जुम्लाको ऐतिहासिक तथा धार्मिक पहिचानसँग जोडिएको चन्दननाथ मन्दिरको इतिहास पहिलोपटक दस्ताबेजमा समेटिएको छ।
मन्दिरको स्थापना कथा, धार्मिक मान्यता, पूजापद्धति र सांस्कृतिक परम्पराबारे जानकारी समेटेर तयार पारिएको ब्रोसर घटस्थापनाका दिन आइतबार सार्वजनिक गरिएको हो। मन्दिरको मौलिक इतिहास र धार्मिक परम्परालाई व्यवस्थित रूपमा अभिलेखीकरण गरी भावी पुस्तासम्म पुर्याउने उद्देश्यले ब्रोसर प्रकाशन गरिएको हो।
बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा चन्दननाथ र भैरवनाथ मन्दिरमा परम्परागत रूपमा लिङ्गा खडा गर्ने कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यलगायत सरोकारवालाले संयुक्त रूपमा ब्रोसर विमोचन गरेका हुन्। चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समिति, खलंगा बजार जुम्लाद्वारा प्रकाशित ब्रोसरले मन्दिरको धार्मिक तथा सांस्कृतिक पहिचानलाई लिखित अभिलेखमा उतार्ने प्रयास गरेको छ।

जिल्ला समन्वय अधिकारी रोमबहादुर महतका अनुसार मन्दिरको इतिहास, धार्मिक महत्त्व र संस्कृतिबारे जानकारी समेटिएको यस्तो ब्रोसर पहिलोपटक प्रकाशन गरिएको हो। मन्दिर व्यवस्थापन समितिसँगको समन्वयमा संस्कृति तथा धर्मका जानकार रमानन्द आचार्य, चित्रलाल श्रेष्ठ र पूर्वमन्त्री माधव चौलागाईंसहितको सहयोगमा आफ्नो नेतृत्वको टोलीले ब्रोसर तयार पारेको उनले बताए।
ब्रोसरमा चन्दननाथ मन्दिरलाई गुरु दत्तात्रेयको पादुका रहेको प्रसिद्ध सिद्धपीठका रूपमा उल्लेख गरिएको छ। गुरु दत्तात्रेयलाई ब्रह्मा, विष्णु र शिवको त्रिमूर्ति अवतार तथा आदि गुरुका रूपमा पुज्ने धार्मिक विश्वासदेखि मन्दिरको स्थापना सम्बन्धी किंवदन्तीसम्मका विषय समेटिएका छन्। मन्दिर परिसरका बटुक भैरवनाथ, हनुमान र अखडा देवीका धार्मिक स्थल तथा नित्य पूजा, आरती, अखण्ड ज्योति, धुनी र विभिन्न चाडपर्वमा गरिने विशेष पूजाआजाबारे पनि जानकारी दिइएको छ।
चन्दननाथ मन्दिरको धार्मिक इतिहाससँगै जुम्लाको सांस्कृतिक तथा कृषि पहिचान जोड्ने कथालाई पनि ब्रोसरमा स्थान दिइएको छ। सिद्ध चन्दननाथ र उनका शिष्य लछालकृतिसँग सम्बन्धित जनविश्वास तथा जुम्लामा मार्सी धानखेतीको सुरुवातसम्बन्धी कथाले यस क्षेत्रको ऐतिहासिक र सांस्कृतिक महत्त्व उजागर गर्ने अपेक्षा गरिएको छ।
महतका अनुसार मन्दिरको इतिहास र धार्मिक परम्पराबारे व्यवस्थित दस्ताबेजको अभाव रहेकाले ब्रोसर प्रकाशनलाई अभिलेखीकरणको प्रारम्भिक प्रयासका रूपमा लिइएको छ। उनले ब्रोसरमा समेटिएका विषयवस्तुबारे विज्ञ, जानकार र सरोकारवालालाई आवश्यक सुझाव तथा सुधारका विषय उपलब्ध गराउन आग्रह गरेका छन्। आगामी दिनमा चन्दननाथ र भैरवनाथ मन्दिरको इतिहास, धार्मिक परम्परा र सांस्कृतिक महत्त्व समेटिएको विस्तृत पुस्तक प्रकाशन गर्ने योजना पनि रहेको उनले बताए।
ब्रोसर प्रकाशनले चन्दननाथ मन्दिरको इतिहास र धार्मिक परम्परालाई व्यवस्थित रूपमा दस्ताबेजीकरण गर्नुका साथै जुम्लाको मौलिक सम्पदाको संरक्षण र प्रचारप्रसारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। यद्यपि, मन्दिरको ऐतिहासिक महत्त्वलाई दीर्घकालीन रूपमा संरक्षण गर्न यस्ता सामग्रीको प्रकाशनसँगै ऐतिहासिक स्रोतको खोज, तथ्यको प्रमाणीकरण र अभिलेखको संरक्षणलाई समेत निरन्तरता दिनुपर्ने देखिन्छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।