घटस्थापनाका दिन रातिदेखि यहाँका विभिन्न शक्ति पीठहरुमा लाग्ने नौराते अर्थात् नवरात्रि मेला सुरु भएको छ।
आश्विन शुक्ल प्रतिपदाको दिन गएरातिदेखि ब्रह्मायणी मन्दिरमा नवरात्रि मेला सुरु भएको छ। मेला भर्न रातभरि दर्शनार्थीहरुले ब्रह्मायणीमा गएर मेला भरेका छन्। भक्तपुरका नौ वटा शक्ति पीठमा नौ दिनसम्म राति मेला लाग्ने गर्दछ।
घटस्थापनाको दिन राति-रातिदेखि सुरु हुने यो मेलामा यहाँका विभिन्न नौ शक्ति पीठमा नवरात्री मेला भर्ने गरिन्छ। रातको समयमा यहाँका बासिन्दाले टोलटोलबाट बाँसुरी, धिमे बाजाहरुका बजाउँदै शक्तिपीठहरुमा गएर पूजा गर्ने र मेला भर्ने गर्दछन्। टोलटोलबाट स्थानीयवासी विभिन्न बाजागाजासहित मन्दिरमा गएर पूजा गर्ने परम्रपरा रहेको छ।

नवरात्रि मेलाको पहिलो दिन ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दसैँको नवरात्रि समापन गर्ने प्रचलन रहेको भक्तपुरका संस्कृतिविद् प्रकाशचन्द्र धौभडेलले जानकारी दिए।
नवमीको दिन राति महिषासुरु दैत्यको प्रतीकका रुपमा लिइने खमेय जात्रा मनाउने गरिन्छ। नवदुर्गा मन्दिरबाट मदिरा सेवन गराई पूजा गरेको खमये (राँगो) लाई दौडाउँदै ब्रह्मायणी मन्दिरमा पुर्याएर बलि दिने प्रचलन रहेको छ। नवमीको दिन रातिभरि र दशमीको दिनभरि ब्रह्मायणी मन्दिरमा हजारौँको भीडमा ठूलो मेला लाग्ने गर्दछ।
त्यसको भोलिपल्ट राति भक्तपुर दरबार स्क्वायरबाट तलेजु भवानीको वाहन सेतो घोडा पायो जात्रा अर्थात् खड्ग जात्रा गरी नगर परिक्रमा गर्ने गरिन्छ। स्थानीयले यसलाई पायो न्ह्याकेगू जात्रा पनि भन्ने गर्दछन्।
दसैँमा मनाइने जात्रा नवदुर्गाको उत्पत्तिसँग सम्बन्धित रहेको संस्कृतिविद् धौभडेल बताउँछन्। नवदुर्गाका नौ स्वरुप जीवित हुने परम्पराका रुपमा नौराते अर्थात् नवरात्रि जात्रा चलिआएको उनको भनाइ छ। यसअघि मृत्युवरण गरेका नवदुर्गा गण दसैँ सुरु भएसँगै जीवित हुने विश्वास गरिने उनले जानकारी दिए। उनले यो जात्रालाई असत्यमाथि सत्यको विजयका रुपमा मनाउने गरेको बताए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।