अर्बुदरोग (क्यान्सर) आधुनिक विज्ञानको सबैभन्दा ठुलो चुनौती देखियो। अन्य क्षेत्रमा प्रारम्भिक लगानीले सानो सफलता दिन्छ, थप अनुसन्धानको ढोका खुल्छ, विज्ञानले नवीन फड्को मार्छ तर क्यान्सरको इलाजमा लाखौंको लगानीले आनाको प्रतिफल पनि दिन सकेको छैन।
सबैभन्दा क्लिष्ट ठानिएको रकेट साइन्सले मानिसलाई चन्द्रमामा पुर्यायो, अन्य ग्रहहरूको अतिक्रमण गर्ने हैसियतमा मानव पुग्यो तर शरीरमा बन्ने केवल एउटा विचित्रको कोष (सेल) लाई समयमै नियन्त्रण गर्न नसकेर मानवीय काया नै वशमा पारी मृत्युशय्यामा पुर्याउने क्यान्सरको इलाजमा आर्युर्विज्ञानले भोगेको दयनीयता दिक्कलाग्दो छ।
अर्बौं डलरको लगानी अनि दशकौंसम्म हजारौं वैज्ञानिकहरू अहोरात्र खटिँदासमेत अर्बुद रोगको उपचारमा ठोस प्रगति नहुँदा संयुक्त राज्य अमेरिकालगायत धेरै देशका संसद्मा क्यान्सर अनुसन्धानको क्षेत्रमा भएको मोटो रकमको विनियोजनमा प्रश्न उठ्यो। रिसर्चको उपादेयता पुष्टि गर्न कठिन हुन थाल्यो। परिस्थितिलाई मध्यनजर राख्दै अर्बुद कोषलाई मारेर क्यान्सरबाट मुक्ति दिनुभन्दा महारोगका सम्भाव्य द्वारहरू बन्द गर्न लाग्नुपर्यो भन्ने आवाज गुञ्जन थाले। यसै सन्दर्भमा क्यान्सरको वर्तमान अवस्थाको बहुआयामिक चित्रण गर्नु यो आलेखको लक्ष्य रह्यो।

आनुवंशिक तत्त्वले भाग्यको निर्धारण गर्ने भएकाले उक्त वस्तुलाई जीवको आधारसमेत भनिन्छ। अर्बौं कोषहरूले बनेको मानव शरीरको केवल एउटा सेलको डिएनएमा मात्र पनि खराबी आएको खण्डमा शरीरमा विचित्रको कोष बन्न सक्छ। कदाचित् उक्त सेलले लगातार विभक्त हुने क्षमता हासिल गरे क्यान्सर लाग्छ अनि व्यक्ति मृत्युको मुखमा पुग्छ।
क्यान्सरको ओखती बनाउने काम अहिलेसम्म पनि चुनौतीपूर्ण हुनुको मुख्य कारण रोगीको एउटै अंगमा देखिने अर्बुदरोगका कोषहरू एकै चरित्रका नभएर प्रत्येकका गुणहरू पृथक् देखिनु नै हो। फरकफरक लक्षण भएका क्यान्सरका कोषहरूलाई एउटै ओखतीले मार्न सक्ने सम्भाव्यता रहेन। जसरी प्रत्येक व्यक्तिमा लाग्ने मधुमेहको लक्षण फरकफरक हुन्थ्यो भने के चिनी रोगको इलाज सम्भव हुन्थ्यो त? शाब्दिक हिसाबमा फोक्सोको क्यान्सर भनिए पनि प्रत्येक रोगीमा देखिने ‘लङ्स क्यान्सर’ फरक हुने भएकाले एउटा ओखतीको आविष्कारले रोगलाई नियन्त्रणमा लिन सकिएन। व्यक्तिपिच्छे फरक ओखती बनाएर रोग निको पार्न कहाँ सजिलो हुन्छ र?
बढ्दो उमेर, वातावरणीय प्रदूषण, धूमपान तथा मद्यपान, मोटोपन, अस्वस्थकर खान्कीलगायतका दर्जनौं परिस्थितिले आनुवंशिक तत्त्वलाई विचलित बनाएर अर्बुद रोगलाई निम्त्याउने भएकाले क्यान्सरका दर्जनौं उद्गम बिन्दुहरू देखिए। तथापि, क्यान्सरका सम्बन्धमा भएका ठुला अध्ययनहरूले केवल रक्सी र चुरोटबाट संसारलाई मुक्त बनाउन सक्ने हो भने अर्बुद रोगीको संख्या आधा घट्ने देखाएका छन्। त्यस्तै, जतिसुकै सतर्कता लिए पनि पाको उमेरमा भने क्यान्सरले थलाउने जोखिम अत्यधिक देखिन्छ।
अहिलेसम्मको विकासलाई हेर्दा क्यान्सरको कारक विज्ञानले पत्ता लगायो तर समाधानको क्षितिज भने देखिएन। ‘ग्लोबल वार्मिङ’का कारण पृथ्वीको तापक्रम बढ्दा हिमतालहरू पग्लने अनि अर्को भोटेकोसी विपत् र बुढीगण्डकी समस्या आउने सम्भाव्यको आकलन गर्दागर्दै पनि नेपालजस्तो गरिब मुलुकले भोग्ने नियतिसँग क्यान्सरलाई दाँज्न मिल्छ। कार्बन उत्सर्जन कम गरी विश्वको तापक्रम नियन्त्रण गर्नु आफ्नो वशमा नभएको अवस्थामा नेपालसँगको एक मात्र विकल्प सम्भावित स्थानबाट बस्ती स्थानान्तरण गर्नु भएझैं देखियो अर्बुद रोगको ओखती आविष्कार। दबाईको सम्भाव्यता क्षीण देखिएपछि रोग नै लाग्न नदिने रणनीति पनि कहाँ खराब हो र?
पत्यारिलो दबाई बन्न नसके पनि साइन्सले क्यान्सर नियन्त्रणका आधार नै तय गर्न नसकेको भने होइन। विज्ञानले महारोगको कारक ‘अंकोजिन र क्यान्सर सप्रेसर जिन’ को नक्सांकन मात्र गरेन, बरु क्यान्सरको लक्षण देखिनुभन्दा अघि नै उपकरण र रक्तपरीक्षणबाट अर्बुद रोगको आगमनको पूर्वसूचना दिन सक्ने हैसियत बनायो। उदाहरणका लागि ‘ब्राका वान र ब्राका टु’ जिनको विश्लेषणमार्फत स्तन क्यान्सर हुन सक्ने खबर दिन सक्ने भयो ‘अंको साइन्स’। तर, ठ्याक्कै कति वर्षमा अर्बुद रोगले समात्छ भन्ने अवस्थामा भने पुग्न सकेन। क्यान्सर लाग्छ भन्ने पत्ता लगाउने विज्ञानले समाधान दिन नसक्दा व्यक्ति अल्पायुमै मर्न सक्ने त्रासमा बाँच्न बाध्य भयो।
त्यसो त क्यान्सरका उपचार विधिहरू आविष्कार नै नभएका होइनन्। भरोसायोग्य भएनन् भन्ने मात्र हो। नफैलिने प्रकृतिको ठोस क्यान्सरजन्य तन्तुलाई सर्जरीमार्फत हटाई रोग निको पार्ने तरिका दशकौंअघिदेखि नै प्रचलनमा छ। तर, अधिकांश अर्बुद रोगहरू फैलिने चरित्र बोकेर आउने भएकाले चिरफार पद्धति क्यान्सरको इलाजमा खासै लाभदायक देखिन्न।
त्यस्तै, प्रकाशमार्फत गरिने ‘रेडिएसन थेरापी’ र रासायनिक तत्त्वको सहारामा गरिने ‘केमोथेरापी’ क्यान्सरको इलाजमा आधा शताब्दीभन्दा पनि अघिदेखि नै प्रचलनमा रहेका विधिहरू हुन्। तर, सुरुआती दिनभन्दा यी उपचार पद्धतिहरूमा खासै सुधार हुन सकेको छैन। रोगीका शरीरमा क्यान्सरजन्य कोष र सामान्य स्वस्थ सेलहरू भिन्न स्थानमा नबस्ने, बरु एउटै ठाउँमा घुलेर रहने भएकाले यी दुवै उपचार पद्धतिले दानवीय तत्त्वलाई नास गर्दा सामान्य कोषलाई समेत मार्छन्। परिणामस्वरूप व्यक्ति जीर्ण हुन्छ। तसर्थ, यी दुई उपचारको परिधि क्यान्सर निको पार्नभन्दा पनि रोगको रोकथाममै सीमित देखिन्छ।
व्यक्तिपिच्छे क्यान्सरको चरित्र फरक हुने भएकाले रोगीलाई केन्द्रमा राखी गरिने लक्षित उपचार सुरु गरियो। प्रारम्भिक दिनमा निकै उत्साहसाथ हेरिएको यो पद्धति व्यवहारमा खरो उत्रन सकेन। दबाईको आविष्कारभन्दा अर्बुद रोगको रफ्तार अधिक हुँदा यो विधि प्रभावकारी देखिएन।
लामो समयदेखि प्रयोगमा रहेको रेडिएसन र केमोथेरापीले क्यान्सर र सामान्य सेलको भिन्नता छुट्याउन नसकी रोगीमा पार्ने नकारात्मक प्रभावबाट जोगाउन रासायनिक तत्त्वमा आधारित नवीन उपचार पद्धति विकास भयो ‘एडिसी थेरापी’। यो श्रेणीमा रहेका ओखतीहरूले सामान्य कोषलाई कुनै क्षति नपुर्याई केवल क्यान्सरजन्य सेललाई मात्र मार्ने आशा हो।
तर स्विस कम्पनी ‘एडिसी थेराप्युटिक्स’ले विकास गरेको यही क्लासको एक रासायनिक तत्त्वले ‘टेस्ट ट्युब’ परीक्षणमा निकै उत्साहजनक परिणाम देखाए तापनि क्लिनिकल परीक्षणको अन्तिम चरणमा नकारात्मक नतिजा आउँदा यो विधिप्रतिको भरोसा कम भयो। प्रारम्भिक असफलताको अतिरिक्त क्यान्सरजन्य कोषलाई पहिचान गर्न सक्ने भएकाले यो उपचारप्रति अहिले पनि आशावादी छन् ‘अंको साइन्टिस्टहरू’। हालकै अवस्थामा पनि झन्डै एक दर्जन ठुला ओखती कम्पनीहरू ‘एडिसी’ पद्धतिमा आधारित क्यान्सरको दबाई बनाउन तल्लीन छन्।
प्रतिरक्षा प्रणाली अति मजबुत भए कुनै पनि किसिमको बाह्य सङ्क्रमण मात्र होइन, क्यान्सरले समेत स्थान पाउँदैन। तसर्थ, विभिन्न विधिमार्फत प्रतिरक्षा प्रणाली सबलीकरण गर्ने दिशामा धेरै अनुसन्धान भएका छन्। प्राकृतिक चिकित्सा विज्ञान अनि जडीबुटी प्रतिरक्षा प्रणाली सबलीकरणमा सहायक सिद्ध हुने अनुसन्धानहरू देखिएका छन्। नेपालमा पाइने जडीबुटीहरूको चरणबद्ध अन्वेषण गरी तिनीहरूले प्रतिरक्षा प्रणालीमा पार्ने सकारात्मक प्रभाव पुष्टि गर्न सके खँदिलो अनुसन्धान हुन सक्ने भएकाले विज्ञान मन्त्रालयले त्यस्ता क्षेत्रमा लगानीको हातेमालो गर्दा निको हुने देखिन्छ। प्रारम्भिक नतिजा हेर्दा सम्भाव्यता बोकेको अनुसन्धान हुन सक्छ नेपाली जडीबुटीको अध्ययन।
गत हप्ता मात्र नेपालमै उत्पादित ‘कार टी सेल’ रोगीमा परीक्षण भएको खबर बाहिरियो। उक्त समाचारले रोगीकै इम्युन सिस्टमलाई सबलीकृत गरी क्यान्सर ठिक पार्ने लक्ष्यका साथ हालै मात्र विकास भएको उक्त आधुनिक उपचार पद्धतिलाई आत्मसात् गर्न नेपालीहरू सक्षम रहेको सन्देश मात्र दिएन, बरु प्रतिरक्षा विज्ञानमा आधारित क्यान्सर उपचारको मार्ग प्रशस्त गर्यो।
हर्मोनले रासायनिक पद्धतिलाई तलमाथि गरी क्यान्सरलाई रोकथाम गर्ने भएकाले ‘हर्मोन थेरापी’ अर्बुद रोगको उपचारमा प्रयोग भएको छ। यो विधिले अहिलेसम्म खासै सार्थकता लिन सकेको छैन। भ्याक्सिनमार्फत क्यान्सरलाई नियन्त्रण गर्ने रणनीतिमा समेत वैज्ञानिकहरू अनुसन्धानरत छन् भन्ने कुरा बिर्सनुहुँदैन।
क्यान्सरका क्षेत्रमा धेरै किसिमका उपचार पद्धति प्रयोगमा रहेका र उपलब्ध ओखतीहरू धेरै महँगा हुनुका अतिरिक्त दबाईको प्रभावकारितामा समेत बारम्बार प्रश्न उठ्ने गरेको बेहोरा स्मरण गर्न आवश्यक छ। इलाजको वर्तमान यथार्थलाई स्मरण गर्दै शाकाहारी भोजन, नियमित कसरत, स्वस्थ आचरण र भगवान् र भक्तिमा लीन हुने अनि सोमरस र धूमपानबाट आफूलाई पृथक् राख्न सके क्यान्सरको सम्भाव्यता घट्ने यथार्थ स्वयंले स्मरण गरौं अनि अरूलाई पनि सम्झाऔं।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।