नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा लोकतन्त्र मासिएको र राष्ट्रिय अस्मिता कमजोर पारिएको भन्दै त्यसको पुनर्प्राप्तिका लागि सडक आन्दोलनमा उत्रिनुको विकल्प नरहेको बताएका छन्।
च्यासलमा आयोजित नवमनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारविरुद्ध सडक संघर्षको परिस्थिति बनिरहेको बताए।
‘अहिले नेपालमा लोकतन्त्र मासिएको छ, खुँडा चलाइएको छ। राष्ट्रिय अस्मिता, स्वाधीनता र स्वतन्त्रता कमजोर बनाइएको छ,’ ओलीले भने, ‘यस्तो स्थितिमा यी चिजहरूको पुनर्प्राप्ति अनिवार्य सर्त हो। बलजफ्ती दमन गरिन्छ भने त्यसलाई अस्वीकार गर्दै प्रतिवादमा उत्रिनुपर्ने हुन्छ, त्यसैलाई आन्दोलन भनिन्छ।’

आन्दोलनको अर्थ तोडफोड, लुटपाट वा आगजनी नभई निरस्त्र जनतामाथि संगठित शक्तिले गर्ने दमनविरुद्धको प्रतिरोध भएको उनले बताए।
अध्यक्ष ओलीले २०७७ सालदेखि सुरु भएको एमाले सिध्याउने षड्यन्त्र अझै जारी रहेको दाबी गरे। २०७८ मा पार्टी फुटाउने र २०७९ को निर्वाचनमा सबै शक्ति एकातिर लागेर एमालेविरुद्ध मोर्चाबन्दी गरिएको स्मरण गर्दै उनले भने, ‘हामीविरुद्धको घेराबन्दी अझै सिद्धिएको छैन, एकदमै चालु छ। सामाजिक सञ्जालमार्फत हाम्रो चरित्र हत्या गर्ने र जनताको नजरमा गिराउने दुष्प्रयास भइरहेको छ।’
गत निर्वाचनमा विपक्षीहरूको षड्यन्त्र चिर्न नसक्दा पार्टी केही पछाडि परेको स्वीकार्दै उनले अब त्यस्ता प्रपञ्चलाई परास्त गर्दै अघि बढ्न नेता-कार्यकर्तालाई निर्देशन दिए। समाजवादी आन्दोलनलाई सिद्ध्याउन खोज्नेहरू ‘मूर्ख’ भएको बताउँदै उनले कम्युनिस्ट आन्दोलन सत्य र न्यायको पक्षमा रहेको बताए।
पार्टी पंक्तिलाई आन्तरिक रूपमा समेत सचेत गराउँदै अध्यक्ष ओलीले नयाँ केन्द्रीय सदस्यहरूलाई विगतको इतिहास र योगदानको ब्याज खाएर मात्र अब पार्टीमा टिक्न नसकिने चेतावनी दिए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।