भारतको दिल्लीस्थित विशेष कार्यकारी मजिस्ट्रेट अदालतले ककरोच जनता पार्टी (सीजेपी) का आशुतोष राँका र सौरभ दासलाई पाँच दिनको न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ।
उनीहरूसँगै पक्राउ परेका अजिंक्य शिन्देलाई भने व्यक्तिगत धरौटीमा रिहा गरिएको छ।
मंगलबार बिहान जन्तरमन्तरमा भएको विरोध प्रदर्शनपछि दिल्ली प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएको थियो।

सीजेपीको कानुनी टोलीकी प्रमुख रत्ना सिंहका अनुसार तीनै जनामाथि अनुमति बिना जन्तरमन्तरमा प्रवेश गरेको, धरौटीका सर्त उल्लंघन गरेको र सरकारी काममा अवरोध पुर्याएको आरोप छ।
शिन्देले रिहाइपछि प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको सरकारको आलोचना गर्दै आशुतोष र सौरभले सरकारविरोधी आवाज उठाएकै कारण हिरासतमा बस्नुपरेको बताए।
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै र एसआईआरको विरोध गर्दै सीजेपीले गत शनिबार जन्तरमन्तरमा प्रदर्शनको आह्वान गरेको थियो। त्यस क्रममा पार्टीका संस्थापक अभिजित दीप्के, प्रवक्ता दास र राँकालाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको थियो।
यसअघि आइतबार तीनै जना ५० हजार भारतीय रुपैयाँको धरौटीमा रिहा भएका थिए। रिहाइका क्रममा एक वर्षसम्म शान्ति कायम राख्ने र शान्ति खलल पार्ने गतिविधिमा संलग्न नहुने सर्त राखिएको थियो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।