ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

केपी ओलीलाई योगेश भट्टराईको आग्रह : ४० वर्षमुनिका युवालाई प्राथमिकता दिनु

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा युवा, भूगोल र समुदायलाई प्राथमिकता दिन आग्रह गरेका छन्।

पार्टीको जारी स्थायी कमिटी बैठकमा आफू जरुरी कामका कारण उपस्थित हुन नसकेको जानकारी दिँदै भट्टराईले यस्तो आग्रह गरेका हुन्। उनले केन्द्रीय सदस्यको बाँकी मनोनयनमा ४० वर्षमुनिका युवालाई विशेष स्थान दिनुपर्ने र विगतमा छुटेका भूगोल तथा समुदायलाई समेट्दै पार्टीभित्रको आन्तरिक सन्तुलन कायम गर्नुपर्ने बताएका छन्।

त्यस्तै, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा पुराना र नयाँ नेताबीच सन्तुलन मिलाउनुपर्ने उनको आग्रह छ।

विज्ञापन

‘आसन्न निर्वाचनसहितका अन्य चुनौतीको सामना गर्न पार्टीको आन्तरिक एकता पहिलो सर्त हुनेछ,’ भट्टराईले भनेका छन्, ‘पार्टी एकतालाई खण्डित गर्ने कुनै पनि निर्णय हतारमा निर्णय र फुर्सदमा पछुताउनु सरह हुनेछ ।’

यस्तो छ उनको आग्रह:

अध्यक्ष कमरेड केपी ओलीलाई अनुरोध

नेकपा एमाले स्थायी कमिटीको बैठक जारी छ। जरुरी कामका कारण म यो बैठकमा उपस्थित हुन सकेको छैन। अनुपस्थितिको जानकारी पहिले नै गराएको छु।

मुलुकको राजनीतिक परिस्थिति गम्भीर र पेचिलो बन्दै गइरहेको छ। लोकतन्त्र र संविधानको रक्षा राष्ट्रिय प्रश्न बनिरहेको छ। यस्तो बेला प्रमुख राजनीतिक दलहरूले आफूलाई रूपान्तरणसहित बलियो एकता निर्माण गरी उपर्युक्त कार्यभार पूरा गर्न अग्रसरता लिनुपर्दछ।

असोजको पहिलो हप्तामा सम्पन्न नेकपा एमाले केन्द्रीय कमिटीको बैठकमा हामीले यसबारेमा पर्याप्त मात्रामा कुरा उठाएका थियौँ।

पार्टीको जारी स्थायी कमिटी बैठकले राष्ट्रिय भेला बोलाउने र वडा तथा पालिका तहका अधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। संगठनात्मक प्रक्रियामार्फत पार्टीलाई गतिशील बनाउने तथा आन्तरिक र राष्ट्रिय महत्त्वका विषयमा छलफल गरी सकारात्मक निष्कर्षमा पुग्न यो निर्णयले मद्दत गर्ने अपेक्षा गरिन्छ।

केन्द्रीय कमिटीको उक्त बैठकमा केन्द्रीय सदस्यको मनोनयन गर्दा ४० वर्षमुनिका युवाहरूलाई प्राथमिकता दिने, स्थायी कमिटी र पोलिटब्युरो निर्माण गर्दा नयाँ र पुरानाको सम्मिश्रणसहित स्पष्ट मापदण्ड बनाएर निर्णय गर्ने कुरा उठाइयो, तर निर्णयले उक्त भावलाई बोक्न नसक्दा सकारात्मक ऊर्जा पैदा हुन सकेन।

जारी स्थायी कमिटीको बैठकमा केन्द्रीय सदस्यको मनोनयन, स्थायी कमिटी र पोलिटब्युरो गठनको एजेन्डा रहेको सन्दर्भमा म निम्न विषयमा पार्टी अध्यक्षको ध्यानाकर्षण गर्दछु।

बाँकी केन्द्रीय सदस्यको मनोनयनमा ४० वर्षमुनिका युवाहरूलाई विशेष स्थान दिने र विगतमा छुटेका भूगोल र समुदाय तथा आन्तरिक सन्तुलनलाई ख्याल गरी मनोनयन गर्ने।

स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा पुराना र नयाँको सन्तुलन मिलाउने।

आसन्न निर्वाचनसहितका अन्य चुनौतीको सामना गर्न पार्टीको आन्तरिक एकता पहिलो सर्त हुनेछ। पार्टी एकतालाई खण्डित गर्ने कुनै पनि निर्णय ‘हतारमा निर्णय र फुर्सदमा पछुताउनु’ सरह हुनेछ। त्यो अवस्थामा केन्द्रीय कमिटीको मनोनयन, स्थायी कमिटी र पोलिटब्युरो गठनको एजेन्डा केन्द्रीय कमिटीको आगामी बैठकबाट निर्णय गर्नु उपयुक्त हुनेछ।

धन्यवाद।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।