नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्टको पक्राउ प्रकरणमा फरक मापदण्ड अपनाइएको आरोप लगाएका छन्।
बस्नेतले सामाजिक सञ्जालमार्फत उक्त आरोप लगाएका हुन्। उनले संगठित अपराधको अनुसन्धानका लागि दसैँकै दिन भट्टलाई पक्राउ गरिएको विषय उठाउँदै रवि लामिछाने पक्राउ पर्दा असंवेदनशीलताको प्रश्न उठाउनेहरू अहिले मौन रहेको टिप्पणी गरेका छन्।
उनले लामिछानेलाई संगठित अपराधको मुद्दामा चितवनबाट पोखरा लैजाँदा असंवेदनशील व्यवहार गरिएको भन्दै आलोचना गर्नेहरूले भट्टको पक्राउबारे किन प्रश्न नगरेको भन्दै प्रश्न गरेका छन्।

‘रवि पक्राउ हुँदा एउटा मापदण्ड, सुशील भट्ट पक्राउ हुँदा अर्को मापदण्ड। लगानी बोर्डका पूर्व सीईओ सुशील भट्टलाई संगठित अपराधको अनुसन्धानका लागि दसैँकै दिन आजै पक्राउ गरिएछ,’ उनले भने, ‘हिजो रवि लामिछानेलाई संगठित अपराधको मुद्दामा चितवनबाट पोखरा लैजाँदा असंवेदनशीलताको आरोप लगाउनेहरू अहिले कहाँ छन्? आज रबि सभापति भएको रास्वपाकै सरकारले यस्तो रवैया किन देखाइरहेको छ?’
बस्नेतले रास्वपा सभापति लामिछाने रहेको पार्टीको सरकारले नै यस्तो व्यवहार गर्नुको कारणसमेत माग गरेका छन्। ‘कानुन सबैका लागि समान हुनुपर्दैन? कि व्यक्ति हेरेर मापदण्ड बदलिन्छ?’ भन्दै उनले प्रश्न समेत गरे।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।