ब्रेकिङ न्युज
विज्ञापन
समाज

बूढीगण्डकीको मुख्य बाढी पास भइसक्यो, चितवनमा बस्ती डुबाउने जोखिम छैन

जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले गोरखाको बूढीगण्डकी नदीमा आएको मुख्य बाढी पास भइसकेको र तल्लो तटीय क्षेत्रमा बस्ती डुबाउने गरी ठूलो बाढी आउने सम्भावना तत्काललाई नदेखिएको बताएका छन्। उनका अनुसार बाढी बेनीघाट आसपास पुगेको छ भने थप तीनदेखि चार घण्टामा चितवन पुग्ने अनुमान छ।

बूढीगण्डकी नदीको बहाव आरुघाटमा करिब सात मिटर बढेको पराजुलीले बताएका छन्। माथिल्लो क्षेत्रमा भने नदीको सतह आठदेखि नौ मिटरसम्म बढेको प्रारम्भिक आकलन छ। बाढी त्रिशूली नदीमा मिसिएपछि पानीको सतह तीनदेखि चार मिटरसम्म बढ्न सक्ने उनले बताए।

‘मुख्य ठूलो बाढी आएको देखिन्छ। अब सानासाना बाढी कतैकतै आउन सक्छन्, माथिल्लो क्षेत्रमा पानी थुनिएको हुन सक्छ। तर तत्कालै फेरि यस्तै ठूलो बाढी आउने सम्भावना देखिँदैन,’ पराजुलीले नागरिकन्युजलाई जानकारी दिए।

विज्ञापन

बूढीगण्डकी करिडोरमा बाढीको जोखिम ठूलो भए पनि त्रिशूलीमा मिसिएपछि तल्लो क्षेत्रमा बस्ती तथा सडकमा पानी उक्लिने अवस्था नदेखिएको उनले बताए। यद्यपि नदी किनारमा कटान हुन सक्ने जोखिम भने रहेको उनको भनाइ छ।

‘चितवनतिर बस्ती र बाटोघाटमा उक्लिने बाढी होइन। माछा मार्न जाने वा खोलाको छेउछाउमा पुग्नेहरूलाई भने जोखिम हुन सक्छ,’ उनले भने।

बाढी नारायणगढको पुल क्षेत्रमा पुग्दा पानीको सतह करिब दुई मिटर बढ्न सक्ने उनको अनुमान छ। बाढी भारतको सीमासम्म पुग्न थप सातदेखि आठ घण्टा लाग्न सक्ने उनले बताए।

‘बाढीको वर्तमान स्थिति नियाल्दा बाढी बेनीघाट आसपास छ अहिले। अब थप ३ देखि ४ घण्टाभित्र चितवन पुग्छ अनि यो इन्डिया बोर्डर पुग्न अर्को ७–८ घण्टा जति लाग्छ,’ उनले भने।

बाढीको मुख्य जोखिम माथिल्लो क्षेत्रमा रहेको भन्दै पराजुलीले त्यहाँका बासिन्दालाई बेलुकासम्मै सतर्क रहन आग्रह गरिएको जानकारी दिए।

‘चितवनतिर त जोखिम छैन, खाली अब माछा मार्न जाने अथवा खोलाको छेउछाउ जानुभएकाहरूलाई जोखिम भयो, तर बस्ती तथा बाटाघाटाहरूमा उक्लिने बाढी होइन, ठूलो छैन,’ उनी भन्छन्, ‘बुढीगण्डकी करिडोरमा भने जोखिम भयो ठूलो, अब बाढी पनि पास भइसकेको छ, बुढीगण्डकीबाट त्रिशूलीसम्म आइसकेको छ। त्रिशूलीमा मिसिए पछाडि उच्च जोखिम छैन, अब कटानहरू हुनसक्छ कतै बाटोघाटाहरू, तर बाटोमाथि उक्लिने बस्तीमाथि उक्लिने अवस्था हुँदैन।’

बूढीगण्डकीमा अचानक ठूलो बाढी आउनुको कारणबारे विभागले अध्ययन गरिरहेको पनि उनले बताए। पराजुलीका अनुसार भू–उपग्रह तस्बिरमा ठूलो पहिरो खसेको देखिएकाले त्यसले बूढीगण्डकीको शाखा खोला थुनेको हुन सक्ने प्रारम्भिक विश्लेषण गरिएको छ।

‘भू–उपग्रह तस्बिरमा ठूलो पहिरो खसेको देखिएको छ। त्यसले शाखा खोला थुनेको हुनुपर्छ भन्ने हाम्रो प्रारम्भिक विश्लेषण छ,’ उनले भने, ‘तर विस्तृत कारण पत्ता लगाउन अझै अध्ययन गर्नुपर्नेछ।’

घटनास्थलको अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टरसमेत परिचालन भएको र मौसम सफा रहेकाले स्थलगत स्रोत तथा तस्बिरका माध्यमबाट थप जानकारी संकलन गर्ने प्रयास भइरहेको उनले बताए।

गोरखा जिल्लामा पछिल्लो २४ घण्टामा हल्का वर्षा मात्रै भएको देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानसम्मको विवरणमा गोरखामा ठूलो वर्षा भएको देखिँदैन।

‘पूर्वसूचनाले सुरक्षित हुन सहयोग पुग्यो’

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण भने बाढी पूर्वानुमान शाखासँग आइनसकेको पराजुलीले बताए। उनका अनुसार पहिलो सानो बाढी आएपछि पूर्वसूचना जारी गरिएको थियो। त्यसपछि दोस्रो ठूलो बाढी आउँदासम्म जोखिम क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा जान समय मिलेको देखिएको छ।

‘धनजनको क्षति अहिलेसम्म हामीलाई थाहा छैन एनडीआरएमबाट हुन्छ त्यो, तर पूर्वसूचना पहिला सानो बाढी आएर अहिले अलर्ट गराउन पनि भायो, हाम्रो पूर्वसूचना पनि समयमै गयो, अनि दोस्रो ठूलो बाढी आउँदा सबै सुरक्षित ठाउँमा गइसकेको जस्तो देखिन्छ,’ उनी भन्छन्।

बाढीका कारण माथिल्लो क्षेत्रमा पानी थुनिएको अवस्था र थप जोखिमबारे स्पष्ट विवरण आइनसकेकाले बूढीगण्डकीको माथिल्लो तटीय क्षेत्रका बासिन्दालाई बेलुकासम्म सतर्क रहन उनले आग्रह गरे।

‘माथिल्लो क्षेत्रका लागि सतर्क रहनैपर्यो किनभने त्यो १ इन्च त्यहाँ कति ताल बनेको थियो, कति फुट्यो, कति बाँकी छ केही थाहा छैन। नि त, त्यसो भएर हामीले बेलुकासम्म नै सतर्क भनेका छौँ, बेलुकासम्म केही थप सूचना पनि आउला, तर तल्लो क्षेत्रको लागि बेनीघाटभन्दा तल्लो क्षेत्रको लागि त्यति आत्तिनुपर्ने, डराउनुपर्ने अवस्था देखिँदैन,’ पराजुलीले सतर्क रहन आग्रह गर्दै भने।

गोरखामा ठूलो वर्षा भएको देखिँदैन

गोरखा जिल्लामा पछिल्लो २४ घण्टामा हल्का वर्षा मात्रै भएको देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानसम्मको विवरणमा गोरखामा ठूलो वर्षा भएको देखिँदैन। विगत २४ घण्टामा सिराहामा २७.८ मिलिमिटर र बागलुङमा १७.४ मिलिमिटर वर्षा मापन भएको छ। बाँकी भूभागमा उल्लेखनीय वर्षा नभएको महाशाखाले जनाएको छ।

बूढीगण्डकी बाढीः ६ पुल बगे, १० जना सम्पर्कविहीन

चुमनुब्री गाउँपालिका–६ स्थित उकेलुङ खोलानजिक ठूलो पहिरो खसेर थुनिएपछि बाढी आएको अनुमान गरिएको छ। बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्। बाढीले दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।

उनका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगेका हुन्। बाढीले धार्चेगाउँपालिका १ र ३ जोड्ने बेलिब्रिज पनि बगाएको छ। यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन्।

बाढीले चुमनुब्रीगाउँपालिका– ३ पैयुँ र बगरका करिब ३५ घर पनि बगाएको छ भने बाढीबाट जगत्, सल्लेरी, दोभान र घट्टेखोलागाउँमा पनि क्षति भएको छ।

चार जलविद्युत् आयोजनामा क्षति, क्याम्प र निर्माण उपकरण बगायो

गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले नदी आसपास निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) द्वारा जारी प्रारम्भिक विवरणअनुसार चारवटा आयोजनामा निर्माणस्थल, क्याम्प क्षेत्र, पुल, निर्माण सामग्री तथा उपकरणमा क्षति पुगेको हो।

बाढीले ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बगाएको छ। आयोजनाका केही निर्माण उपकरणसमेत बगाएको प्रारम्भिक विवरणमा उल्लेख छ। उक्त आयोजना टाइम्स इनर्जी प्रालिले प्रवर्द्धन गरिरहेको छ।

त्यस्तै, २४.५ मेगावाटको दोभान खोला जलविद्युत् आयोजना, ३०.५९ मेगावाटको यारु खोला जलविद्युत् आयोजना र १६ मेगावाटको माछाखोला जलविद्युत् आयोजनामा पनि क्षति पुगेको विवरण छ।

बाढीले बूढीगण्डकी जलविद्युत् आयोजना (३४१ मेगावाट)को मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण बगाएको छ भने दोभान खोला जलविद्युत् आयोजना (२४.५ मेगावाट) को क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको छ।

यसैगरी, यारु खोला जलविद्युत् आयोजना (३०.५९ मेगावाट) को बेलिब्रिज बगाएको तथा निर्माण सामग्री र उपकरण बगाएको छ भने माछाखोला जलविद्युत् आयोजना (१६ मेगावाट) को बेलिब्रिजमा क्षति पुगेको तथा पहुँच सडक र आयोजना स्थल पुग्ने पुलमा क्षति भएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।