नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा आबद्ध कसैले पनि गलत वा गैरकानुनी काम गरे त्यसको भारी पार्टीले नबोक्ने बताएका छन्।
सभापति पदमा पुनः निर्वाचित भएपछि शनिबार दिउँसो पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर नेता-कार्यकर्तालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र विधिको शासनमा पार्टी दृढ रहने बताएका हुन्।
सम्बोधन गर्दै थापाले नागरिकको विश्वास जित्ने यति ठूलो अभियान आफू एक्लै वा कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव नहुने बताए। यसका लागि सिङ्गो पार्टी पङ्क्ति एकजुट हुनुपर्ने र काम गर्ने शैलीमै फेरबदल ल्याउनुपर्ने उनको भनाइ थियो।

उनले निर्वाचनमा आफूसँग प्रतिस्पर्धा गरेका श्यामकृष्ण खड्गीलाई हृदयदेखि नै आभार प्रकट गरे। आन्तरिक प्रतिस्पर्धाले कांग्रेसभित्र लोकतन्त्रलाई जीवन्त राख्न निकै महत्वपूर्ण कडीको काम गरेको बताउँदै उनले खड्गीका साथै प्रतिस्पर्धामा भाग नलिएका सबै साथीहरूलाई सँगै लिएर अघि बढ्ने प्रतिबद्धता जनाए।
अधिवेशनको नतिजा आउने क्रममा रहेको उल्लेख गर्दै उनले केही साथीहरूले जिम्मेवारी पाउने र केही महत्वपूर्ण साथीहरूले पद नपाउने बताए। प्रतिस्पर्धामा पद नपाउँदैमा कसैको भूमिका वा महत्व कम नहुने उनको भनाइ थियो।
उनले भने, ‘उहाँहरू सबै जिम्मेवार साथीहरू हुनुहुन्छ। सबै साथीहरूलाई समेटेर लैजाने कुरामा हामी दृढ सङ्कल्पित छौं। पार्टीको अधिवेशन प्रक्रियामै सहभागी नभएका साथीहरूलाई पनि जोड्ने हाम्रो निरन्तर प्रयास रहनेछ।’
नागरिकसँग टुटेको विश्वास फेरि जोड्नु अहिलेको प्रमुख आवश्यकता रहेको औंल्याउँदै उनले त्यसका लागि काम गर्ने शैली बदल्नैपर्ने बताए। अधिवेशनबाट पारित भएका नीति तथा प्रतिवेदनहरू पढ्न वा दराजमा थन्क्याउन मात्र नभएको उल्लेख गर्दै उनले ती दस्तावेज पार्टीलाई सही बाटोमा डोहोर्याउने ‘गाइडिङ डकुमेन्ट’ भएको सुनाए।
अधिवेशनमा साथीहरूले राखेका विचार र थप एक साताभित्र आउने सुझावहरूलाई समेटेर केन्द्रीय समितिको पहिलो बैठकमै लैजाने उनले जानकारी दिए। बैठकमा गम्भीर छलफल र विचारविमर्श गरेर सुधारका योजना र नयाँ कार्ययोजना बनाइने उनको भनाइ थियो।
पार्टीभित्र र बाहिर नयाँ काम, नयाँ शैली र नयाँ संस्कार स्थापित गर्ने विषयमा आफूहरू स्पष्ट रहेको उनले बताए।
थापाले विगतमा वर्षौंसम्म कांग्रेसलाई माया गरेका तर पछिल्ला केही वर्षयता पार्टीका कामकारबाहीप्रति चित्त नबुझाएर टाढिएका लाखौं शुभचिन्तक र समर्थकहरूलाई फेरि पार्टीमा फर्काउने उद्घोष गरे।
कांग्रेसको कार्यालय, कांग्रेसको घर र सिङ्गो परिवारलाई फेरि सबैका लागि अपनत्व हुने र ‘आऊँ-आऊँ’ लाग्ने बनाएरै छाड्ने सङ्कल्पका साथ यात्रा अघि बढाउने उनले बताए।
युवाहरूको प्रसङ्ग जोड्दै उनले कांग्रेससँग गौरवशाली इतिहास भए पनि अब इतिहासको ब्याज मात्र खाएर नबस्ने बताए। उनले भने, ‘हामी इतिहासको ब्याज खान आएका होइनौं। हामी इतिहास रटेर पनि बस्दैनौं। हामी नयाँ इतिहास आफैँ रच्छौं र त्यो नयाँ इतिहास रच्ने तागत लिएर हामी अधिवेशनबाट आएका हौं।’
कांग्रेसलाई हरेक नागरिकले आफ्नै पार्टीका रूपमा महसुस गर्नुपर्ने भन्दै उनले किसानले आफ्ना समस्या उठाइदिने, उद्यमीले गुमेका अवसर फेरि दिलाइदिने र वैदेशिक रोजगारीमा रहेका श्रमिकले आफ्नो घरपरिवारको पक्षमा बोलिदिने भरपर्दो शक्तिका रूपमा कांग्रेसलाई चिनाउने बताए। यस्तो पार्टी बनाउन केवल बोलीले मात्र नपुग्ने भन्दै कर्म र व्यवहारबाटै काम गर्ने तरिका बदल्नुपर्नेमा उनले जोड दिए।
कांग्रेसमा आबद्ध एक साथी ठगी मुद्दामा पक्राउ परेको समाचारतर्फ सङ्केत गर्दै उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र विधिको शासनमा पार्टी कुनै हालतमा पछि नहट्ने बताए।
उनले भने, ‘कुनै पनि व्यक्तिले गलत काम गर्छ, गैरकानुनी काम गर्छ भने त्यसको भारी त्यो व्यक्ति आफैँले बोक्नुपर्छ, पार्टीले त्यो भारी बोक्दैन। कुनै व्यक्तिलाई दाग लागेको छ भने त्यो दाग उसैले मेट्नुपर्छ, पार्टीले त्यसको भारी बोक्ने छैन।’
आफू पार्टी सभापतिको हैसियतमा बोलिरहेको भन्दै उनले आफ्नो व्यक्तिगत, पारिवारिक वा आर्थिक जीवनमा कहिँकतै अनियमितता देखिए कसैले पनि बचाउ गर्न नहुने बताए।
उनले भने, ‘मबाट एउटा पनि अनियमितता हुन्छ भने मेरो पार्टीको एकजना साथीले पनि मेरो बचाउमा बोल्नु पर्दैन। त्यस्तो कांग्रेस हामीले बनाउने हो। कानुन साना मान्छेलाई जे लाग्छ, ठूलालाई पनि त्यही लाग्नुपर्छ।’
स्वतन्त्रता, समानता, राष्ट्रियता र सामाजिक न्याय कांग्रेसको मूल आदर्श भएको स्मरण गर्दै उनले तत्कालको व्यक्तिगत फाइदा, लाभहानि र अनैतिकताका सबै फोहोरहरूलाई फ्याँकेर नयाँ कांग्रेस निर्माण गर्नुपर्ने बताए। स्थापनाकालको मूल्य-मान्यता जोगाउँदै पार्टीलाई नयाँ ढङ्गले अघि बढाउन आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ थियो।
कार्यक्रममा उपस्थित नेता विश्वप्रकाश शर्मासँगको सम्बन्धबारे स्मरण गर्दै थापाले अघिल्लो अधिवेशनबाट आफू महामन्त्री निर्वाचित भएपछि शर्मा आफ्नो घर पुगेर आमाबुबाको आशीर्वाद लिएको प्रसङ्ग सुनाए।
त्यतिबेला शर्माले गगनलाई पार्टी सभापति बनाउने र नयाँ नेतृत्वमा कांग्रेसलाई अघि बढाउने बताएको स्मरण गर्दै उनले भने, ‘विगतमा नेताहरूको लडाइँले वर्षौँदेखिको सम्बन्ध छताछुल्ल भएर सडकमा आउँथ्यो। तर गगन र विश्वप्रकाशको सम्बन्धले त्यो गलत भाष्यलाई बदल्नेछ।’
आफ्नो राजनीतिक यात्रामा आमाबुबाको आशीर्वाद र परिवारको ठूलो साथ रहेको भन्दै उनले श्रीमती अन्जनालाई विशेष धन्यवाद दिए। विगत २० वर्षदेखि सत्ता र शक्तिको कुनै लोभ नगरी अप्ठ्यारो परिस्थितिमा साथ दिएको भन्दै उनले गएको वर्ष भदौ २४ गते घरभित्रै आगो लगाइएको त्रासद घटना सम्झिए।
उनले जस्तोसुकै कठिन मोडमा पनि परिवारले नआत्तिन दिएको ढाडसकै कारण आफू सम्हालिएर राजनीतिमा डटिरहन सकेको बताए।
आन्तरिक प्रतिस्पर्धामा कोही हार्ने र जित्ने नहुने भन्दै उनले परिणाम आएपछि कसैलाई पनि मन खिन्न नबनाउन आग्रह गरे। जित्नेले सबै पाउने र हार्नेले सबै गुमाउने पुरानो चलन तोड्ने बताउँदै उनले कसैलाई पनि सडकमा अलपत्र नछाडिने र सबैलाई न्याय तथा विवेकपूर्ण ढङ्गले पार्टीमा जिम्मेवारी दिइने उनको भनाइ थियो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।