नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विपक्षी दलका नेता तथा कार्यकर्ताले कांग्रेसमाथि धावा बोले आफूले ठाउँको ठाउँ ठेगान लगाउने बताएका छन्। बस्नेतले आफू पदमा रहे पनि नरहे पनि कांग्रेसमाथि आक्रमण गर्ने विपक्षीलाई प्रतिवाद गर्न बताए।
‘विपक्षी पार्टीका नेता–कार्यकर्ताले नेपाली कांग्रेसमाथि धावा बोल्यो भने ठाउँको ठाउँ ठेगान लगाउने मान्छे म हुँ,’ उनले भने, ‘पदमा हुँदा पनि, नहुँदा पनि कांग्रेसमाथि धावा बोल्नेलाई प्रतिवाद गर्ने मान्छे मै हुँ।’
उनले आफू सधैं कांग्रेसका नेता तथा कार्यकर्ताको साथमा रहने प्रतिबद्धता पनि जनाए। बस्नेतले राजनीतिमा जनताको महत्त्वलाई जोड दिँदै जनताको संरक्षण र सेवामा नेता–कार्यकर्ता सक्रिय हुनुपर्ने बताए।

‘जनता भए मात्रै राजनीति हुने हो। जनता भए मात्रै देश हुने हो। जनता भए मात्रै सबै चिज हुने हो,’ उनले भने।
प्राकृतिक विपद्को जोखिममा रहेको जिल्लामा भूकम्प, बाढीपहिरो, कोभिड तथा आगलागीजस्ता विपद्का बेला आफूहरूले जनताको सेवामा काम गरेको उनको भनाइ थियो। बाटोघाटोको अभावमा सुत्केरी हुन नसक्ने महिलालाई हेलिकप्टरमार्फत उद्धार गर्नेदेखि निःशुल्क शिक्षा, स्वास्थ्य सेवा र अप्ठ्यारो अवस्थामा खानाको व्यवस्था गर्नेसम्मका काममा कांग्रेसका नेता–कार्यकर्ता सक्रिय रहेको उनले बताए।
‘अप्ठ्यारो पर्दा जनताको साथमा उभिन नसक्ने नेता लायक होइन, त्यो नेतै होइन,’ बस्नेतले भने, ‘त्यो क्षमता, हुति र बुद्धि हामीसँग छ।’
उनले जनतालाई संकटका बेला सहयोग गर्नु नै नेताको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै कांग्रेसका नेता–कार्यकर्तालाई सधैं जनताको पक्षमा उभिन आग्रह गरे।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।