बिहानीको निद्रामा गोरखाको चुमनुब्री गाउँपालिका–६ का बासिन्दाले भूकम्पको जस्तै हलचल महसुस गरे तर त्यो भूकम्प थिएन, पहिरोले थुनिएको बुढीगण्डकीको गडगडाहट बहावले निम्त्याएको कम्पन थियो।
बुढीगण्डकी जलाधार क्षेत्रअन्तर्गत माथिल्लो भेगका बासिन्दाले आइतबार बिहान करिब ४ बजेतिर कम्पन महसुससँगै नदीको गडगडाहट सुने। उनीहरूले आकलन गरे– बुढीगण्डकीको बहाव सामान्य छैन। तत्कालै उनीहरू तल्लो तटीय क्षेत्रका बासिन्दालाई सूचना प्रवाह गरे। बुढीगण्डकीको बाढी तटीय क्षेत्रमा आइसक्दा नदी आसपासका बासिन्दाले घर छाडिसकेका थिए। यसैकारण ठुलो मानवीय क्षति हुन पाएन। पाँच जना भने सम्पर्कविहीन भएको त्यहाँको स्थानीय प्रशासनले बताएको छ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बिचमा ठुलो पहिरो झरेर बुढगण्डकी नदी थुनिएर ताल बनेको थियो। पानी थुनिएर बनेको ताल फुटेपछि त्यसले एकाएक बाढीको रूप लिएको हो।

‘मेरो बसोबास भएको ठाउँबाट करिब चार सय मिटरको दुरीमा छ, बुढीगण्डकी। बिहान ४ बजेतिर एकाएक घर थर्कियो, सुरुमा त भूकम्प आएको अनुमान गरेको थिएँ। केहीबेरमा बुढीगण्डकीको गडगडाहट सुनियो,’ चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले भने, ‘गाउँलेले पनि हल्लाखल्ला गर्न थाले। तत्कालै नदीमा बाढी आएको खबर फोनमार्फत तल्लो तटीय क्षेत्रमा खबर गरियो, प्रहरी र प्रशासनलाई पनि बेलैमा खबर पुगेकाले ठुलो मानवीय क्षति हुन पाएन।’
उनका अनुसार बुढीगण्डकीको सहायक खोलामा पहिरो खसेपछि बहाव अवरुद्ध भई ताल बनेको र सोही ताल एकाएक फुट्दा बाढी आएको अनुमान छ। ‘हामी बसेको ठाउँबाट पहिरोस्थलमा पुग्न कम्तीमा पाँच घण्टा लाग्छ,’ उनले भने। डेढ महिनाअघि रसुवा भोटेकोसीको वितण्डा देखेका कारणले पनि मानिस बुढीगण्डकीमा बाढी आएको सूचना पाउनासाथ सुरक्षित स्थानतर्फ गएको उनको भनाइ छ। ‘बुढीगण्डकीले पनि भोटेकोसीकै झल्को दिएको हो। मानवीय क्षति कम भएको मात्र हो,’ सापकोटाले भने, ‘कम्तीमा नदी तीन घण्टा थुनिएर फुटेको अनुमान छ।’
चुमनुब्री गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले बुढीगण्डकी केही फराकिलो भएर बगेकाले गति कम हुँदा मानवीय क्षति हुन नपाएको बताइन्। ‘मैले घटना थाहा पाउँदा पौने ४ बजेको थियो। त्यसपछि सबैतिर सम्पर्क ग¥यौं। बेलैमा खबर आदानप्रदान हुँदा तल्लो तटीय क्षेत्रका बासिन्दा सुरक्षित रहे,’ उनले भनिन्।
उनका अनुसार बाढीबाट बिस्थापितका लागि त्रिपाल र रासन पठाइएको छ। तल्लो तटीय क्षेत्रका खोर्लाबेसी, माछखोला, सोती, आर्खेत, आरुघाटका बासिन्दालाई समेत अन्यत्र सर्न भनिएको थियो।
गाउँपालिकाका अनुसार तल्लो तटीय क्षेत्रका पैंयु, घट्टखोला, जगतको बगर क्षेत्रका घर बगेका छन्। पैंयुका १०, घट्टेखोलाका ७, जगतका १० र सल्लेरीका ४ घर बगेको गाउँपालिकाको भनाइ छ।
‘बाढीपछि गोरखाको माथिल्लो क्षेत्र पूर्ण रुपमा सम्पर्कविच्छेद भएको छ,’ प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भने, ‘हेलिकोप्टरबाहेक जाने विकल्प छैन।’
बुढीगण्डकी बाढीपछि बेपत्ता भएका पाँचजना सम्पर्कमा आएका छैनन्। चुमनुव्री–६ स्थित उङगिलुङ खोला किनारको गोठमा रहेका पाँचजना सम्पर्कमा आइनसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चुमनुव्री–६ चुम्चेतका ६५ वर्षीय सोनाम लामा, उनकी पत्नी ५९ वर्षीया मोम्मोअजी लामा, ६६ वर्षीया सोम भुटी लामा, ७३ वर्षीया कर्मा लामा, ४१ वर्षका पेमा दोर्जे लामा सम्पर्कविहीन छन्।
गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले पाँचजना स्थानीय सम्पर्कविहीन भए पनि अरु धेरै मानवीय क्षति भने हुन नपाएको बताए। ‘बेलैमा सूचना प्रवाह गर्न सकेकाले क्षति कम भएको हो। भौतिक क्षति त छ तर मानवीय क्षति भएको छैन,’ उनले भने।
उनका अनुसार स्थानीय तहमार्फत बिस्थापितलाई खानपिन र बसोबासको व्यवस्था गरिएको छ। ‘तत्कालका लागि जोखिम टरेको छ,’ उनले भने, ‘भौतिक क्षति भने बढी नै छ।’
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण चुमनुब्री गाउँपालिका–३, न्याकचेतस्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुंगे पुल बगाएको छ। सोही स्थानमा एक घर बगाएको र एक घरमा बाढी पसेको छ। धार्चे गाउँपालिका–४ स्थित माछिखोलाबाट केरौंजा जोड्ने झोलुंगे पुल पनि बाढीले बगाएको छ। धार्चे गाउँपालिका–३, सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालिका र वरपर रहेका ७/८ वटा घर बगाएको पनि प्राधिकरणले जनाएको छ।
आरुघाट गाउँपालिका–१, नयाँपुलस्थित गोरखाको आरुघाटबाट धादिङ जोड्ने पक्की पुल तीन भाग रहेकोमा गोरखातर्फको एक भाग बाढीले बगाएको प्राधिकरणले जनाएको छ। माछिखोलास्थित तल्लो बस्तीमा बाढी पसेको र २०/२२ घर जोखिममा रहेको प्राधिकरणको भनाइ छ।
प्राधिकरणका अनुसार आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सीमामा रहेको फलामे पक्की पुल पनि बाढीले बगाएको छ। बुढीगण्डकी जलविद्युत् आयोजना (३४१ मेगावाट) को मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण बाढीले बगाएको छ। प्राधिकरणका अनुसार दुईवटा टेलिफोन टावर र ५० वटा बिजुलीका पोलमा क्षति पुगेको छ।
बाढी पूर्वानुमान महाशाखाले पहिरो झरेको उक्त क्षेत्रमा पछिल्लो २४ घण्टामा छिटपुट मात्र वर्षा भएको देखिएकाले वर्षाकै कारण बाढी आएको सम्भावना नरहेको जनाएको छ। महाशाखाका अनुसार बुढीगण्डकी–आरुघाट बाढी मापन केन्द्रमा बिहान ६ः३० बजे जलसतह २.२८ मिटरबाट बढेर ३.६६ मिटर पुगेको थियो, जहाँ सतर्कता तह ४.५० मिटर छ। त्यस्तै बिहान ७ः५० बजे जलसतह बढेर ५.०१ मिटर पुगेको थियो, जुन खतरा तह ५ मिटरभन्दा माथि हो। जलसतह बिहान ८ः३० बजे ६.२२ मिटर र ८ः४० बजे ८.४३ मिटर पुगेको थियो।
प्रभावित क्षेत्रमा सात सयजति सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ। सशस्त्र प्रहरी बल गोरखाका प्रमुख नायब उपरीक्षक सुदिप रेग्मीका अनुसार बाढीबाट विस्थापित ३५० स्थानीय र नौ जना विदेशीलाई सुरक्षित स्थानमा राखिएको छ।
पदयात्रामा गएका पर्यटकलाई पनि सुरक्षित स्थानमा ल्याइएको उनले बताए। अलपत्र परेकालाई उद्धार गर्ने, चौपायालाई सुरक्षित स्थानमा ल्याउने, भग्नावशेष पन्छाउने काममा सुरक्षाकर्मी खटिएका छन्। माथिल्लो क्षेत्रमा उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर र तल्लो तटीय क्षेत्रमा सशस्त्र र नेपाल प्रहरी परिचालन भएको रेग्मीले जानकारी दिए। उनका अनुसार आइतबार साँझसम्म ४५ घर पूर्ण र २७ घर आंशिक क्षति भएकोे विवरण प्राप्त भएको छ।
फेरि बगे आठ पुल
बुढीगण्डकी नदीमा आएको बाढीले २ वटा पक्की पुल र ६ वटा झोलुगें पुल बगाएको छ। सडक विभागका महानिर्देशक विजय जैशीका अनुसार बाढीले आरुघाट गाउँपालिका २ र ३ जोड्ने सोतीमा रहेको फलामे मोटरेवल पक्की पुल र आरुघाट ९ स्थित आरुघाट– धादिङ जोड्ने पक्की पुल बगाएको हो।
स्थानीय पूर्वाधार विभाग (डोली) मातहतका सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्रमुख शंकर बुढाथोकीका अनुसार बाढीले ६ वटा झोलुगें पुल बगाएको प्रारम्भिक अनुमान छ। ‘गोरखाको चुनडुम्रे, धार्चे, आरुघाट र माथिल्लो भागका सहित ६ वटा झोलुगें पुल बुढीगण्डकी बाढीले बगाएको हामीले गरेको प्रारम्भिक अध्ययनमा देखिएको छ,’ उनले भने।
गत भदौ १० को भोटेकोसी बाढीले झोलुगें पुलसहित ४२ वटा पुल बगाएका थियो। ती पुलको पुनर्निर्माण गर्न सरकारले प्रक्रिया अघि बढाइरहेको बेला बुढीगण्डकी बाढीले ८ वटा पुल बगाएको हो। बाढीले पुल बगाएपछि आवाजाजातमा कठिनाइ उत्पन्न भएको छ।
चार विद्युत् आयोजनामा क्षति
बुढीगण्डकी नदीमा आएको बाढीका कारण निर्माणाधीन करिब ४११ मेगावाटका चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था–नेपाल (इप्पान) ले जनाएको छ। इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले बाढीले चारवटा आयोजनामा भौतिक तथा संरचनात्मक क्षति पु¥याए पनि मानवीय क्षति भने नभएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए।
बाढीले ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना, २४.५ मेगावाट क्षमताको दोभान खोला हाइड्रोपावर, ३०.५९ मेगावाट क्षमताको यारु खोला जलविद्युत् आयोजना र १६ मेगावाटको माछा खोला जलविद्युत् आयोजनामा क्षति पुगेको छ।
बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प, पहुँच मार्ग, बेलीब्रिज र निर्माण उपकरण बाढीले बगाएको प्रवर्धक कम्पनी टाइम्स इनर्जी प्रालिले जनाएको छ। यो निजी क्षेत्रद्वारा प्रवद्र्धित ठुलो अर्धजलाशययुक्त आयोजना हो।
बाढीले २४.५ मेगावाट क्षमताको दोभान खोला हाइड्रोपावरको क्याम्पका केही भवनमा क्षति पुर्याएको छ भने बेलीब्रिज पूर्णरूपमा बगाएको छ।
यारु हाइड्रोपावर प्रालिले निर्माण गरेको यारु खोला जलविद्युत् आयोजनाको बेलीब्रिजमा पनि बाढीले क्षति पुर्याएको छ। ३०.५९ मेगावाट क्षमताको यो आयोजनाका निर्माण सामग्री तथा उपकरण पनि बाढीले बगाएको छ।
बाढीले वाटर इनर्जी डेभलपमेन्ट कम्पनीले निर्माण गरिरहेको १६ मेगावाट क्षमताको माछाखोला जलविद्युत् आयोजनाको पहुँच सडक र आयोजनास्थल जोड्ने पुलमा क्षति पुर्याएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वकार्यकारी प्रमुख अनिल पोखरेलले पछिल्लो समय हिमाली क्षेत्रमा आकस्मिक बाढीका घटना दोहोरिन थालेकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताए।
उनले भने, ‘पछिल्लो दुईमहिनामा मनाङ, कालीगण्डकी र रसुवाको भोटेकोसी क्षेत्रमा आकस्मिक अतिबेगका बाढीका घटना भएका छन्। यस्ता बाढीपहिरोका घटनाले हिमाली क्षेत्रमा भइरहेको वातावरणीय परिवर्तनको असरबारे थप अध्ययन गर्नुपर्ने आवश्यकता देखाएका छन्।’
उनका अनुसार बुढीगण्डकीमा आएको बाढीलाई सामान्य आकस्मिक रूपमा मात्र हेर्न मिल्दैन।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।