महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बालबालिकासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, अनुभव र सुझाव सुनेकी छन्।
मन्त्रालयद्वारा आयोजित राष्ट्रिय परामर्श कार्यक्रमअन्तर्गत ‘मिट माई मिनिस्टर’ सत्रमा मन्त्री बादीले बालबालिकासँग संवाद गरेकी हुन्।
कार्यक्रममा बालबालिकाले शिक्षा, स्वास्थ्य, बालविवाह, बालश्रम, विभेद, न्याय, सुरक्षा तथा बाल सहभागितालगायतका विषयमा आफ्ना जिज्ञासा र सवाल प्रस्तुत गरेका थिए। उनीहरूले बालअधिकार संरक्षण तथा बालबालिकाविरुद्ध हुने हिंसा अन्त्यका लागि आवश्यक नीतिगत सुधारका विषयमा समेत सुझाव दिएका थिए।

संयुक्त राष्ट्रसङ्घीय बालअधिकार महासन्धि (सीआरसी) अन्तर्गत नेपालको प्रतिवेदन तयारी तथा बालबालिकाविरुद्ध हुने हिंसा अन्त्यका लागि आवश्यक नीतिगत सिफारिस निर्माण गर्ने सन्दर्भमा कार्यक्रम आयोजना गरिएको हो।
बालबालिकाका समस्या र सुझावलाई नीति निर्माण तथा निर्णय प्रक्रियामा समेट्ने उद्देश्यले आयोजित संवादले उनीहरूको सहभागिता र आवाजलाई प्राथमिकता दिएको मन्त्रालयले जनाएको छ।
बालअधिकार संरक्षण, बालबालिकाविरुद्ध हुने हिंसाको अन्त्य तथा उनीहरूको सुरक्षित र उज्ज्वल भविष्य सुनिश्चित गर्न बालबालिकाका सवाललाई नीतिगत तहमा सम्बोधन गर्नुपर्नेमा कार्यक्रमले जोड दिएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।