ब्रेकिङ न्युज
विज्ञापन
खेलकुद

खेलाडीको व्यस्तता घटाउन एटीपी टुरले नियम परिवर्तन गर्ने

टेनिस खेलाडीको व्यस्त खेल तालिका व्यवस्थापन गर्न र चोटपटकको जोखिम घटाउन एटीपी टुरले नियम परिवर्तनको प्रस्ताव अघि सारेको छ।

कार्लोस अल्काराज र यानिक सिनरजस्ता शीर्ष खेलाडी चोटका कारण लामो समय कोर्टबाहिर रहनुपरेपछि एटीपीले खेलाडीलाई आवश्यक आराम र आफ्नो सिजनको तालिका व्यवस्थापन गर्न सहज बनाउने योजना अघि सारेको हो।

एटीपी अध्यक्ष आन्द्रेआ गाउडेन्जीले बिहीबार सार्वजनिक गरेको प्रस्तावअनुसार ठूला प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले बढी वरीयता अंक पाउने व्यवस्था गरिनेछ। यसले खेलाडीलाई अंकका लागि लगातार प्रतियोगिता खेल्नुपर्ने दबाब कम गर्ने एटीपीको विश्वास छ।

विज्ञापन

प्रस्तावअनुसार मास्टर्स १००० प्रतियोगितामा प्राप्त कमजोर तीन नतिजालाई पछि सिजनमा एटीपी ५०० वा २५० स्तरका प्रतियोगितामा हासिल गरेका राम्रो नतिजाले प्रतिस्थापन गर्न पाउने हालको व्यवस्था हटाइनेछ। एटीपीका अनुसार यस व्यवस्थाले कुनै प्रतियोगितामा चाँडै बाहिरिएपछि अंक पूर्ति गर्न थप प्रतियोगिता खेल्नुपर्ने दबाब सिर्जना गर्न सक्छ।

स्पेनका अल्काराज दाहिने नाडीको चोटका कारण अप्रिलदेखि अगस्टसम्म करिब साढे चार महिना कोर्टबाहिर रहेका थिए। यसक्रममा उनले दुईवटा ग्रान्डस्लाम प्रतियोगिता गुमाएका थिए। यस्तै, विश्व वरीयताका शीर्ष खेलाडी इटालीका सिनरले जुलाईमा विम्बल्डनको उपाधि जितेयता खेलेका छैनन्। दाहिने घुँडामा समस्या देखिएपछि उनले यस वर्षका बाँकी प्रतियोगिता नखेल्ने घोषणा गरेका छन्।

एटीपीले खेलाडीको आर्थिक सुरक्षाका लागि पनि विभिन्न प्रस्ताव अघि सारेको छ। वर्षको अन्त्यमा दिइने बोनस रकम २ करोड १५ लाख अमेरिकी डलरबाट बढाएर ५ करोड डलर पुर्‍याउने योजना छ। यस्तै, विश्व वरीयतामा शीर्ष २५० भित्र रहने खेलाडीलाई करियर विकासका लागि २ करोड ५० लाख डलरको सहयोग उपलब्ध गराउने प्रस्ताव गरिएको छ।

त्यसैगरी, हरेक वर्ष ३०० खेलाडीको पेन्सन तथा अवकाश सुविधाका लागि करिब ३ करोड अमेरिकी डलर योगदान गर्ने योजना पनि अघि सारिएको छ।

एटीपीले सन् २०२८ देखि डबल्स प्रतियोगिताको पुरस्कार राशि र आकार घटाउने विषयमा पनि छलफल गरिरहेको छ। त्यसबाट पुनः विनियोजन हुने रकम एकलतर्फको छनोट चरण र सुरुवाती चरणका खेलाडीको पुरस्कार राशि बढाउन प्रयोग गरिने अध्यक्ष गाउडेन्जीले बताएका छन्।

एटीपीले साउदी अरेबियामा नयाँ मास्टर्स १००० प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेका बेला यी प्रस्ताव आएका हुन्। नयाँ प्रतियोगिता थपिएसँगै यस स्तरका प्रतियोगिताको वार्षिक संख्या १० पुग्नेछ।

यद्यपि, प्रस्तावित नियम परिवर्तन लागू हुन थप छलफल र स्वीकृति आवश्यक रहेको एटीपीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।