ब्रेकिङ न्युज
विज्ञापन
समाज

कपिलवस्तुमा चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना, १ हजार ९ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील जिल्लाको सूचीमा पर्ने कपिलवस्तुमा बडादसैँलगायतका चाडपर्वलाई लक्षित गरी चाडपर्व लक्षित संयुक्त विशेष सुरक्षा योजना २०८३ सञ्चालन गरिएको छ। सुरक्षा योजनाअन्तर्गत १ हजार ९ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

जिल्ला सुरक्षा समितिले संयुक्त सुरक्षा योजना तयार गरेको हो। सोहीअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १ हजार ९ सय २० जना सुरक्षाकर्मी परिचालन गरिएको छ। बडादसैँ, लक्ष्मीपूजा र छठ पर्वका समयमा जिल्लाको शान्ति सुव्यवस्थालाई थप प्रभावकारी बनाउन उक्त योजना ल्याइएको हो।

प्रशासन कार्यालयका अनुसार १ हजार ७० जना नेपाल प्रहरी र ८ सय ५० जना सशस्त्र प्रहरी परिचालन गरिएको छ।

विज्ञापन

चाडपर्वका समयमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र सशस्त्र प्रहरी बल नेपाल नं. २८ गणले संयुक्त रूपमा प्रहरी परिचालनको रणनीतिक कार्ययोजनासमेत बनाएका छन्।

चाडपर्व मनाउने तथा मूर्ति विसर्जन गर्ने क्रममा हुन सक्ने धार्मिक तथा साम्प्रदायिक विवाद, पटाकाजन्य विस्फोटक पदार्थको अवैध ओसारपसार तथा बिक्रीवितरण, चोरी तथा लुटपाट, जुवातास, मादक पदार्थ तथा लागूऔषध सेवन गरी होहल्ला गर्ने, सवारी दुर्घटना र कालोबजारी नियन्त्रणलगायतका विषयलाई समेटेर सुरक्षा योजना बनाइएको प्रहरी उपरीक्षक मनोहर भट्टले बताए।

चाडपर्वका समयमा जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई थप प्रभावकारी बनाउन सोही सुरक्षा योजनाअनुसार प्रहरी परिचालन गरिएको उनले बताए। उनले चाडपर्वका समयमा प्रभावकारी सुरक्षा प्रदान गर्ने दाबी गर्दै नियमित गस्ती र सीमाक्षेत्रमा निगरानीसमेत गरिने जानकारी दिए।

चाडपर्व लक्षित नौ स्थानमा यात्रु सहायता कक्षसमेत स्थापना गरिसकिएको छ।

सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले चाडपर्वमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सीमाक्षेत्रमा निगरानी र गस्ती बढाइएको बताए। सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा सुरक्षा प्रदान गर्ने गरी काम अघि बढाइएको उनले जानकारी दिए।

उक्त सुरक्षा योजना दसैँ, तिहार र छठ पर्वसम्म सञ्चालन गरिनेछ।

कपिलवस्तुमा हतियारसहितका ६४ क्विक रेस्पोन्स टिम परिचालन

चाडपर्वलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा मनाउन तथा चाडपर्वका समयमा शान्ति सुव्यवस्था कायम राख्न सहयोग गर्ने उद्देश्यले कपिलवस्तुमा सोमबारदेखि क्विक रेस्पोन्स टिम परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालयले चाडपर्वका समयमा शान्ति सुव्यवस्था कायम राख्ने र कुनै घटना भएको जानकारी प्राप्त हुनासाथ घटनास्थलमा पुग्ने उद्देश्यसहित ६४ वटा क्विक रेस्पोन्स टिम परिचालन गरेको हो।

जिल्ला प्रहरी कार्यालयमा औपचारिक रूपमा टिम परिचालनको शुभारम्भ गर्दै प्रहरी उपरीक्षक मनोहर भट्टले हतियारसहित सुसज्जित ६४ वटा मोटरसाइकलसहितका टोली परिचालन गरिएको बताए। उनका अनुसार प्रत्येक टोलीमा दुई जना प्रहरी रहनेछन्। टोलीलाई सीमाक्षेत्रसहित जिल्लाका विभिन्न स्थानमा परिचालन गरिएको छ।

९३ किलोमिटर लामो सीमाक्षेत्र तथा संवेदनशील सूचीमा रहेको जिल्लामा दसैँ, तिहार र छठको अवधिमा हुन सक्ने सम्भावित घटनालाई ध्यानमा राखेर टोली परिचालन गरिएको उनले बताए।

“टोली घटना र दुर्घटना भएको तुरुन्तै पुग्ने गरी व्यवस्थापन गरिएको छ,” उनले भने।

प्रहरी उपरीक्षकको नेतृत्वमा सुरक्षा कमान्ड खडा गरिएको छ। भट्टका अनुसार ११ वटा सवारी साधन चौबीसै घण्टा तयारी अवस्थामा राखिएका छन्।

जिल्लाका २ सय ७७ स्थानमा रहेका सीसीटीभीमार्फत निगरानी गरिने र आवश्यकताअनुसार डग स्निफिङ टोलीसमेत परिचालन गर्न सकिने उनले बताए।ट्राफिक प्रहरीसहितको पिकेट टोलीमार्फत संयुक्त चेकिङ तथा सादा पोसाकका प्रहरीसमेत परिचालन गरिने उनले जानकारी दिए।

चाडपर्वलाई मर्यादित र व्यवस्थित बनाउन डिजे प्रयोग नगर्न, चाडपर्वमा गरगहना लगाउँदा सावधानी अपनाउन तथा मादक पदार्थ सेवन गरेर सवारी नचलाउन प्रहरीले आग्रह गरेको छ।

शान्ति सुरक्षा कायम राख्न सञ्चारकर्मी र नागरिक समाजले समेत सहयोग गर्न प्रहरीले आग्रह गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।