बजार सञ्जालसँग जोड्न सके ग्रामीण महिलाको आर्थिक सक्रियता बढाउन सकिने उदाहरण यहाँ देखिएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।