नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रिया सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्थाअनुसार अब सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता तथा नामसारी गर्न सकिने भएको छ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार संशोधित व्यवस्थाले सवारी दर्ता, नामसारी, बीमा तथा नवीकरणसम्बन्धी प्रक्रियालाई सरल र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ।
नयाँ व्यवस्थाअनुसार डिलरबाट गरिएको सवारी साधनको जाँचलाई नै अन्तिम मान्यता दिइनेछ। यससँगै सवारी साधनलाई पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने झन्झट हट्नेछ।

त्यस्तै, सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिमार्फत पनि दर्ता तथा नामसारी गर्न सकिनेछ। यसका लागि वारेसनामा प्राप्त व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्नेछ।
संशोधित व्यवस्थाले सवारी साधनको बीमा तथा बीमा नवीकरणका लागि पनि सवारी धनी स्वयं उपस्थित हुनुपर्ने बाध्यता हटाएको छ। यसबाट व्यस्तता वा अन्य कारणले कार्यालयमा उपस्थित हुन नसक्ने सवारी धनीलाई सहज हुने अपेक्षा गरिएको छ।
यसैगरी, सवारी साधन नामसारीका क्रममा बायोमेट्रिक विवरण संकलन गर्न सकिने व्यवस्था मिलाउन यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक वा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउनेछ।
मन्त्रालयले यी संशोधनबाट सवारी दर्ता तथा नामसारीसम्बन्धी सेवा छिटो, सहज र प्रभावकारी हुने अपेक्षा गरेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।