ब्रेकिङ न्युज
विज्ञापन
विचार

उपभोक्ताले हरेक प्याकेट किन्दा जासुस बन्नु पर्दैन

चुइँगम किन्न जाने उपभोक्ताले पसलको काउन्टरमा उभिएर ट्रेडमार्क ऐन पढ्दैन। उसले सर्वोच्च अदालतको फैसला पनि बोकेको हुँदैन। उसले प्याकेट हेर्छ, नाम सम्झन्छ र परिचित लागेको वस्तु उठाउँछ। त्यही केही सेकेन्डभित्र उपभोक्ताको अधिकार सुरक्षित पनि हुन सक्छ, खोसिन पनि सक्छ।

केही दिनअघि ‘पर्फेक्ट सेन्टर फिल्ज’को ट्रेडमार्क दर्ता बदर भएको समाचार आयो। सर्वोच्च अदालतले त्यसलाई ‘सेन्टर फ्रुट’सँग उपभोक्ता झुक्किन सक्ने गरी मिल्दोजुल्दो ठहर गरेपछि उद्योग विभागले दर्ता बदर गरेको थियो तर यो घटनालाई केवल दुई कम्पनीबिचको ट्रेडमार्क झगडा भनेर हेर्नु पर्याप्त हुँदैन।यसको केन्द्रमा एउटा सामान्य उपभोक्ताको अधिकार छ। उसले आफूले किनेको वस्तु वास्तवमा कसको हो भन्ने स्पष्ट रूपमा जान्न पाउनुपर्छ।

उपभोक्ता सुरक्षा भन्नासाथ हामी प्रायः म्याद, तौल, मूल्य, मिसावट र गुणस्तर सम्झन्छौं तर सही पहिचान पनि उपभोक्ता अधिकारको महत्त्वपूर्ण हिस्सा हो। एउटा ब्रान्ड सम्झेर अर्को उत्पादन किन्न पुग्नु सामान्य भुल मात्र होइन, बजारले सिर्जना गरेको भ्रम पनि हुन सक्छ।

विज्ञापन

विशेषगरी दैनिक उपभोगका सस्ता वस्तुमा यो जोखिम बढी हुन्छ। मोबाइल फोन किन्दा ग्राहकले मूल्य तुलना गर्छ, विशेषता हेर्छ र समीक्षा खोज्छ तर चकलेट, चुइँगम, बिस्कुट वा पेय पदार्थ किन्दा उसले लामो अध्ययन गर्दैन। निर्णय तत्काल हुन्छ।

त्यसैले यस्ता वस्तुमा नाम, ध्वनि, रङ, अक्षरको शैली, प्याकेट र समग्र दृश्य स्वरूपको महत्त्व धेरै हुन्छ। कानुनी रूपमा दुई नामका केही अक्षर फरक हुनु र उपभोक्ताको दिमागमा ती दुई वस्तु स्पष्ट रूपमा फरक देखिनु एउटै कुरा होइन।

बजारमा वास्तविक प्रश्न शब्दको हिज्जे मात्र होइन, उपभोक्ताको समग्र छाप हो। कल्पना गरौं, कुनै व्यक्तिले वर्षौंदेखि एउटा निश्चित चुइँगम किनिरहेको छ। पसलमा उसले त्यस्तै सुनिने, त्यस्तै प्रकारले लेखिएको वा उस्तै परिवारको उत्पादनजस्तो देखिने अर्को प्याकेट उठायो। घर पुगेपछि मात्रै त्यो फरक कम्पनीको रहेछ भन्ने थाहा पायो।

उसले कति रुपैयाँ गुमायो भन्ने मात्र प्रश्न होइन। उसले आफ्नो छनोट गुमायो। उपभोक्ताको छनोटको अधिकारको अर्थ धेरै विकल्प हुनु मात्रै होइन। ती विकल्पबिचको भिन्नता स्पष्ट हुनु पनि हो। बजारले दुई फरक वस्तुलाई एउटै जस्तो देखाइदिन्छ भने उपभोक्तासँग विकल्प भए पनि उसले सही विकल्प रोज्ने आधार गुमाउँछ।

यही ठाउँमा ट्रेडमार्क कानुन र उपभोक्ता अधिकार जोडिन्छन्। ट्रेडमार्क कम्पनीको नाफा जोगाउने ढाल मात्र होइन। यसले उपभोक्तालाई वस्तुको स्रोत, उत्पादक र जिम्मेवारीबारे छोटो तर स्पष्ट संकेत दिन्छ।

एउटा चिह्न देखेर ग्राहकले धेरै कुरा सम्झन्छ। पहिलेको अनुभव, स्वाद, गुणस्तर, मूल्य र विश्वास सबै त्यही चिह्नसँग जोडिएको हुन्छ। कम्पनीहरूले वर्षौं लगाएर बनाएको यही पहिचान बजारमा उपभोक्ताका लागि निर्णयको छोटो बाटो बन्छ।

त्यसैले ब्रान्डमा भ्रम हुँदा असर लोगो वा प्याकेटमा मात्र सीमित रहँदैन। त्यसले उपभोक्ताको विगतको अनुभव र भविष्यको निर्णयबिचको सम्बन्ध नै कमजोर बनाउँछ।

यहाँ अर्को भ्रम पनि हटाउनुपर्छ। स्वदेशी कम्पनीले विदेशी कम्पनीसँग प्रतिस्पर्धा गर्नु गलत होइन। बरु नेपाली उद्योगका लागि प्रतिस्पर्धा आवश्यक छ र नयाँ स्थानीय ब्रान्ड आउनु बजारका लागि राम्रो कुरा हो। प्रतिस्पर्धा र अनुकरण भने एउटै कुरा होइन।

कम मूल्यमा राम्रो उत्पादन ल्याउनु प्रतिस्पर्धा हो। नयाँ स्वाद दिनु प्रतिस्पर्धा हो। फरक प्याकेजिङ बनाउनु प्रतिस्पर्धा हो। ग्राहकलाई नयाँ अनुभव दिनु र आफ्नै नाममा विश्वास कमाउनु प्रतिस्पर्धा हो।

अर्को स्थापित ब्रान्डको नाम, ध्वनि वा स्मृतिसँग अत्यधिक नजिक पुगेर बजारमा प्रवेश गर्नु स्वस्थ प्रतिस्पर्धाको उदाहरण होइन। त्यसले आफ्नै पहिचान निर्माण गर्नुभन्दा पहिलेबाट रहेको पहिचानको लाभ लिन खोजेको आशंका जन्माउँछ।

यस्तो अभ्यासले केही समय बिक्री बढाउन सक्छ तर दीर्घकालमा बजारको विश्वास घटाउँछ। उपभोक्तालाई एउटै श्रेणीका उत्पादनबिच स्पष्ट भिन्नता छुट्याउन कठिन हुन थाल्छ र राम्रो उत्पादन तथा भ्रम सिर्जना गरेर बिक्री लिने उत्पादनबिचको सीमासमेत धमिलो हुन्छ।

यो समस्या स्थापित कम्पनीका लागि मात्र होइन, नयाँ र जिम्मेवार व्यवसायका लागि पनि हानिकारक हुन्छ। बजारमा नक्कल र मिल्दोजुल्दो प्रस्तुति सामान्य बन्न थाल्यो भने मौलिक ब्रान्ड बनाउन लगानी गर्ने व्यवसायी नै निरुत्साहित हुन्छन्। अन्ततः त्यसले सिर्जनशील प्रतिस्पर्धालाई कमजोर बनाउँछ।

आज विवाद चुइँगमको छ। भोलि यही समस्या औषधि, स्वास्थ्य सामग्री, सौन्दर्य प्रसाधन, बालबालिकाका उत्पादन, पोषण सामग्री वा अन्य संवेदनशील वस्तुमा भयो भने परिणाम अझ गम्भीर हुन सक्छ। औषधिको नाम झुक्किनु र चुइँगमको नाम झुक्किनु एउटै स्तरको जोखिम होइन तर दुवैको मूल समस्या एउटै हो, उपभोक्ताले आफूले के किनिरहेको छ भन्ने स्पष्ट रूपमा बुझ्न पाउनुपर्छ।

त्यसैले ट्रेडमार्कमा स्पष्टता केवल व्यापारिक शिष्टाचार होइन। यो उपभोक्ता सुरक्षाको पूर्वसर्त हो। यस प्रकरणले नियामक निकायलाई पनि प्रश्न गर्छ। कुनै भ्रमित गर्न सक्ने चिह्न बजारमा दर्ता भएर वर्षौं प्रयोग भएपछि विवाद अदालतसम्म पुग्ने अवस्था आउनु नै राम्रो प्रणालीको संकेत होइन। विवाद समाधान गर्नु आवश्यक छ तर विवाद सुरुमै रोक्न सक्ने संयन्त्र अझ महत्त्वपूर्ण हुन्छ।

उद्योग विभागले ट्रेडमार्क आवेदन जाँच्दा कागजमा नाम फरक छ कि छैन भनेर मात्र हेरेर पुग्दैन। बजारमा पहिलेबाट स्थापित चिह्न, वस्तुको प्रकृति, लक्षित उपभोक्ता, खरिद गर्ने अवस्था र सम्भावित भ्रमसमेत विचार गर्नुपर्छ। विशेषगरी छिटो निर्णय गरेर किनिने वस्तुमा परीक्षण अझ व्यावहारिक हुनुपर्छ। दुई चिह्नलाई कानुनी फाइलमा राखेर छुट्याउन सकिन्छ कि सकिँदैन भन्नेभन्दा सामान्य पसलको ¥याकमा राख्दा ग्राहकले छुट्याउन सक्छ कि सक्दैन भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ।

सुरुवाती परीक्षण कमजोर भयो भने त्यसको मूल्य पछि सबैले तिर्छन्। कम्पनीले मुद्दा लड्छ, नियामकले पुनः निर्णय गर्नुपर्छ र उपभोक्ता लामो समयसम्म भ्रमित बजारमा रहन्छ।

व्यवसायीले पनि कानुनको न्यूनतम सीमा मात्रै हेर्नु पर्याप्त हुँदैन। कुनै नाम कानुनी रूपमा दर्ता हुन सक्यो भन्दैमा त्यो नैतिक र जिम्मेवार ब्रान्डिङ पनि भयो भन्ने हुँदैन। जिम्मेवार व्यवसायको पहिलो प्रश्न हुनुपर्छ, मेरो उत्पादन आफ्नै पहिचानले बिक्छ कि अर्को ब्रान्डको स्मृतिले ? उत्तर दोस्रो हो भने समस्या कानुनले समात्नुअघि नै व्यवसायले देख्न सक्नुपर्छ। बजारमा विश्वास निर्माण गर्न वर्षौं लाग्छ तर भ्रम सिर्जना गर्न केही सेकेन्ड पर्याप्त हुन्छ। त्यसैले कम्पनीहरूले ब्रान्ड निर्माणलाई केवल डिजाइन वा मार्केटिङको विषय नभई उपभोक्ताप्रतिको जिम्मेवारीका रूपमा हेर्नुपर्छ।

खुद्रा बिक्रेताको भूमिका पनि यहाँ सानो छैन। एउटै प्रकृतिका र अत्यन्त मिल्दोजुल्दो देखिने वस्तु राख्दा उपभोक्तालाई स्पष्ट जानकारी दिनु, गलत वस्तु माग्दा पुष्टि गर्नु र ब्रान्डको नाम अस्पष्ट रूपमा प्रयोग नगर्नु जिम्मेवार खुद्रा व्यवहारको हिस्सा हुन सक्छ।

अन्तिम जिम्मेवारी पसले वा ग्राहकमा मात्र सार्न मिल्दैन।

उपभोक्तालाई सावधान रहन भन्न सजिलो छ। प्याकेट पढ्नुस्, उत्पादक हेर्नुस्, आधिकारिक चिह्न चिन्नुस् भन्न सकिन्छ। त्यो सचेतना आवश्यक पनि छ। बजारको सम्पूर्ण जिम्मेवारी ग्राहकको काँधमा भने राख्न मिल्दैन।

उपभोक्ताले हरेक चुइँगम किन्दा जासुस बन्नुपर्दैन। उसले प्रत्येक प्याकेटको सानो अक्षर पढेर निर्माता खोज्नुपर्ने, लोगो तुलना गर्नुपर्ने वा अनलाइनमा ट्रेडमार्क दर्ता जाँच्नुपर्ने बजारलाई स्वस्थ बजार भन्न सकिँदैन। सही छनोट गर्न आवश्यक आधार पहिल्यै स्पष्ट बनाइदिनु बजार, व्यवसाय र नियामकको जिम्मेवारी हो। स्वस्थ बजारमा चिह्न स्पष्ट हुन्छ। कम्पनी स्पष्ट हुन्छ। उत्पादनको स्रोत स्पष्ट हुन्छ। प्रतिस्पर्धीहरूबिचको भिन्नता ग्राहकले केही सेकेन्डमै बुझ्न सक्छ। यही नै उपभोक्ता अधिकारको आधार हो।

‘पर्फेक्ट सेन्टर फिल्ज’को दर्ता बदर प्रकरणले एउटा कुरा फेरि सम्झाएको छ। बजारमा प्रतिस्पर्धा आवश्यक छ, नयाँ व्यवसाय आवश्यक छन् र सस्ता विकल्प पनि आवश्यक छन् तर भ्रम आवश्यक छैन। उपभोक्ताको विश्वास बजारको अदृश्य पुँजी हो। त्यो कमजोर भएपछि त्यसको मूल्य केवल एउटा कम्पनीले तिर्दैन। सम्पूर्ण बजारले तिर्छ।

–रेग्मी कर्पोरेट क्षेत्रमा वकालत गर्छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विचार बाट थप

थप — विचार

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।