पहाडी जिल्लामा कृषि गरेर जीविकोपार्जन गर्न अझै कठिन छ। सडक, बजार, सिँचाइ र आधुनिक प्रविधिको अभावका कारण धेरैले खेतीपाती छोड्दै गएका छन् तर यिनै चुनौतीलाई अवसरमा बदल्दै दुर्गाथली गाउँपालिका–५ सैनकी माया जप्रेल भने कृषि क्षेत्रमा प्रेरणाको स्रोत बनिरहेकी छन्।
पैतालीस वर्षीया जप्रेलले माटोसँगको प्रेमलाई व्यवसायमा रूपान्तरण गर्दै वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी गर्दै छिन्। शिक्षक श्रीमान् सुरेन्द्र जप्रेलको तलबमा आफ्नो आम्दानी थपेर उनले छोरालाई चिकित्सा शिक्षा अध्ययन गराइरहेका छन्। उनका लागि कृषि पेसा होइन, सन्तानको भविष्य निर्माण गर्ने माध्यम पनि बनेको छ।
उनका श्रीमान् आधारभूत तहका शिक्षक भए पनि सीमित तलबले परिवार चलाउन र छोराछोरीलाई उच्च शिक्षा दिलाउन पर्याप्त नभएपछि मायाले कृषि पेसालाई मुख्य आधार बनाएको बताइन्। “जसरी पनि आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिलाउनुपर्छ भन्ने सोचले कृषि सुरु गरेँ, अहिले यही खेतीले हाम्रो सपना पूरा गरिरहेको छ”, उनी भन्छिन्।

विगतमा दुर्गाथलीबाट सदरमुकाम चैनपुरसम्म पुर्याउन सडक सुविधा थिएन। उनले आफ्ना उत्पादन पिठ्यूँमा बोकेर घण्टौँ हिँडेर स्थानीय बजार पुर्याउँथिन्। कडा मिहिनेत, पसिना र निरन्तरताको परिणामस्वरूप अहिले उनको उत्पादनले जिल्लाको बजारमा राम्रो पहिचान बनाइसकेको छ। उनी भन्छिन्, “बाटो नहुँदा निकै दुःख हुन्थ्यो। अहिले सडक पुगेपछि उत्पादन बेच्न सजिलो भएको छ।”
मायाको तरकारी वर्षभरि हरियाली जस्तै हुन्छ। बन्दा, गोलभेँडा, टमाटर, खुर्सानी, काउलीलगायत मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएकी उनी विशेषगरी गोलभेँडा, टमाटर र बन्दाबाट राम्रो आम्दानी गर्ने बताउँछिन्। उनको आफ्नै सात प्लास्टिक टनेल छन्। ती सबैमा विभिन्न प्रकारका तरकारी उत्पादन भइरहेको हुन्छ।
माया जप्रेल अध्यक्ष रहेको सरस्वती कृषक समूहअन्तर्गत भने १५ वटा टनेल सञ्चालनमा छन्। समूहका सबै सदस्यले तरकारी उत्पादन गर्दै छन्। मायाले भने अन्य सदस्यको भन्दा धेरै उत्पादन गरेपछि उनलाई विभिन्न ठाउँको कृषि पुरस्कार प्राप्त हुँदै आएको छ।
यस वर्षको जेठदेखि साउनसम्म मात्रै मायाले नौ गाडी (तरकारी बोक्ने जीप) सदरमुकाम चैनपुर पठाएकी थिइन्। त्यसयता पनि दर्जनभन्दा बढी गाडी तरकारी पठाएको उनले बताइन्।
हरेक वर्ष मायाको बारीमा तरकारी उत्पादन थोरैमा ७० क्विन्टल हुन्छ। टमाटर, आलु र बन्दाको सिजनमा त स्थानीय बजारमात्रै नभई अलि टाढाको झोता, तमैल, बागथला, देउरा, वित्थडसम्मकै बजार ओगट्ने गरेको उनले बताइन्।
कृषि आम्दानीबाटै छोरालाई डाक्टर
मायाको कृषि व्यवसायमा सफलताको सबैभन्दा ठूलो उपलब्धि भनेको छोराको शिक्षा हो। तरकारीखेतीबाट भएको आम्दानीकै भरमा उनका छोरा गजेन्द्र जप्रेल अहिले बङ्गलादेशमा एमबीबीएस पढ्दै छन्। दुई छोरी काठमाडौँमा लोकसेवा आयोगको तयारी गर्दै छन्। “पहिले श्रीमानकाे तलबले घर चलाउनै गाह्रो हुन्थ्यो। अहिले कृषि नै हाम्रो परिवारको मुख्य आधार बनेको छ”, माया भन्छिन्।
आफ्नो उत्पादनको सबै नाफा सन्तानको शिक्षामा लगानी गरिररहेकी छन्। “मेरा सम्पत्ति भनेकै सन्तान हुन्”, मायाले भनिन्, “श्रीमानकै कमाइले छोरा पढाउने आँट थिएन। पछि सानै उमेरदेखि बाबुले पनि मिहिनेत गर्दै गयो। त्यसपछि मैले पनि तरकारी विस्तार गर्दै गएँ। अहिले सन्तान पढाउन कसैसँग हात थाप्नुपरेको छैन।”
व्यावसायिक तरकारीखेतीसँगै मायाले रैथाने बाली संरक्षणलाई पनि प्राथमिकता दिएकी छन्। कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालगायतका निकायबाट प्राप्त प्राविधिक सहयोगपछि उनले कोदो, कागुनो, परापुलो धानजस्ता स्थानीय बालीको खेती पनि विस्तार गर्दै छिन्।
मायाको निरन्तर मिहिनेत र सफलताले जिल्ला बाहिरसमेत चर्चा पाएको छ। कञ्चनपुरको सुन्दरपुरबाट आएको एक टोलीले उनको कृषि फार्म अवलोकन गरी विभिन्न कृषि सामग्रीसमेत उपलब्ध गराएको थियो। निरन्तर सक्रिय भएपछि सरकारी निकायले पनि सहयोग गर्ने गरेको उनले बताइन्।
परिवारको साथ, सफलताको आधार
मायाको सफलतामा परिवारको पनि महत्त्वपूर्ण भूमिका छ। विद्यालयको समयबाहेक श्रीमान् सुरेन्द्र खेतीपातीमा सघाउँछन्। “म दिनभर खेतमै हुन्छु। विद्यालयबाट फर्किएपछि श्रीमानले पनि साथ दिनुहुन्छ। परिवारको सहयोग नभएको भए यति धेरै काम सम्भव हुने थिएन”, उनी भन्छन्।
पहाडी जिल्लामा महिलाले कृषि व्यवसायमार्फत परिवारको आर्थिक अवस्था परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण माया जप्रेल बनेकी छन्। उनको सङ्घर्षले सडक, बजार र अवसरसँगै मिहिनेत जोडिएमा पहाडको माटोले पनि लाखौँ रुपैयाँ आम्दानी दिन सक्छ भन्ने देखाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।